११ साउन, युएई । युएईको आबुधाबीमा अलपत्र परेका ३ महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार गरेको हो ।
बाग्लुङ घर भएका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टिका तामाङ र कर्ण लोप्चनलाई उद्धार गरी नेपाल फर्काइएको छ । त्यस्तै बर्दियाका २ जना र स्याङ्जाका एक जना पुरुषलाई पनि उद्धार गरेर नेपाल फर्काइएको छ ।
घर फर्किन विमानस्थल पुगेका स्याङ्जाका एक नेपालीमा कोरोना देखिएपछि समस्यामा परेका थिए । उनलाई सुरुमा उद्धार गरेर अलग्गै राखिएको थियो । पछि पीसीआर परीक्षण गरेर हेर्दा कोरोना नेगेटिभ रिपोर्ट आएपछि नेपाल फर्काइएको छ ।
यस्तै उद्धार समूहले धनुषाका राजकिशोर पासवानलाई पनि उद्धार गरेर नेपाल फर्काएको छ ।
अहिले अर्घाखाँचीका ३ जना र चितवनका एक पुरुष, एक जना गर्भवतीसहित ३ जना महिलालाई खाने–बस्ने व्यवस्था मिलाएर राखिएको उद्धार समूहका कृष्ण गौतमले बताए ।
महिलाहरुलाई कागजी प्रकृया पूरा गरेर नेपाल फर्काउन दूतावासले कानुनी सहयोग गरिरहेको छ । उनीहरुलाई नेपाल फर्काउन हवाई टिकटको व्यवस्था गर्ने प्रयास भइरहेको छ ।
तेस्रो देशको बाटो हुँदै अवैधानिक रुपमा अरु देश पुर्याउन युएईलाई ट्रान्जिट पारेर एजेन्टहरुले ती महिलाहरुलाई यहाँ ल्याएर अलपत्र पारेका हुन् ।
उद्धार गरिएकामध्ये एकजना महिला सात महिनाकी गर्भवती छिन् । उद्दार गरिएका दुई महिलालाई एक ठाउँमा र अर्की एक जनालाई अलग ठाउँमा राखिएको समूहका दुर्योधन कार्कीले जानकारी दिए ।
नेपाल फर्काइदिन गुहार माग्दै आबुधाबीमा रहेको दूतावासमा आउने अधिकांशलाई दूतावासकै अनुरोधमा खान, बस्न र नेपाल फर्काउनसमेत राहत टिमले सहयोग गर्दै आएको छ ।
चार हजारभन्दा बढीलाई खाद्यान्न सहायता
आबुधाबीमा सकृय युवाहरुको राहत वितरण टोलीले कोरोनाका कारण समस्यामा परेर खाना अभाव भएका चार हजार दुई सय जना नेपालीलाई राहत उपलब्ध गराएको छ ।
राहत अभियानमा हालसम्म ३ सय ५० वटा समूहमा बस्ने झन्डै ४ हजार २ सय जना नेपालीलाई राहत सामाग्री वितरण गरिएको अभियन्ता राजेश श्रेष्ठले जनाए ।
टोलीले कोरोनाका कारण समस्यामा परेका नेपालीलाई गएको बैशाख २ (अप्रिल १४) बाट आबुधाबी क्षेत्रमा खाद्य सामाग्री वितरण गर्दै आएको हो ।
अहिलेसम्म २ हजार १ सय किलो चामल, ८ हजार किलो दाल, ४२ सय लिटर तेल, १० हजार किलो आलु, ८ हजार किलो प्याज, ४ हजार किलो नुन, १ हजार किलो सोयाबिन र १ हजार किलो मसलाजन्य सामाग्री वितरण गरिएको छ ।

समस्यामा परेका नेपालीहरुले दूतावासमा सम्पर्क गर्ने र दूतावासले समेत सिफारिस गरेका निवेदन तथा समस्या पहिचान गरेर टोलीले राहत वितरण गर्ने काम भइरहेको छ । टोलीले राहत वितरणसँगै कतिपयलाई अस्पतालसँगको सहयोगमा औषधि उपचारमा पनि सहजीकरण गरिरहेको छ ।
२५ हजारभन्दा बढीको सहयोग प्राप्त
टोलीलाई युएई र यहाँभन्दा बाहिर रहेका दाताबाट सहयोग जुटिरहेको छ । अहिलेसम्म २५ हजारभन्दा बढी सहयोग रकम संकलन भएको छ ।
त्यस्तै युएईमा नेपाली समाजको नेतृत्वमा बनेको संघसस्थाहरु सम्मिलित मूल समितिबाट ६ हजार १ सय दिराम, नेपाली दूतावासबाट दुई पटक गरी १ सय प्याकेट खाद्यसामाग्री, मूल समितिबाट समेत ५० प्याकेट खाद्यसामाग्री (एक जनालाई ११ दिन पुग्ने प्याकेट), डाबर इन्टरनेशनलबाट पौष्टिक आहारयुक्त सामाग्री र सेन्चुरी बैंकको सेन्चुरी रेमिट तथा आईएमई रेमिटबाट सहयोग प्राप्त भएको छ ।
त्यस्तै आबुधाबीका स्थानीय नागरिकले सन्चालन गरिरहेको ट्रिपल ए कम्पनीले दुई पटकसम्म खाद्य सामाग्री सहयोग गरेको छ । टोलीलाई दूतावासकै कर्मचारी तथा स्थानीय कर्मचारीले समेत आर्थिक सहयोग गरेका छन् ।
आबुधाबीमा रहेका नेपाली चुल्हो र भान्साघर नेपाली रेस्टुरेन्टले खाद्य सामाग्री राख्न गोदाम तथा खाद्यान्न सामाग्री उपलब्ध गराउँदै आएका छन् ।
आबुधाबीमा विभिन्न पेशा व्यवसाय गर्दै आएका युवाहरुको टोलीले समस्या समाधान नहुँदासम्म आबुधाबीमा कोही नेपालीलाई भोकै बस्न नदिने गरी सक्दो राहत वितरण अभियान सन्चालन गरिरहने जनाएको छ । सो उद्धार तथा राहत समूहमा गायक प्रकाश पौडेल, कृष्ण गौतम, दुर्योधन कार्की, मनोज श्रेष्ठ, शंकरराज घिमिरे, निर्मल कुमार पोखरेल, भीमनारायण श्रेष्ठ, राजेश श्रेष्ठ, मनोज कुमार सैजु, निमा शेर्पा, पूर्ण चन्द्र डुम्रेलगायत छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4