
News Summary
Generated by OK AI. Editorially reviewed.- सिनेमामा हरिबहादुरको जुत्ताको कथाको शीर्षस्थानमा पनि जुत्ता नैं छ ।
- यो हास्य विधाको कथा हो जसले धूर्त पात्र हरिबहादुरलाई प्रस्तुत गर्छ।
- हरिवंश आचार्यले आफ्नो जीवनका अनुभवहरू सुनाउँदै सस्तो चाइनिज जुत्तादेखि महँगो मर्निङ वाक जुत्तासम्मको यात्रा वर्णन गरेका छन् ।
यतिबेला शहरमा दुईवटा जुत्ताको चर्चा छ । एउटा जेन जीको जुत्ता, अर्को हरिबहादुरको जुत्ता । जेन जीको जुत्ता, जुन एउटा विद्रोहको बिम्ब हो । अहंकारी सत्ताको सग्लो साक्षी हो । भ्रष्ट शासकलाई लात मार्ने शक्तिशाली चिनो हो ।
भर्खर मात्र त हो, जेन जी पुस्ताले भ्रष्ट शासकलाई लखेटेको । जनतालाई रनभुल्लमा पारिरहने, राज्यलाई दोहन गरिरहने, सत्तालाई आफ्नो बागडोर बनाइरहने एउटा कुटिल चक्र अन्ततः तोडिएको छ ।
यसरी तोडिएको छ, जसले युवापुस्ताको चेत र रगत एकसाथ देखाइदिएको छ । करिब यस्तै युवा विद्रोहको कथा बोकेर यतिबेला हल प्रवेश गर्ने तरखरमा छ, हरिबहादुरको जुत्ता । निसन्देहः यो हास्य विधाको सिनेमा हो ।
सन्दर्भ र संयोग कस्तो मिलेको छ भने, जेन जीको जुत्ता भनेजस्तै यहाँ पनि जुत्ता नै शीर्षस्थान मा छ । सिनेमाको केन्द्रमा छन्, हरिबहादुर । यो त्यही धूर्त पात्र हो, जो जानी–नजानी अरूलाई सताउने गर्छन् ।
सिनेमा कस्तो छ ? त्यो त दर्शकको प्रतिक्रियाबाट थाहा हुने नै छ । त्यसअघि हामीले हरिवंश आचार्यसँग जुत्ताकै प्रसंगमा कुरा गरेका थियौं ।
चार रुपैयाँको मेरो जुत्ता
सानो छँदाको कुरा हो । त्यसबेला काठमाडौं नै गाउँजस्तो थियो । हामी खेल्दा जुत्ता फुकाल्थ्यौं, ताकि त्यो धेरै समय टिकाउ होस् । खुट्टा भन्दा पनि जुत्ता जोगाउनुपर्ने बेला थियो ।
उबेला नेशनल ट्रेन्डिङले सुपथ मूल्यमा जुत्ता विक्री गर्थ्यो । चाइनिज जुत्ता । अहिले स्कुलका बच्चाहरूले लगाउने कपडाको सेतो जुत्ता जस्तै । त्यसको मूल्य जम्माजम्मी चार रुपैयाँ थियो ।
हामीले जतिसुकै फारु गरेर लगाएपनि जुत्ताको बुढीऔला भएको ठाउँमा च्यातिन्थ्यो । जुत्ता च्यातिए पनि अर्को फेर्न सकिदैनथ्यो । त्यसैले फाटेको ठाउँमा सिलाइन्थ्यो । यसरी एकजोर जुत्ताले एक वर्ष पुर्याउनुपर्ने हुन्थ्यो ।
पछि अलि खर्च गर्न सक्ने हैसियत भएपछि बाँसबारी जुत्ता किन्थ्यौं । त्यो छालाको जुत्ता हुन्थ्यो । अहिलेको पुस्तालाई त बाँसबारी छाला जुत्ता भन्ने पनि एकादेशको कथा नै हुन्छ ।
त्यो जुत्ता लगाएर हिँड्दा ‘ट्वाक–ट्वाक’ आवज आउथ्यो । किनभने त्यसको सोल छालाको हुन्थ्यो । अनि हामी चाहिँ त्यो जुत्ता लगाएर हिँड्दा अरूलाई त्यसको आवाज सुनाउथ्यौं । ट्वाक..ट्वाक ।
भारतमा मेरो भिनाजुहरू हुनुहुन्छ, उहाँहरू नेपाल आउँदा यहीं किनमेल गर्नुहुन्थ्यो । किनभने त्यसबेला नेपाल सपिङ सेन्टर जस्तै थियो । भारतमा अरू देशको सामन नपाइने । त्यही भएर नेपाल आएको बेला उहाँले चाइनिज डटपेन, बटरफ्लाइ भन्ने चाइनिज अत्तर, कटराइजको जुत्ता पाइने । नेपाल आएको बेला भिनाजु कटराइजको जुत्ता लगाएर जानुहुन्थ्यो ।
त्यो निकै महंगो थियो । निकै महंगो भन्नाले त्यस्तै १०–१२ रुपैयाँमा पाइने । भारतमा ठूला-ठूला मान्छेले पार्टीमा, फाइभ स्टार होटलमा पनि त्यही जुत्ता लगाउथे रे।
पछि चाइनिज चप्पल (स्यान्डल) आयो । त्यसको फिनिसिङ असाध्यै राम्रो हुने । मैले पनि त्यो चप्पल किनें ।
त्यसबेला म गैरीधारामा बस्थें । नौरथाको बेला थियो । त्यही चप्पल लगाएर म नक्साल भगवती बहाल मन्दिरमा गएँ, देवीलाई ढोक्न जाँदा चप्पल फुकालेको थिएँ । मन्दिरबाट बाहिर निस्कदा चप्पल गायब ।
मलाई त्यति धेरै मन परेको चप्पल । धीत मर्नेगरी लगाउन नपाई चोरियो । म रुँदैरुँदै खाली खुट्टा घर फर्किएँ । पछि दिदीहरूले मलाई त्यस्तै चप्पल किनिदिनुभयो ।
एउटै जुत्ता लामो समय लगाइन्थ्यो । त्यसो हुँदा कुर्कुचातर्फको सोल खिइँदै जान्थ्यो । अनि हिँड्दा कोल्टे–कोल्टे हुन्थ्यो । यसरी खिइएको भागमा त्यसकै साइजको छाला राखेर सोल रिपेयरिङ गरिन्थ्यो ।
जिम्मी कार्टरको एउटा कार्यक्रममा म र मदन दाई थाइल्यान्ड गएको थियौं । हलिउड स्टार जेट लि पनि त्यही कार्यक्रममा सहभागी रहेछन् । सुरुमा त मैले जेट ली चिन्दै चिनिनँ । को मान्छे रहेछ ? भन्ने लाग्यो । हामी बसेको होटलमा एकदमै कडा सुरक्षा अपनाइएको थियो । पछि थाहा भयो, उनै जेट ली त्यहाँ आएकाले गर्दा त्यति कडा सुरक्षाको बन्दोबस्ती गरिएको रहेछ ।
मदन दाई र म एउटा टेबलमा बसिरहेका थियौं । त्यहीबेला जिन्सको पाइन्ट लगाएको होचो–होचो जस्तो मान्छे हामी भएतिर आए । ‘के म यहाँ बस्न सक्छु’ भन्दै हाम्रै नजिक बसे । चिनाजान गर्दा थाहा भो, उनै जेट ली रहेछन् । मैले जोड्न खोजेको प्रसंग चाहिँ के भने, जेट लिले ठ्याक्कै त्यही जुत्ता लगाएका थिए जुन हामीले सानोमा लगाउने गर्थ्यौँ । उही सेतो चाइनिज जुत्ता ।
……………
मेरो खुट्टामा एउटा समस्या भयो । कुर्कुचामा हड्डी बढ्यो । त्यसले गर्दा जहाँ टेक्यो चसक्क दुख्थ्यो । कुपण्डोलमा एक जना कृतिम खुट्टा बनाउनेकहाँ गएँ । त्यहाँ खुट्टाको साचो बनाइने रहेछ । यसका लागि पग्लिएको मैनमा खुट्टा टेकाइन्छ । मेरो खुट्टाको साइज के छ ? त्यही अनुसार डोब तयार हुन्छ । मैनको साचोमा हार्ड प्लाष्टिक पगालेर त्यसमा हालेपछि ठ्याक्कै मेरो खुट्टाको साइज निस्कने रहेछ । यसरी जुत्ताको साइज बनाइएपछि कुर्कुचाको हड्डीमा अतिरिक्त दबाब पर्दैन ।
मलाई डाक्टरले भनेको थियो, ‘तपाईंले जुत्ता चाहिँ एकदमै बाग्लो र राम्रो लगाउनुपर्छ ।’ गत वर्ष अष्ट्रेलिया, न्यूजिल्यान्डमा कार्यक्रम गर्न गएका थियौं । त्यहाँ प्रकाश गौतम भन्ने भाइ रहेछन्, कार्यक्रम संयोजक । उनले ‘दाइलाई के गिफ्ट दिऊ ? ’ भनिरहेको थियो ।
मलाई चाहिँ गिफ्ट लिन अहसज लाग्छ । तर, उनले ढिपी गरे ।
म मर्निङ वाकमा निस्कन्छु । नियमित एक घण्टा । त्यसबेलाका लागि जुत्ता चाहिएको थियो । मैले उनलाई सोही कुरा सुनाए । ती भाइले मलाई जुत्ता दिए, मर्निङ वाकमा लगाउनका लागि ।
त्यो होका भन्ने ब्रान्डको रहेछ । नेपाल फर्किएपछि यसो जुत्ताको मूल्य बुझेको त २१ हजार रुपैयाँ पर्ने रहेछ । म त भावुक भएँ । उनलाई मैले ह्वाट्सएपमा धेरै पटक ‘थ्यांक यु भाइ’ भनें ।
‘केही छैन दाइ, हजुरलाई सहज छ नि’ उसले सोध्यो । मैले ‘त्यही जुत्ता लगाएर मर्निङ वार्क गर्ने’ बताए । पछि फेरि अर्को गिफ्ट आयो घरमै । त्यहाँ उनले फेरि अर्को जुत्ता पठाएछ, त्यस्तै ।
म यति महंगो जुत्ता लगाउने मान्छे होइन । सामान्य जुत्ताले काम चलाउँछु । त्यसैले त्यो गिफ्टमा पाएको जुत्ता चाहिँ मर्निङ वाकमा लगाउँछु । अरुबेला फुकालेर जतनसाथ राख्छु, नफाटोस् भनी ।
……………….
दशैंको बेला हाम्रो एउटा टेलिशृंखला आउने गर्छ, दशैं भन्ने । त्यसमा म ससुराली गएको हुन्छु टीका लागाउन । टीका लगाउन बस्दा मेरो जुत्ता प्वाल परेको देखिन्छ । ससुराले त्यो प्वाल हेरिरहेको हुन्छ ।
म अर्को खुट्टाले हतार-हतार प्वाल छोप्छु । अनि ससुराले मलाई टीका लगाइदिदै आर्शिवाद दिन्छन्, ‘अर्को पटक दशैंमा आउँदा यस्तो प्वाल परेको जुत्ता लगाउन नपरोस् ।’
मलाई पनि झोंक चल्छ । निधारको टीका पुछेर ससुरा बाको अनुहारमा हान्छु । यसो भन्दै, ‘मलाई हेरेर छोरी दिएको कि, जुत्ता हेरेर ।’
कुनैबेला मान्छेहरू भन्थे-जुत्ता हेरेर मान्छेको औकात थाहा हुन्छ । तर, जुत्ताको इज्जत बढाउने चाहिँ मान्छे आफैंले हो । उसले टेकेको जुत्ताको पदचाप कहाँ-कहाँ छ ? त्यो त हिँड्ने खुट्टामा भर पर्छ । हिँड्ने खुट्टा चाहिँ मनमा भर पर्छ । मनले जताजता लग्यो, जुत्ता त त्यतै त्यतै त जाने हो ।
मान्छेलाई खराब र असल बनाउने एउटै कुरा हो, मन । त्यसैले जुत्तालाई दोष नदिऔं, मनलाई दिऔं ।
………….
साथी दुई किसिमको हुन्छ रे । एउटा उखु जस्तो । जति बटारे पनि, जति निचोरे पनि गुलियो हुन्छ । अर्को साथी चप्पल जस्तो हुन्छ रे । साथ त दिन्छ तर पछाडिबाट हिलो छ्याप्छ रे ।
तपाईं कस्तो साथी ? आत्ममूल्यांकन गर्दै गर्नुहोला । तर, हरिबहादुरको जुत्ता चाहिँ नभुल्नुहोला है ।
प्रतिक्रिया 4