Comments Add Comment

म बोर्डिङको शिक्षक

सरकार, तिमीले खुब लखेट्यौ
म तिमीबाट लखेटिन राजी भएँ
विद्यालय, तिमीले निकै खेद्‍यौ
म तिमीबाट खेदिन तयार भएँ
अभिभावक, तिमीले सारै चेप्यौ
म तिमीबाट चेपिन तयार भएँ
समाज, तिमीले ह्वात्तै हेप्यौ
म तिमीबाट नि हेपिन तयार भएँ
किनकि, म बोर्डिङको शिक्षक हुँ ।

महिनौं बितेछन् हात रित्ता भएका
आफ्नै मान्छेहरु भित्ता भएका
न कसैले सोध्यो न मैले भन्न सकेँ–
म हिजोआज हरेक अभावमा छु,
चारैतिरबाट चर्को दवावमा छु ।
चुलोमा खरानीको धूलो नउडेपछि
सानी छोरीको रिमोट कार नगुडेपछि
हेर्दाहेर्दै आफ्नैले मेरो साथ छोडे
पलभरमै प्रियजनले पाइला मोडे
किनकि म बोर्डिङको शिक्षक हुँ ।

एक दिन प्रिन्सिपलले मायाले भने–
सर, अनलाइन कक्षा चलाउनु पर्‍यो
यही गरेर भए’नि चुलो जलाउनपर्‍यो ।
नाई भन्ने आँट गर्नै सकिनँ मैले
तर मन भारी भो मोबाइल सम्झेर !
सापटी गरेर ल्यापटप नै किन्नु पर्‍यो
नेट जोडे हातमुख जोडिएला भनेर ।
तर अनलाइन कक्षा’नि बन्द गरियो
र भनियो– अब बेतलवी बिदा !
हातमुख होइन ऋण जोडियो
अविश्वास गर्नेहरुको भिड जोडियो
किनकि म बोर्डिङको शिक्षक हुँ ।

हिजो बाको फोन आयो गाउँबाट
खुसी होइन प्रशस्त पीडा बोकेर
बाले खोक्दै सानो स्वरमा भन्नुभो–
कान्छा, औषधी सकियो पठाउँछस् कि ?
अहिले म सक्दिन बा ! भन्न सकिन ।
मडारिएको मनमा यस्तो लाग्यो कि–
बाको औषधी र मेरा आशा एकैचोटी सकिए ।
बाको फोन लगत्तै अर्को फोनवालाले भन्यो–
सर, बाइकको किस्ता दुई दिनमा बुझाउनुहोला ।
किस्ता होइन आफ्नै मन बुझाउन सकिन,
अचानकको यावत उल्झन सुल्झाउन सकिन ।
किनकि म बोर्डिङको शिक्षक हुँ ।

सोचिरहेको बेला संकेत आयो ढोकामा
ढोका खोल्दा घरबेटी उभिएका रहेछन्
घरभाडाको टिपोट रुपी निष्ठुर दिल हातमा बोकेर ।
म अवाक् भएँ र उभिरहेँ खम्बा बनेर,
केही बोलिनँ ठूलो घरको सानो दिलसंग !
त्यही नै बेला छोरोले भन्यो–
बाबा, केवलको पनि बिल आ’को छ ।
बिलवालालाई दिल दिएर नहुँदो रै’छ,
सबैलाई एउटै जवाफ दिन्छु आजकल–
कृपया केही दिन नआत्तिनु होला ।
तर म अत्तालिएको छु तीन महिनादेखि
तलब नपाउदा तनावको तरवारले काटेर
किनकि म बोर्डिङको शिक्षक हुँ ।

नङ–मासुको सम्बन्ध थियो हिजो
म शिक्षक र मेरा विद्यार्थी बीचमा,
आज मासु बाँचिरहेछ नङ छुट्टिँदा पनि
रक्ताम्य छैनन् अभिभावकीय औलाहरु,
नङ र मासु अचानक टाढा सर्दा पनि ।
ओत दिने रुख जस्तो लाग्थ्यो मलाई
शिक्षक संघ–संगठनका छाताहरु
के थाहा मलाई उनीहरु नै रै’छन्
मालिकहरुका गाउने गौरव गाथाहरु ।
आफ्नै प्रिन्सिपलले पीडा बुझेनन्
आफ्नै सरकारले त साथ दिएन
आफन्त कहलाएकाहरुले नै लात हाने
अब कहाँ जाऊँ र कसलाई बताउँ पीडा ?
किनकि म बोर्डिङको शिक्षक हुँ ।

नागरिकता भए’नि अनागरिक भएँ
उज्यालो छरेर’नि म अध्याँरो रहेँ
रोगलाई जित्दा भोकसँग म हारिरहेछु
आफन्तसँगका आशाहरु म मारिरहेछु
विभेदको पर्खाल धेरै अग्लो रै’छ
चित खाने गरी चेतना पाइरहेछु ।
सुन्छु– सरकारले अर्को सन्तान जन्माउने रे
भएका सबै सन्तान मारेर !
सरकार सधैैं मलाई सौतेनी देख्छ
सधैं मलाई एकनाशले खेद्छ
किनकी म बोर्डिङको शिक्षक हुँ ।

-बुटवल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment