Comments Add Comment

डोटीका सार्वजनिक यातायातमा यात्रु दोब्बर, भाडा तेब्बर 

११ साउन, डोटी । सरकारले छोटो दुरीका यातायातका साधनहरु सुचारु गर्ने निर्णय गरेसँगै डोटीका सार्वजनिक यातायातका साधनहरुमा जोखिम बढेको छ ।

सरकारले कुल सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु वोक्ने गरी सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि डोटीमा सञ्चालन हुने जिपहरुले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेका छन् ।

‘डोटीदेखि डडेल्धुरासम्म जम्मा६५ किलोमिटर दुरी छ, भाडा पाँचसय लिन थालेका छन्,’ गैसस महासंघ डोटी शाखाका अध्यक्ष रघु कठायतले भने, ‘लकडाउन अघि एकसय पचास रुपैयाँमात्रै भाडा थियो ।’ यात्रुहरु छतमा बसाएर समेत लैजाने गरेको उनले बताए ।

यस्तै पीडा पोख्छन् वोगटान फुड्सिल गाउँपालिका—७ का लालबहादुर विक । उनले भने, ‘कच्ची सडकहरुमा त झनै जोखिम बढेको छ, एकातिर कोरोनाको डर अर्कोतिर बर्खाको बेला सडक सबै भत्किएका छन् ।’ तर पनि जिपवालाहरुले क्षमताभन्दा बढी यात्रु बाेकेर जाने गरेकाले ग्रामिण क्षेत्रका जनता दोहोरो जोखिममा रहेको उनी बताउँछन् । उनले कच्ची सडकमा चल्ले गाडीहरुको कुनै भाडादर नभएर मनलाग्दी भाडा असुल गरिरहेको बताए ।

दिपायलदेखि गोपघाटसम्म जम्मा २० किलोमिटरको दुरी रहेको तर जिपहरुले दुई सय रुपैयाँ भाडा लिने गरेको पत्रकार मोहनशाही बताउँछन् । ‘लकडाउनअघि जम्मा ६० रुपैयाँमात्रै भाडा थियो,’ शाहीले भने, ‘क्षमताभन्दा दोब्बर यात्रुहरु ओसार्छन, भाडा तेब्बर महङ्गो भएको छ ।’ उनले दिपायल–सिलगढीको भाडा लकडाउनअघि ४५ रुपैयाँ रहेकोमा हाल एक सय रुपैयाँभएको बताए ।

दिपायल सिलगढी नगरपालिका–६ की गीता नेपाली भन्छिन्, ‘गाडीमा कोरोनाबाट बच्ने कुनै उपायहरु प्रयोग गरिएको छैन । न चालकले मास्क लगाउँछन् न यात्रुहरुलाई मास्क लगाउन भन्छन् । यात्रुहरु कोचाकोच हुने तर मास्क समेत नलाउने भएका कारण कोरोना फैलिने डर बढेको छ ।’ स्थानीयस्तरमा चल्ने जिपहरुले टिकट पनि नदिने भएका कारण मनलाग्दी भाडा असुल्ने गरेको उनकी भनाइ छ।

प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

यसैबीच नागरिक समाज डोटीले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक भीमप्रसाद भट्टराईलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

लकडाउन खुलेपछि सार्वजनिक यातायात र सार्वजनिक स्थानहरुमा भिडभाड बढेकोले नियन्त्रण गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाइएको नागरिक समाज डोटीका संयोजक एवं नेपाल पत्रकार महासंघ, डोटी शाखाका अध्यक्ष योगेन्द्रबहादुर बलायरले जानकारी दिए । उनले भने, ‘लकडाउन खुलेसंगै असावधानी बढेको देखिएकोले यसलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छौं ।’

ध्यानाकर्षण पत्रमा सार्वजनिक स्थानहरुमा भइरहेको भौतिक दुरी विनाको भिडभाड रोक्नका लागि आवश्यक कदम चाल्नु पर्ने, सवारी साधनहरुमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउने गरी सरकारले गरेको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने, भाडा दर नियन्त्रण गर्नु पर्ने, यातायातका साधनहरुको पर्याप्त व्यवस्था गर्नु पर्ने, गाडी चालक, सहचालक र यात्रुहरुले कोरोनाबाट बच्ने सुरक्षाका उपायहरु जस्तै मास्क, सेनिटाइजर, पञ्जाको प्रयोग गर्नु पर्ने साथै एक पटक यात्रु ओसारि सकेपछि गाडीको अनिवार्य रुपमा निर्मलीकरण गर्नु पर्ने र कोरोनाको जोखिम न्यूनीकरणका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रले प्रभावकारी रुपमा अनुगमन गर्नु पर्ने माग राखिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमख जिल्ला अधिकारी भट्टराईले आफूले यस विषयमा तत्काल सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी निर्णय लिने बताए । उनले सवारी साधनको कडाइका साथ चेकजाँच गर्न तत्काल सुरक्षा निकायलाई निर्देशन दिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment