Comments Add Comment

अस्पतालबाटै कोरोना संक्रमण ? डाक्टर भन्छन् : वैज्ञानिक आधार छैन

बेल्वामा अन्त्येष्टि गर्दा स्थानीयको विरोध

१० साउन, वीरगञ्ज । वीरगञ्ज-११ श्रीपुरकी ८५ बर्षीया वृद्धालाई साउन ४ गते एडभान्स मेडिकियर अस्पतालमा भर्ना गरियो । लामो समयदेखि मुटुमा समस्या भए पनि उनी लठ्ठीको सहारामा हिँडडुल गर्दै आएकी थिइन् ।

पछिल्लोपटक सास फुल्न थालेपछि वीरगञ्जकै एक निजी क्लिनिकमा देखाइयो । डाक्टरले नारायणी अस्पतालमा लैजान रिफर गरे । तर, त्यो दिन नारायणीमा ठाउँ छैन भनेर चिकित्सकले एडभान्स मेडिकेयर अस्पतलमा भर्ना गराए ।

साउन ८ गते उनलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भयो, भोलिपल्ट निधन भयो ।

मृतकका छोरा आमालाई एडभान्स अस्पतालमै कोरोना संक्रमण भएको हुन सक्ने आशंका गर्छन् । ‘आमा बोलिरहनुभएको थियो । साउन ८ गते बिहान २ बजेतिर कोरोना भयो भनियो र, गण्डक लगेको भोलिपल्ट छाडेर जानुभयो, उनले अनलाइनखबरसँग भने, ‘जन्माउनुभयो, हुर्काउनुभयो । तर, मृत्युपछि काँध दिन पाइएन, दागवत्ति पनि दिन पाएन । सेनाले लगेर गाडिदिएको छ ।’

साउन ६ गते एडभान्समा उपचाररत वीरगञ्ज-५ जेलरोड बस्ने ४७ बर्षीय पुरुष, ७ गते वीरगञ्ज- ४ बिर्ताका २६ वर्षीय र वीरगञ्ज- ७ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैले उनको आशंकामा बल पुग्यो ।

घटना २ः कोरोना संक्रमणबाट मृत्यु भएकी १७ बर्षीया युवतीको माइती परिवार बाराको परवानीपुर गाउँपालिका ४ परवानीपुरबाट बसाई सरेर वीरगञ्ज-२१ परवानीपुर बस्दै आएका थिए । ३ चैत ०७६ चैतमा भारत बिहारको सीमावर्ती सहर रक्सोलदेखि दुई घण्टाको दुरीमा पर्ने कलवारी मजरियामा विवाह भएको थियो ।

चैत ११ गतेबाट लकडाउन शुरु भयो । सीमा नाका बन्द भएकाले उनी माइती आउन पाइनन् । लकडाउन खुकुलो भएपछि ३८ दिन अघि माइती आइन् । तर, क्वारेन्टिन बसिनन् । माइती घरमा बस्दै आएकी उनलाई साउन २ गते शुक्रबार अचानक उनलाई पखाला लाग्ने र उल्टी हुने समस्या देखियो । नारायणी अस्पतालमा दुई दिन उपचार गरेपछि ठीक भयो र उनी डिस्चार्ज भएर घर गइन् ।

अवस्था सामान्य थियो, अचानक बुधबार राति ९ बजेतिर पुरानै समस्या दोहोरियो । वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगियो । अस्पतालमा टेष्ट गर्दा आरडीटी पोजेटिभ देखियो । लगत्तै स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशाला पठायो । तर, युवतीको शरीरमा अक्सिजनको मात्रा घटिरहेको थियो । पीसीआर रिपोर्ट नआउँदै हेल्थ केयरले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर कोरोना अस्पतालमा पठायो । शुक्रबार उनको निधन भयो । निधनपछि ल्याबबाट आएको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएयो ।

मृतकका दाजु अस्पतालबाटै बहिनीलाई कोरोना संक्रमण भएको हुन सक्ने आशंका गर्छन् । ‘नारायणी अस्पतालले राम्रो हुन्छ भनेर घर पठाएको हो तर, उही समस्या किन दोहोरियो त ?’ उनी भन्छन्, ‘अस्पतालमै संक्रमण भएको पनि हुन सक्छ ।’

के भन्छन् चिकित्सक ?

तर, नारायणी अस्पताल अन्र्तगतको गण्डक अस्थायी कोरोना अस्पतालका कोअर्डिनेटर उदय नारायण सिंह अस्पतालमा संक्रमण भएको आशंका गरिएपनि वैज्ञानिक आधार नभेटिएको बताउँछन् । उनका अनुसार मृतक दुवै जना अस्पतालमा लामो समय नबसेकाले अस्पतालमा संक्रमण भएको भन्न सकिँदैन ।’

‘८५ बर्षीया वृद्धा स्वास प्रस्वासमा समस्या भएरै एडभान्स अस्पतालमा भर्ना हुनुभएको हो । कोरोनाका आशंकामा पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखियो’ उनले भने, ‘उहाँमा मुटुको रोग थियो । छातीको एक्सरेमा क्लासिकल निमोनिया देखिएको थियो ।’

उनका अनुसार १७ बर्षीया महिला पखाला लागेर नारायणी आउँदा इर्मजेन्सीको अब्र्जभेसनमा मात्र राखिएको थियो । र, त्यतिबेला कोरोना देखिएको थिएन । ‘फेरि पेट दुखेर वीरगञ्ज हेल्थ केयर ल्याउँदा आरडीटी पोजेटिभ देखिएको छ । स्क्रब टाइफस र कोरोना पनि पोजेटिभ आएको छ’ उनले भने ।

गण्डकका को-अर्डिनेटर डा. उदयनारायण सिंहअनुसार संक्रमण भइसकेपछि पीसीआर परीक्षणमा पोजेटिभ देखिन र अर्को व्यक्तिमा सर्न निश्चित समय लाग्ने हुन्छ । त्यसैले अस्पतालमा संक्रमण भयो भन्ने आशंकामा वैज्ञानिक आधार देखिँदैन ।

अन्त्येष्टिमा स्थानीयको अवरोध

शुक्रबार मृत्यु भएका दुवै महिलाको नेपाली सेनाको टोलीले अन्त्येष्टि गरेको छ । वीरगञ्ज-३१ बेल्वास्थित ठुली चौरवनमा दुवैजनाको शव लगेर गाडिएको नेपाली सेनाको वीरगञ्जस्थित चण्डीप्रसाद गणले जनाएको छ ।

मृतकका परिवारका सदस्यहरुसँग अनुमति लिएर अन्त्येष्टि गरिएका गणका मेजर प्रबल शाहले जानकारी दिए । ‘परिवारका सदस्यले अन्तिम पटक मुख हेर्नुभयो । दाह संस्कारका लागि जाउँ भन्दा पर्दैन भन्नुभयो’ मेजर शाहले भने, ‘बेल्वास्थित ठूली चौर वनमा केही मिटरको दुरीमा १५/१५ फिट गहिरो दुईवटा खाडल खनेर गाडेर फर्किएका छौं ।’

गाउँभन्दा चार किलोमिटर भित्र जंगलमा शव गाड्न खोज्दा पनि स्थानीयले विरोध गरेका थिए । अरु ठाउँको कोरोना संक्रमितको शव आफ्नो गाउँमा ल्याएर गाड्न नपाउने भन्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले सेनाले नै संरक्षण गरेर राखेको जंगलमा लगेर शव गाड्न सुझाव दिएका थिए ।

विरोधमा उत्रिएका स्थानीयलाई सम्झाउन स्थानीय जनप्रतिनिधिलाई हम्मेहम्मे परेको थियो । ‘कोरोना संक्रमणबाट मृत्यु भएको अनि घर ठेगाना पनि अन्यत्र भएका मानिसलाई किन बेल्वा ल्याउनु परेको भन्ने स्थानीयको भनाइ थियो’ वडाध्यक्ष चुमन दास थारुले भने, ‘अबका दिनमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव बेल्वा नल्याउने सहमति भएपछि उनीहरु फर्किए ।’

कोरोना अस्पताल भरियो

पर्सामा भेटिएका ७० मध्ये अधिकांश संक्रमित वीरगञ्जका छन् । संक्रमण थप फैलिन नदिन स्थानीय प्रशासनले शनिबारदेखि अनिश्चितकालका लागि निशेधाज्ञा लगाएको छ । कोरोना संक्रमित भेटिएका स्वास्थ्य संस्थाहरु सिल गरिएको छ भने अन्य अधिकांश निजी अस्पतालले इर्मजेन्सी बाहेकका सेवा बन्द गरेका छन् ।

गण्डक कोभिड अस्पतालमा ९ जना महिलासहित ५३ जना उपचाररत छन् । ४ जना आईसीयूमा छन् भने अरुमा पनि लक्षण छ । गम्भिर अवस्थाका संक्रमितलाई त्यहाँ राखेर राखेर लक्षण नभएकालाई अन्यत्रै व्यवस्थापन गर्नुपर्ने डा. निरज सिंहको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment