९ साउन, विराटनगर । विराटनगरका दुई ठूला अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ ।
शुक्रबार दिउँसो नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो ।
दिउँसो साढे २ बजे एम्बुलेन्समा कोशी अस्पताल ल्याइएका युवकलाई चिकित्सकले उपचार गर्न नमान्दा साढे ३ बजेतिर एम्बुलेन्समै मृत्यु भएको आफन्त र एम्बुलेन्स चालकले बताएका छन् ।
त्यसअघि शुक्रबार नै नोबल मेडिकल कलेजले उपचार गर्न नमानेपछि उनलाई कोशी अस्पताल ल्याइएको थियो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि पदमलाई श्रीमती कमला र बहिनी चमेलीले बिहीबार कटारी अस्पताल लगेका थिए । कटारी अस्पतालले रेफर गरेपछि उनीहरुले शुक्रबार विराटनगरको नोबल मेडिकल कलेज ल्याएका थिए । दिउँसो २ बजेसम्म उनको अवस्था सामान्य थियो । बेलाबेला श्वास प्रश्वासमा समस्या भएकाले अक्सिजन लगाएका थिए ।
नोबेलले एम्बुलेन्सबाट बिरामी लिन स्ट्रेचरसमेत ल्यायो । तर पछि कोरोना जाँच गराएर मात्र आउन भन्दै अस्पतालले भर्ना लिन मानेन ।
नोबेलले भर्ना नगरेपछि एम्बुलेन्स चालक सुवास तामाङले साढे २ बजे कोशी अस्पताल ल्याए । तर सरकारी अस्पतालले पनि एम्बुलेन्सबाट बिरामी झार्न दिएन । इमर्जेन्सी वार्ड अगाडि रोकिएको एम्बुलेन्समा करिब एक घण्टापछि उनको मृत्यु भएको हो ।
‘नोबेलले कोशी लैजानु भन्यो, ’एम्बुलेन्स चालक तामाङले भने ‘ कोशीले पनि भर्ना गर्न मानेन ।’ पदमको मृत्युपछि श्रीमती र बहिनी एम्बुलेन्समै बेहोस भएका थिए । अस्पतालले कोरोनाको शंकास्पद संक्रमित भन्दै बेहोस आफन्तको पनि उपचार गर्न मानेन ।
‘अस्पतालले बिरामीलाई हेर्नै मानेन’ मृतकका आफन्त रोमा गोलेले भनिन्, ‘बेहोस भएकालाई उपचार गरिदेउ भन्दा पनि छेउमा आउन मानेनन् ।’ एम्बुलेन्समा रहेको शव साढे पाँच बजे मात्र अस्पतालका कर्मचारीले कोरोना जाँचका लागि भन्दै निकालेका छन् ।
कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले युवकलाई धरान रेफर गर्ने तयारी गर्दै गर्दा मृत्यु भएको बताए । ‘अवस्था गम्भीर भएकाले धरान रेफर गर्ने निर्णय भइसकेको थियो’ उनले भने ‘एम्बुलेन्समै मृत्यु भयो ।’
कोशीमा सुविधा नभएका कारण धरान रेफर गर्न लागेको अवस्थामा मृत्यु भएका युवकको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको उनले बताए ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4