+
+
Shares

बसको डिकीमा कोचेर १२-१३ घन्टाको यात्रा, पशुको यस्तो बिजोक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ११ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंको बेला खसी, बोका, भेडा, च्यांग्राहरूको अत्यधिक खपत हुने हुँदा किसानले ती जनावरहरू तयार पारेर राखेका हुन्छन्।
  • सुर्खेतको छिन्चु बजारमा जुम्लाबाट बसको डिकीमा करिब २०–२२ च्यांग्रा कोचेर ल्याउँदा १५ वटा मरेका र बाँकी छटपटाइरहेका देखिएका छन्।
  • च्यांग्राहरूलाई २४१ किलोमिटर लामो दूरी १२–१३ घण्टासम्म डिकीमा राख्दा निसास्सिएर घाइते र मृत्युवरण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

काठमाडौं । अहिले दशैंको बेला छ । दशैंमा मासुका लागि खसी, बोका, भेडा, च्यांग्राहरूको अत्यधिक खपत हुन्छ । धेरैजसो किसानले पनि दशैंलाई नै लक्षित गरी यस्ता जनावरहरू तयार पारेर राखेका हुन्छन्।

टाढा–टाढाका गाउँबाट खसी, बोका, भेडा, च्यांग्राहरू शहरमा विक्रीका लागि लगिन्छ । यसरी पशु ढुवानी गर्दा अपनाउनु पर्ने मापदण्डबारे कानुनी व्यवस्था छ । तर, त्यसलाई बेवास्ता गरी क्रुरतापूर्वक ढुवानी गरिएको यत्रतत्र देख्न सकिन्छ । यसो हुँदा पशुले निकै सास्ती पाउने गरेका छन् । पशुहरू गन्तव्यमा नपुग्दै घाइते हुने र मर्ने समेत गरेका छन् ।

यस्तै एक दर्दनाक घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । पशुअधिकारकर्मीहरूले यो भिडियो सेयर गरिरहेका छन् ।

उक्त भिडियो कर्णाली प्रदेशस्थित सुर्खेतको छिन्चु बजारको हो । सडकमा केही च्यांग्राहरू पसारो परेर छट्पटिइरहेको भिडियोमा देखिन्छ । केही मरिसकेका छन् । वरिपरि मान्छेहरूको भीड छ । कसैले पसारो परेका च्यांग्रालाई पानी खन्याइरहेको देख्न सकन्छि ।

सुर्खेत वीरेन्द्र नगरका रेशम आचार्यले यो भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । उनी चितवनको कृषि क्याम्पसमा भेटेनरी डाक्टर पढ्दै छन् । उनी शुक्रबार दशैंका लागि चितवनबाट बुटवल हुँदै घर जाँदै थिए । सुर्खेतको छिन्चु बजार पुग्दा करिब साँझको ५ बजेको थियो । च्यांग्राहरू सडकमा पसारो परेको र मान्छेहरूको भीड देखेपछि उनी बाइक रोकेर हेर्न गए ।

आचार्यले अनलाइन खबरलाई बताएअनुसार करिब २०–२२ वटा च्यांग्रा थिए । १५ वटा जति मरिसकेका थिए । केही छटपटाइरहेका थिए । ती पनि लगभग बाँच्नेस्थिति थिएन ।

उनले केहीबेर त्यहाँ जम्मा भएका व्यक्तिहरुको कुरा सुने । ती च्यांग्रा जुम्लाबाट बसको डिकीमा हालेर ल्याइएको रहेछ । जुम्लादेखि त्यो ठाउँको दूरी २४१ किलोमिटर हो । बसमा करिब १२–१३ घण्टा लाग्छ । त्यति लामो बाटोमा डिकीमा यति धेरै च्यांग्राहरू कोचेर ल्याएका कारण निसास्सिएर यो घटना भएको आचार्यले बताए ।

हतार भएकाले आचार्य भिडियो खिचेर आफू हिँडेको उनले सुनाए । त्यसपछि के भयो उनलाई थाहा छैन । तर त्यो दृश्य निकै दु:ख लाग्दो र दर्दनाक रहेको उनी बताउँछन्।

‘गर्मीको समय, त्यति टाढाको बाटो, त्यतिधेरैलाई सानो डिकीमा कोचेर ल्याउँदा घटना भएको देखिन्छ’ आचार्य भन्छन्, ‘धेरै त मरिसकेका थिए, बाँचेका पनि तंग्रिने अवस्थामा थिएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?