
११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले स्वास्थ्य सामग्री खरिद र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अनुसन्धान गरिरहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रमुख आयुक्त घिमिरेले कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौता र खरिदका क्रममा भएको अनियमितबारे अनुसन्धान गरिरहेको बताएका हुन् ।
औषधि खरिदमा संलग्न भएकाहरुसँग बयान लिने काम भइरहेको उनले जानकारी दिए ।
यसैगरी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा पनि अनुसन्धान गरिरहेको प्रमुख आयुक्त घिमिरेले जानकारी दिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सप्लायर्ससँग मोलमोलाइ गरेको आरोप लागेपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।
सांसदहरुले ओम्नी समूहले खरिद गरेको औषधिमा भएको भनिएको भ्रष्टाचार र सेक्युरिटी प्रिन्टिङ प्रेसबारे के भइरहेको छ भनेर प्रश्न गरेका थिए । जवाफमा घिमिले अनुसन्धान भइरहेको बताएका हुन् ।
प्रतिक्रिया 4