Comments Add Comment

विराटनगर अस्पतालको ओपीडी र आकस्मिक कक्ष बन्द

८ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमितको विवरण लुकाउने विराट नर्सिङहोम (विराटनगर अस्पताल) ओपीडी र आकस्मिक कक्ष बन्द गराएको छ ।

बुधबार अस्पतालकै एकजना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय र स्थानीय प्रशासनसँगको समन्वयमा बिहीबार अस्पतालको ओपीडी र आकस्मिक सेवा बन्द गरिएको हो ।

महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले अर्को सूचना नभएसम्म सेवा बन्द गराइएको जानकारी दिए । अस्पतालमा शुक्रबारदेखि ‘डिसइन्फेक्ट’ को काम थालिने र संक्रमितको कन्ट्रयाक ट्रेसिङ गर्न सुरु गर्ने तयारी गरिएको छ ।

मंगलबार अस्पतालले गलत विवरण भरेर स्वाब संकलन गरी कोशी अस्पतालमा जाँचका लागि पठाएका व्यक्तिमा संक्रमण पुष्टि भएको थियो ।

गलत विवरणका कारण रिपोर्ट आएपछि संक्रमितको खोजी गर्न स्थानीय प्रशासन र प्रहरीलाई समस्या भएको थियो ।

संक्रमित व्यक्ति सोही अस्पतालका चिकित्सक हुन् । उनले उपचार गरेका बिरामी, उनको सम्पर्कमा आएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्डलगायतको परीक्षण गरिने छ । अस्पताललाई पनि सेनिटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्नुपर्ने कार्कीले बताए ।

ओपीडी तथा आकस्मिक कक्षको सेवा बन्द भए पनि अस्पतालमा भर्ना गरिएका बिरामीको भने उपचार जारी हुनेछ ।

संक्रमितले कोरोना जाँचको अघिल्लो दिनसम्म काम गरे

मंगलबार अस्पतालका सञ्चालकमध्येका एक ६५ वर्षीय चिकित्सकको स्वाब संकलन गरिएको थियो । बुधबार कोरोना पोजेटिभ देखिएपछि उनी सम्पर्कबिहीन भएका थिए ।

उनको खोजीमा ठूलो मेहनत गरेका प्रहरी र महानगरका कर्मचारीले धेरै सास्ती बेहोर्नु पर्ने अवस्था आयो । बिहीबार दिउँसो भने उनी आफैं महानगरको सम्पर्कमा पुगेका थिए ।

अस्पताल स्रोतका अनुसार संक्रमित चिकित्सक स्त्री तथा प्रसूति रोग विषेशज्ञ हुन । उनी सोमबार पनि डिउटीमा थिए । संक्रमित व्यक्ति विराट नर्सिङहोम र विराट मेडिकल कलेजमा पनि पुगेको बताइएको छ ।

तर कोरोना जाँचका लागि उमेर ५० वर्ष र नाम र ठेगाना अर्कै लेखाइएको थियो । स्वाब संकलनका क्रममा नाम हरिबहादुर कार्की लेखिएको थियो । मोबाइल नम्बर पनि गलत लेखेका थिए । संक्रमितको भनेर टिपाइएको नम्बर धनकुटामा कार्यरत एक प्रहरीको थियो ।

संक्रमितलाई अस्पताल प्रशासनले लुकाएको पाइएपछि कारबाही अघि बढाउन प्रक्रिया थालिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

महानगरले सेनिटाइज नगर्ने

सामान्य अवस्थामा संक्रमित भेटिएको स्थानमा महानगरले सेनिटाइज गर्दै आएको थियो । तर विराटनगर अस्पतालले संक्रमितको विवरण लुकाएका कारण आफैं सेनीटाइजको काम गर्नुपर्ने भएको हो ।

‘तत्काल सेनिटाइज गरेर अस्पताल सुरक्षित बनाउनुपर्छ,’ महाशाखा प्रमुख कार्कीले भने, ‘ विवरण लुकाउने काम भएको छ, उहाँहरु आफैंले सेनिटाइज गर्नुपर्छ ।’

प्रदेशमा थपिए १३ संक्रमित

बिहीबार विराटनगर महानगरपालिकाभित्र चारसहित प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८, सुनसरी र धनकुटामा २-२ र झापामा एकजनामा संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको हो । विराटनगर चार जना प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी हुन ।

सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा संक्रमितको संख्या ८४८ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।

बिहीबारसम्म सम्म ३८ हजार १ सय ३५ जनाको कोरोना परीक्षण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment