Comments Add Comment

हरित सहर निर्माण गर्दै बागमती सरकार

काठमाडौं, भक्तपुर र ललितपुर पहिलो प्राथमितामा

११ साउन, काठमाडौं । बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उपत्यकासहित प्रदेशका १३ वटै जिल्लाका सदरमुकाम र शहरमा हरित अभियान थालेको छ ।

१३ वटै जिल्लामा अभियान थाले पनि सरकारले संघीय राजधानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अतिक्रमण रोक्न र खेर गैरहेका जमीनलाई प्रयोगमा ल्यान सरकारले राजधानीका तीन सहरमा पार्क र सडक करिडोरमा वृक्षारोपणलाई प्राथमिकता दिएको हो ।

सहरको बीचमा खेर गैरहेका जमीनमा साना पार्क निर्माण गर्दै विश्रामस्थल बनाउने काम गरिरहेको सरकारले सडक पेटी र खोला किनारमा वृक्षारोपणलाई उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्रालयका सचिव शिवकुमार वाग्लेले बताए ।

उनका अनुसार अभियान अन्तरगत सरकारले संघीय राजधानीसहित १३ जिल्लामा ७ करोडको लगानीमा ७५ वटा पार्क निर्माण गरिरसेकेको छ ।

निर्माण भएका पार्क हस्तान्तरको तयारी सरकारले गरेको उनको भनाइ छ । रोपिएका बिरुवा उखेलेर लैजाने, तयार भएको पार्क संरक्षणको लागि समस्या भएपछि सरकारले दिगो संरक्षण र विकासका लागि हस्तान्तरण अभियान थालेको सचिव वाग्लेले बताए ।

सम्बन्धित डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारले निमार्ण गरेको पार्क र सडक किनाराका बिरुवा जोगाउन असहज भएपछि स्थानीय तहलाई हस्तान्तरणको तयारी गरिएको छ ।

स्थानीय तहलाई संरक्षणको जिम्मेवारी दिदै सरकारले आइतबार काठमाडौं ४ र ७ नम्बर वडालाई बागतमी करिडोर र विश्रान्ती पार्क तथा ललितपुरमा बुलुपार्क संरक्षणको लागि हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

हरित सहर निर्माणको लागि सरकारले काठमाडौंको कागेश्वरी – मुलपानीको एक किलोमिटर, जडिबुटी- पेप्सिकोला २.५ किलोमिटर, हात्तीसार-जय नेपाल करिडोरमा एक किलोमिटर, वाग्मती करिडोरमा १० किलोमिटर, बिष्णुमती, मनहरा खोला र धोबिखोला करिडोरमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत बद्रीबहादुर कार्कीले बताए ।

प्रदेश सरकार स्थापनापछि काठमाडौंले पर्यटन विकास आयोजनामार्फत ४१ वटा पार्क निर्माण र सहरी वनका १२ करोड ३ लाख रुपैयाँ, भक्तपुरले पछि ४ पार्क निर्माण र सहरी वनका लागि एक करोड २४ लाख रुपैयाँ खर्च गरेको छ ।

ललितपुरले गत आर्थिक वर्षमा ८ वटा पार्क निर्माणसँगै सहरी वन कार्यान्वयनका लागि ६५ लाख रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ ।

संघको सडकमा प्रदेशका मन्त्री

संघीय राजधानीका तीन सहरलाई प्राथमिकतामा राखेर बागमती प्रदेश सरकारले थालेको ‘सफा सहर, हरित सहर’ अभियान कार्यान्वयनको अवस्था मूल्याङकनका लागि मन्त्री अरुण नेपाल राजधानीका सडकमा पुगेका छन् ।

सरकारले डिभिजन वन कार्यालयमार्फत अघिल्लो आर्थिक वर्षबाटै थालेको काम र त्यसको अवस्था मूल्याङकनका लागि मन्त्री नेपालले काठमाडौं र ललितपुरको काम कार्यान्वयनको अवस्था मूल्याङकन गर्दै अनुगमन गरेका छन् ।

ललितपुरमा सरकारले गरेको हरित पर्यापर्यटन पार्कको अवलोकन गरेका मन्त्री नेपालले काठमाडौंमा हरित शहर अभियाजनका लागि भएका कामको अवलोकन गरेका छन् ।

शनिबार र आइतवार दुई दिन सफा सहर, हरित नगर अभियानको मूल्याङकनमा हिडेका मन्त्री नेपालले संघ हेरेर अन्य क्षेत्रले काम गर्ने भएकाले यसै क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

उनले अबको दुई वर्ष सरकारको अभियानलाई कार्यान्वयन गर्ने दिशामा जान सबैको सहयोग आवश्यक रहेको बताए । उनले ठुलालाई हेरेर सानाले सिक्ने हो, त्यसैले संघलाई प्राथमिकतामा राखेर हरित अभियानको काम थालेको बताए ।

उनले काठमाडौंमा कागेश्वरी- मुलपानी, जडिबुटी- पेप्सिकोला, बागमती, बिष्णुमती, मनहरा खोला र धोबिखोला करिडोरमा भएको हरित अभियानको निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment