Comments Add Comment

चितवनमा गैंडाको प्राकृतिक मृत्युदर ३९ प्रतिशतले घट्यो

विज्ञ भन्छन् : अझैं घटाउन सकिन्छ

९ साउन, चितवन । आर्थिक वर्ष २०७५/०७६ मा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र राष्ट्रिय वन क्षेत्रमा ४३ वटा गैँडा प्राकृतिक कारणले मरे ।

आव ०७६/७७ मा भने २६ वटा गैँडा मानवीय र प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ । आव ०७४/७५ मा पनि २६ वटा गैँडा मरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैँडाको मृत्युदरमा अहिले ३९.५ प्रतिशत कमी आएको छ । यसले संरक्षणकर्मीहरूलाई केही राहत मिलेको छ ।

तर प्राकृतिक मृत्युदर घटाउन सकिने ठाउँ अझै बाँकी छ । त्यसका लागि ठोस कार्यक्रम अघि बढाउने तयारी निकुञ्जले गरेको छ । बासस्थान सुधार, घाँसे मैदानको व्यवस्थापन र सूक्ष्म निगरानीबाट गैँडाको प्राकृतिक मृत्युमा कमी ल्याउन सकिन्छ । निकुञ्जले विशेषतः गैँडाको बासस्थान सुधारमा जोड दिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रूपाखेती घाँसे मैदान विस्तार, पानी खाने पोखरी, सिमसार र आहाल बस्ने घोल क्षेत्र सुधार गरेको बताउँछन् । लकडाउनले निकुञ्जलाई पनि शान्त बनाउँदा गैँडामा तनाव कम देखिएको उनले बताए ।

गत वर्ष कहाँ कति गैँडा मरे ?

निकुञ्जका अनुसार गत वर्ष मरेका २६ गैँडामध्ये उमेर पुगेका छवटा थिए । त्यसभन्दा अघिल्लो वर्ष मरेका ४३ मध्ये पाँचवटा अधिक बुढा थिए । गैँडाको औसत आयु ४० वर्षको हुन्छ ।

त्यस्तै, ०७३/०७४ मा मरेका २५ गैँडामध्ये एउटा तस्करले बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा मारेका थिए । त्यसयता गैँडा चोरीशिकारीमा परेका छैनन् । कुनै बेला चोरीशिकारी गैँडा मृत्युको मुख्य कारण बनेको थियो । चोरी शिकारीले खागका लागि एक वर्षमा ३८ वटासम्म गैँडा मारेका थिए ।

पछिल्लो समय जुधेर, दलदलमा फसेर, बाघको आक्रमणमा परेर तथा उमेर पुगेर सबै गैडा मरेका हुन् । यीमध्ये केही गैँडा भवितव्य र मानवीय कमजोरीका कारण पनि मरेका छन् ।

आ.व. ०७६/७७ को साउन, मंसिर र असारबाहेक सबै महिनामा गैँडा मरेको निकुञ्जको तथ्यांकले देखाउँछ । यीमध्ये पनि माघमा सबैभन्दा बढी ६ वटा गैँडा मरेका थिए । मरेका कुल २६ गैँडामध्ये १३ भाले र १० वटा पोथी थिए । तीनवटा पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए ।

गत वर्षको भदौमा एउटा पोथी र असोजमा एउटा गैँडा बुढो भएर मरेको भेटिएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार कार्तिकमा मरेको भेटिएको एउटा गैँडा कुहिएर भाले वा पोथी चिन्न सक्ने अवस्थामा थिएन । त्यसलाई प्राकृतिक कारण मानेको उनले बताए ।

उनका अनुसार त्यही महिनाको १० गते एउटा पोथी र एउटा भाले गैँडा विषादीका कारण मरेको भेटिएको थियो । पुस २ गते एउटा वयस्क भाले गैँडा राष्ट्रिय वन क्षेत्रमा जिब्रो कालो भएर ढलेको अवस्थामा भेटिएको थियो भने २० गते अर्को भाले गैँडा करेन्ट लागेर मरेको अवस्थामा नवलपरासीको अमलटारीमा पाइएको सहायक संरक्षण अधिकृत उप्रेतीले बताए ।

उनले भने, ‘त्यही पुसको २५ गते एउटा वयस्क पोथी गैँडा दलदलमा भाँसिएर मरेको भेटियो २८ गते अर्को पोथी गैँडा शरीरभरि चोट लागेर मरेको फेला प¥यो ।’

त्यस्तै, माघ ९ गते पोथी गैँडा मृत अवस्थामा फेला प¥यो भने १४ गते एक दिन दुईवटा वयस्क पोथी गैँडा मृत अवस्थामा भेटिए । तीनमध्ये एउटा पोथी विषाक्त घाँस खाएर मरेको पाइएको थियो ।

त्यही माघको १८ गते घाइते भएको अवस्थामा भेटिएको एउटा वयस्क भाले गैँडा उपचारको क्रममा मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत उप्रेतीले बताए । माघ २२ गते भेटिएको सडिसकेको गैँडाको लिङ्ग पहिचान हुन सकेन । उप्रेतीका अनुसार माघ २४ गते पनि छ महिनाको पोथी गैँडा घाउचोट लागेर मरेको भेटिएको थियो ।

गत वर्ष दुईवटा पोथी गैँडा भालेको आक्रमणबाट, एउटा भाले जुधेर अनि एउटा सालको रुख ढल्दा किचिएर मरेका थिए । त्यस्तै, भाँसमा परेर तीनवटा, विद्युतीय झड्काले दुईवटा र बाघको आक्रमणमा एउटा गैँडा मरेको विवरण निकुञ्जमा छ । गत वर्ष मरेका कुल २६ गैँडामध्ये तीनवटाको मृत्युको कारण खुलेको छैन ।

वार्डेन रुपाखेतीका अनुसार गत वर्ष समयमै पानी परेकाले डढेलो लाग्न पाएन र बेलैमा घाँस उम्रियो । पानीका स्रोत र आहाल बस्ने घोल पनि राम्रो भयो । पर्याप्त घाँसे मैदान र पानीको स्रोत हुँदा गैँडाहरू धेरै जुधेनन् ।

‘पछिल्लो तीन–चार महिनाको लकडाउनले निकुञ्जमा निकुञ्ज जस्तै वनेलु वातावरण बनेर विचरण सहज हुँदा पनि गैँडाको मृत्युदर कम भएको हो’, वार्डेन रुपाखेती भन्छन् ।

निकुञ्जले गत वर्ष घाँसे मैदान, घोल र पोखरीहरू बनाउन सवा दुई करोड रुपैयाँ खर्च गरेको थियो । ६०० हेक्टर नयाँ र ५०० हेक्टर पुरानो घाँसे मैदान व्यवस्थापनका लागि ३५ वटा पोखरी मर्मत गरिएको वार्डेन रुपाखेतीले बताए ।

वासस्थान व्यवस्थापनसँग गैँडाको संख्यात्मक घनत्व र मानवीय लापरबाही घटाएर मृत्युदर अझै घटाउन सकिने पूर्ववार्डेन कमलजंग कुँवर बताउँछन् । ‘दलदल क्षेत्रमा निगरानी बढाएर पनि मृत्युदर घटाउन सकिन्छ’, उनी भन्छन्, ‘त्यसबाहेक राप्ती नदीतर्फको निकुञ्जका केही भाग उठाएर बेलाबखत बाढीबाट मर्ने गैँडा जोगाउन सकिने ठाउँ पनि छ ।’

रोकिएको गैँडा गणना यसपटक

हरेक चार वर्षमा गैँडा गणना गरिने भए पनि गत वर्ष बजेट अभाव र कोरोना भाइरस संक्रमणका कारण यो काम हुन सकेन । यसपटक आगामी मार्च–अप्रिलमा गैँडा गणना हुने निकुञ्जले जनाएको छ । गैँडा गणना गर्न कम्तीमा एक महिना लाग्छ ।

पछिल्लो पटक २०७१ सालको गणनामा पर्सादेखि शुक्लाफाँटासम्मका चारवटा निकुञ्जमा ६४५ गैँडा भेटिएका थिए । चितवन राष्ट्रिय निकुञ्जमा सबभन्दा बढी ६०५ गैँडा पाइएको थियो । त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आठ र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा तीनवटा गैँडा भेटिएको थियो ।

नेपालमा सन् १९९४ मा ४६६ वटा, २००० मा ५४४ वटा, २००५ मा ३७२, २००८ मा ४०८ र २०११ मा ५०३ वटा गैँडा भेटिएका थिए । २०१५ को गणनापछि २०१६ र २०१७ मा चितवनका गैँडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरण गरिएका थिए । त्यस्तै, चारवटा गैँडा मित्र राष्ट्र चीनलाई उपहार दिइएको थियो । तीमध्ये एक गैँडा मरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment