
७ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागले खरिद गरेको सातवटा अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन नेपाल आइपुगेको छ । मेसिन सँगै ३ लाख आरएनए एक्सट्रयाक्सन किट पनि ल्याइएको छ ।
देशभरको प्रयोशालामा स्वाब होल्ड भएर रिपोर्ट आउन एक हप्ताभन्दा बढी समय लागेको बेला स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कार्यभार सम्हालेको दिन नै अटोमेटेड पिसिआर खरीद गर्ने निर्णय गरेका थिए ।
जेठको दोस्रो साता खरीद गर्ने निर्णय भएपनि साउनमा मात्र उपकरण आएको हो । चीनको मेन्जिङजोङ्के बायोमेडिकलले उत्पादन गरेको एउटा मेसिनको ३६ लाख ३३ हजार रुपैयाँ परेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले प्रोटोकल पालना गरेर संकलन गरेको स्वाब अत्यन्तै कम छ । निजी प्रयोशालाले परीक्षण गर्न पनि अनमुति पाइसकेका छन् । त्यसैले अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन अहिले तत्काल उपयोग नहुने एक अधिकारी बताउँछन् । ‘आज भन्दा एक महिना अघि आएको भए धेरै समस्या हल हुन्थ्यो’ नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘अब फेरि संक्रमण बढ्यो भने काम लाग्ला, तर तत्काल भने उपयोग हुने देखिँदैन ।’
स्वास्थ्य सेवा विभागको अनुसार तीन लाख थान आरएनए एक्सट्रयाक्सन किट पनि भित्र्याएको छ । ५ लाख किट ल्याउने सम्झौता गरेको भएपनि पहिलो लटमा ३ लाख आएको हो ।
प्रयोगशाला विज्ञको अनुसार अटोमेटेड मेसिन आइसकेपछि अहिले आरएनए एक्सट्रयाक्सन गर्नका लागि चाहिने ४ देखि ६ घण्टाको समय घटेर एक घण्टामा झर्ने छ । एक्सट्रयाक्सन पछि पीसीआर मेसिनमा राखेको दुईघण्टामै रिपोर्ट आउने छ । यो मेसिनले एक घन्टाभित्र ९६ नमुना परीक्षण गर्नेछ ।
विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेलका अनुसार प्रदेश नं १ मा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा, प्रदेश नं २ मा नारायणी अस्पताल वीरगञ्जमा मेसिन राखिनेछ । बागमती प्रदेशमा कहाँ राख्ने भन्ने टुंगिएको छैन । त्यस्तै गण्डकी प्रदेशमा प्रादेशिक अस्पताल पोखरा, प्रदेश नं ५ मा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सुदूरपश्चिम प्रदेशमा सेती अस्पतालमा पठाउने निर्णय भएको छ ।
प्रतिक्रिया 4