Comments Add Comment

नयाँ बसपार्कमा अब टोकन लिएर ‘कम्प्युटराइज्ड टिकेटिङ’

११ साउन, काठमाडौं । भदौ १ गतेदेखि नयाँ बसपार्कमा टिकट काट्न टोकन प्रणाली लागू हुने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्कमा अब नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो ।

कोरोना संक्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कले कोरोना संक्रमण फैलन नदिन प्रविधिको प्रयोग गर्न लागेको बताएको छ ।

सरकारले छोटो दूरीका सवारी साधन यही साउन ८ देखि नै सञ्चालन गरेपनि लामो दूरीका सवारी साधन भने भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना संक्रमण हुन नदिन नयाँ बसपार्कले टोकनसहित कम्प्युटराइज्ड बिलिङको प्रणाली सुरु गर्न लागेको बताए ।

‘अब लाइन बसेर हैन, टोकन लिएर हाफ्नो पालो आएपछि टिकट काट्न सकिने व्यवस्था मिलाउँदैछौं,’ उनले भने,’कम्पनीहरुको टिकेटिङ पनि ल्होत्से आफैंले गर्ने तयारी गरेका छौं ।’ यसो हुँदा बसपार्कभित्र भिड नबढ्ने र महामारी नियन्त्रण्मा सहयोग पुग्ने ल्होत्सेको दावी छ ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले विभिन्न यातायात कम्पनीको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था यसअघि नै मिलाइसकेको थियो ।

कम्पनीका अनुसार अनलाइनमार्फत समेत टिकट लिन मिल्ने प्रणाली पनि ल्होत्सेले विकास गरिरहेको छ । यसो भएमा को यात्रु, कुन बसमा, कुन सिटमा कति, बजे कुन गन्तब्यमा गएको छ भन्ने विवरण पनि प्रणालीमा आउने कम्पनीको भनाइ छ ।

चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न पनि कम्पनीले विभागसँग पहल गरेको छ ।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन् । साधारण अवस्थामा बसपार्कबाट दैनिक झण्डै दुई हजार सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिका-२६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालन भई आएको नयाँ बसपार्क पछिल्लो समय ल्होत्सेले जिम्मा लिएर सञ्चालन गर्दै आएको छ । यसको पश्चिमतर्फ विष्णुमती करिडोर निर्माण भएको छ । विष्णुमती करिडोर विस्तारका क्रममा नयाँ बसपार्कको झण्डै १० रोपनी जग्गा गएको छ ।

विसं २०५६ मा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक-निजी-साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुटै बसपार्कस्थल निर्माण गरिएको छ । नयाँ बसपार्कबाट उपत्यकाभित्रका केही सवारी साधन सञ्चालन भए पनि अधिकाशं सवारी साधन भने सञ्चालनमा आएका छैनन् ।

नयाँ बसपार्कले आगामी भदौ १ देखि सञ्चालन हुने सार्वजनिक सवारी साधन सरसफाइलाई विशेष प्राथमिकतामा राखेको बताएको छ । सार्वजनिक सवारी साधन फोहर हुँदा भाइरसको संक्रमण दर बढ्ने भन्दै हरेक दिन सरसफाइ र स्यानिटाइजर प्रयोग गर्न लगाउनेछ । यात्रुले बसभित्र प्रवेश गरेपछि अनिवार्यरूपमा स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्नेछ ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्दै आएको छ ।

काठमाडौंको गौशाला, कोटेश्वर, कलंकी, गोङ्गबुका मुख्य सडकबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन् । सबै सवारी साधनलाई एकै ठाउँबाट सञ्चालन गर्न सकिए कोरोना संक्रमण फैलने क्रममा कमी आउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment