+
+
Shares

सरकारले भन्यो-रोजगारीमा जापान जान पाइने लोभमा पैसा नबुझाउनू

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १७:०२

९ असार, काठमाडौं । सरकारले जापान रोजगारीमा पठाइदिने भन्दै भएको प्रचारमा ध्यानाकर्षण भएको जनाएको छ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै केही जापानी भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरुले विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत भ्रमपूर्ण प्रचार गरिरहेको बताएको छ ।

त्यस्ता नाममा रकम समेत असुलेको जानकारी प्राप्त भएकाले मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । ‘नेपाली नागरिकहरुलाई एसएसडब्ल्यू प्रणाली अन्तर्गत जापान रोजगारीमा पठाउने गरी सन् २०१९ मार्चमा नेपाल सरकार र जापान सरकारबीच भएको सहकार्यको समझदारीमा व्यवस्था भएबमोजिमका प्रक्रियाहरु अगाडि बढेका छन्,’ मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जापानमा रोजगारी प्राप्त गर्न नभई नहुने दूई पूर्वशर्तहरुमध्ये जापानिज भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने र सम्बन्धित कार्यक्षेत्रको सीप परीक्षण प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ । सो अनुरुप दुवै परीक्षणहरु जापान सरकारकै तर्फबाट छनौट भएको जापान फाउण्डेसनले मात्र गरिरहेको व्यहोरा जानकारी दिइएको छ ।

‘जापानका रोजगारदाताहरुले नेपाली नागरिकलाई कामदारको रुपमा विभिन्न कार्यक्षेत्रका लागि छनौट गर्ने क्रममा हाल केयर गिभरका लागि केही मागहरु प्राप्त भएको छ । साथै यस मन्त्रालयबाट सम्बन्धित सरोकारवालाहरु समेतलाई सहभागी गराउँदै छनौटको लागि आधारहरु तय गर्ने काम अगाडि बढाईएको छ,’ विज्ञप्तिमा भनिएको छ,’उक्त आधारहरु तयार भएपछि जापानबाट माग भएबमोजिम कामदारहरु जापान जाने क्रम अगाडि बढ्ने नै छ ।’

यसरी एसएडब्ल्यू प्रणालीअन्तर्गत जापानमा रोजगारीको लागि जापान सरकारले तोकेको जापान फाउन्डेसनले सञ्चालन गरेको भाषा र सीप परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारहरु मात्र योग्य उम्मेदवार मानिने व्यहोरा समेत अनुरोध गरिन्छ ।

सन् २०१९ मार्चमा नेपाल सरकार र जापान सरकारबीच भएको सहकार्यको समझदारी अनुसार कामदार पठाउँदा वैदेशिक रोजगार विभागको जापान ईकाई मार्फत कामदार छनौट हुने व्यवस्था रहेको र कामदार छनौटको परीक्षण पद्धतिमा निजी क्षेत्रका विभिन्न संस्थाहरुको भूमिका समेत नहुने मन्त्रालयले स्पष्ट गरेको छ ।

जापान जान भन्दै रकम बुझाउनुको कुनै अर्थ नहुने भएकाले वैदेशिक रोजगार विभागबाट यथार्थ र आधिकारिक सूचना लिएर मात्र भाषा परीक्षा तथा सीप परीक्षणको तयारी गर्नु हुन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?