
११ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अब हुने पार्टीको विशेष महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिस्पर्धा नै नगर्ने बताएका छन् ।
शुक्रबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पुनले राजनीतिक अभिभावकको रुपमा प्रचण्ड रहने भए पनि संगठनको नेतृत्वको रुपमा अघि नबढ्ने बताएका हुन् ।
केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवेशनमा होमिएको माओवादी केन्द्रमा फेरि पनि प्रचण्ड नै दोहोरिने हुन् कि भनेर पार्टीपंक्तिमा चर्चा भइरहेको बेला पुनले यस्तो बताएका हुन् ।
‘कमरेड प्रचण्ड विशेष महाधिवेशनमा अध्यक्षको रुपमा रहनुहुन्नँ, उहाँ प्रतिस्पर्धामा नै आउनुहुन्नँ । उहाँले भनिसक्नुभएको छ, उहाँले प्रतिस्पर्धा नै गर्नुहुन्नँ,’ पुनले प्रष्ट भनेका छन्, ‘उहाँको भूमिका अलग होला, राजनीतिक अभिभावकको रुपमा रहनुहोला । तर, संगठनको रुपमा उहाँ अध्यक्ष बनेर प्रतिस्पर्धा गर्नुहुन्नँ ।’
पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि सबैले आत्मालोचना गरेको बताउँदै उनले अब जनता, युवा, किसान, मजदुर र बुद्धिजिवीसँगै आफूहरू रहने बताए ।
‘हामीले आत्मालोचना गरेका छौं । पार्टीको केन्द्रीय समितिलाई विघटन गरेका छौं । अब हामी सबै जनतासँगै हुन्छौं । युवा, किसान, मजदुर, बुद्धिजिवीका बीचमा अब कस्तो पार्टी बनाउने ?,’ उनले अघि भने, ‘कस्तो नेतृत्व बनाउने भनेर छलफल गर्छौं । आगामी निर्वाचनमा फेरि सबैले नयाँ विचार र नयाँ नतृत्वका साथ प्रतिस्पर्धा गर्छौं ।’
प्रचण्डपछि दोस्रो तहका नेताहरू आउनुपर्यो भनेको खण्डमा आफूहरू अघि बढ्ने अन्यथा पद त्याग्न तयार रहने पनि उनले बताए ।
‘हामी चाहीँ त्यहाँसम्म बहस गर्दैछौं । दोस्रो, तेस्रो पुस्ताका साथीहरू आउनुपर्यो भनेर वातावरण बनेको अवस्थामा मात्रै आउँछौं,’ पुनले भने, ‘नत्र हामी आफ्नो तर्फबाट पनि त्याग गर्न तयार छौं । देश रहनुपर्छ, लोकतन्त्र रहनुपर्छ, अहिलेको भन्दा अझै राम्रो देश, नेता र परिवेश बनोस् ।’
देश र व्यवस्था बचाउनका लागि आफूहरू पद छाड्न तयार भएको उनको भनाइ छ ।
‘अब हामी पद, प्रतिष्ठा छाड्न तयार छौं । तर, देश र व्यवस्था बच्नुपर्छ । यो हामी सबैको संकल्प हो,’ पुनले भने ।
प्रतिक्रिया 4