Comments Add Comment

चीनसँगको सम्बन्धमा लुम्बिनी र वुद्ध दर्शनलाई प्राथमिकता राख्न सुझाव

११ साउन, बुटवल । चीनका बौद्धमार्गीलाई नेपालको लुम्बिनीमा आकर्षित गरी पर्यटनबाट लाभ लिन सरोकारवालाले सुझाव दिएका छन् ।

नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६५ औं वर्षको पूर्वसन्ध्यामा नेपाल चीन मैत्री समाज लुम्बिनीले आइतबार आयोजना गरेको अन्तर्क्रियामा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठीले लुम्बिनी र बुद्ध धर्मलाई दुई देशको सम्बन्धको प्राथमिकतामा राख्न सके नेपालले लाभ लिन सक्ने बताए ।

कुनै पनि मुलुकले आर्थिक विकासमा फड्को मार्न उक्त मुलुकले तय गर्ने कुटनीतिक सम्बन्धका प्राथमिकताले महत्वपूर्ण भूमिका खेल्ने भन्दै त्रिपाठीले नेपालले चीनसंग अन्य विषय भन्दा लुम्बिनी र बुद्धलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘चीन र भारतसंगको नेपालको अहिलेको कुटनीतिक सम्बन्ध व्यवसाय–बिजनेसमा आधारित हो’–त्रिापाठीले भने–‘अब नेपाल सरकारले चीनसंगको सम्बन्धको मुख्य आधार लुम्बिनी र बुद्धिजमलाई बनाउनुपर्छ तब मात्र नेपालले चीनबाट प्रशस्त लाभ लिन सक्छ ।’

चीनबाट आर्थिक सहायता भन्दा विज्ञान र प्रविधि नेपाल भित्र्याउन जोड दिनुपर्ने पनि उनले सरकारलाई सुझाव दिए ।

प्रदेश सभा सांसद फखरुद्धिन खानले लुम्बिनी र बुद्ध धर्मप्रति चिनियाँहरुको अगाध आस्था भए पनि नेपालले त्यसलाई मार्केटिङ गर्न नसक्दा चिनियाँहरु लुम्बिनी र नेपाल भ्रमणमा निकै कम संख्यामा आएको बताए । जनकपुरलाई भारतसंग जोडेर पर्यटन विकास गर्न खोजिएजस्तै लुम्बिनीलाई चीनसंग जोड्नुपर्नेमा सांसद खानले सुझाए ।

पूर्वसांसद नेत्र पन्थीले चीनले असल छिमेकीको रुपमा नेपाललाई धेरै क्षेत्रमा सहयोग गरे पनि नेपालले फाइदा लिन नसकेको औंल्याए ।

लुम्बिनी वौद्ध विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्यले बुद्ध दर्शनको माध्यमबाट नै नेपालले चीनबाट पर्यटक, लगानी र प्रविधि भित्र्याउन सक्ने औंल्याए ।

प्राध्यापक डा. गितु गिरीले कार्यपत्र प्रस्तुत गर्दै चीनले पञ्चशीलको आधारमा नेपाललाई विना कुनै हस्तक्षेप र स्वार्थ थुप्रै क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

प्राध्यापक रामलाल श्रेष्ठले चीनसंग नेपालको १५ सय वर्षदेखि ऐतिहासिक, धार्मिक,सांस्कृतिक र आर्थिक सम्बन्ध रहिआएको र दौत्य सम्बन्धको ६५ वर्ष पूरा गर्दा समेत सम्बन्धमा तिक्तता नआएको बताए ।

कुनै विषयमा विवाद आएपनि चीनले उदारतापूर्वक नेपालको राष्ट्रियता र सार्वभौमिकताको सम्मान गरेको श्रेष्ठले औंल्याए ।

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीनले आफ्ना छिमेकी देशहरुसंग शान्ति, स्थायित्व,सहअस्तित्व, सहयोग, परस्पर निर्भरता र भातृत्वको सम्बन्ध व्यवहारमा पुष्टि गरेको बताए ।

उनले चीनले हङकङका सम्बन्धमा लिएको नीतिप्रति नेपाली नागरिकको ऐक्यवद्धता रहेको र वाह्य हस्तक्षेपको विरोध हुने बताए ।

समाजका महासचिव मनिष जोशीले चीनसंग जनस्तरमा सम्बन्ध विस्तारका लागि १८ वर्षदेखि मैत्री समाजले विभिन्न कार्यक्रम गरिरहेको बताए ।

दौत्य सम्बन्धको अवसर पारेर समाजले नेपालको विकासमा चीनको भूमिका विषयक मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता, कोभिड–१९ को कारण मृत्यु भएको चीर शान्ति र विरामीको स्वास्थ्य लाभको कामनासहित मायादेवी मन्दिर परिसरमा प्रार्थना र लुम्बिनीस्थित एशिएन राजमार्गमा वृक्षारोपणसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment