Comments Add Comment

नारायणी नदी खतराको तहभन्दा माथि, ३० परिवारलाई सुरक्षित स्थानमा सारियो

६ साउन, चितवन । चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ ।

नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९.८१ मिटर पुगेको छ । जल सतह अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार वडाको कोइला, सिसैँ, भगडि भन्ने ठाउँ सबैभन्दा बढी जोखिममा छन् । सो ठाउँका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष खनालले बताए । उनले जुनसुकै बेला पनि कटान गरेर नदी बस्तीमा पस्ने खतरा रहेको बताए । वडा नंं. २७ को न्यूरेचोक पनि उत्तिकै जोखिममा छ ।

यसैगरी चितवनको नारायणगढस्थित नारायणी नदी पुलमा पनि बाढीले सतर्कताको तह पार गरेको छ । नारायणगढ पुलमा ११ मिटरसम्म सतर्कताको तह मानिन्छ, तर अहिले जलसतह १२ मिटर पुगेको छ ।

यस्तै चितवनको पूर्वमा बग्ने राप्ती नदीमा पनि जलसतह बढेको छ । पूर्वी राप्ती नदीको बाढी मापनकेन्द्र रजैयामा जलसतह चेतावनीको तहभन्दा माथि गएको छ । रजैयामा ३.३० मिटरमा चेतावनीको तह मानिन्छ । अहिले पानीको सतह ३.३६ पुगेको छ ।

नदीमा पानीको सतह खतराको तह (३.३७ मिटर) नजिक पुगेको छ । यसको ट्रेण्ड बढ्ने देखिएको छ । राप्ती नदीमा पानी बढ्दा त्यसको मार पर्यटकीय क्षेत्रमा पर्न सक्छ । यही नदी बढ्दा पटक–पटक सौराहा डुबानमा पार्दै आएको छ । पटिहानी र जगतपुर क्षेत्र पनि जोखिममा पर्ने खतरा हुन्छ ।

नारायणी र राप्ती नदीमा जलसतह बढ्नेक्रममा रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उक्त क्षेत्रका वासिन्दाहरुको मोबाइलमा म्यासेज समेत पठाएर सतर्क रहन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment