७ साउन, काठमाडौं । स्याङ्जामा तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै सर्वसाधरण तथा सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाइएको हो ।
डीएसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘तीनजना प्रहरी कर्मचारीमा मंगलबार संक्रमण पुष्टि भएको छ । उनीहरुमा सामान्य रूघाखोकी देखिएपछि साउन ४ गते कोरोना परीक्षणका लागि स्वाब संकल गरिएको थियो । रुघाखोकीका लक्षण देखिएपछि उनीहरुलाई छुट्टै बस्ने व्यवस्था पनि मिलाएका थियौं ।’
संक्रमण देखिएका तीनै जनालाई पुतलीबजार नगरपालिका–११ स्थित आइसोलेसन वार्डमा पठाइएको उनले बताए ।
‘जिप्रमा करिब ८५ जना प्रहरी कर्मचारी कार्यरत छन् । सबै जनाको कोरोना परीक्षणका लागि बुधबारदेखि नै स्वाब संकलको काम भइरहेको छ,’ डीएसपी अधिकारीले भने, ‘बुधबार करिब ३५ जनाको स्वाब संकलन भएको छ । बाँकीको बिहीबार हुन्छ । परीक्षणको रिपोर्ट नआउन्जेल हामीले कार्यालयमा प्रवेश निषेध गरेका हौं ।’
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बुधबार जारी गरेको विज्ञप्ति अनुसार अति जरुरी निवेदन वा जाहेरी दिनु परेमा वा सरकारी तथा गैरसरकारी कार्यालयले पत्राचार गर्नु परेमा विद्युतीय माध्यमबाट कार्यालयको dposyangjacrime@gmail.com वा dposyangjasanchar@gmail.com मार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।

                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4