Comments Add Comment

भारत किन मान्न तयार छैन समुदायस्तरमा कोरोना संक्रमण ?

११ साउन, काठमाडौं । गत जुनको सुरुमा दिल्ली स्थायी घर भएका ४५ वर्षीय राजेश कुमारलाई खोकी लाग्न सुरु भयो ।

त्यसको केही समयमा उनलाई उच्च ज्वरो पनि आयो । यद्यपि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भने गराएनन् । उनले पाँच दिनसम्म ज्वरो ठीक पार्ने उपचार गराइरहे । ज्वरो घटेन, बरु श्वासप्रश्वासमा पनि समस्या उत्पन्न भयो ।

परिवारले उनलाई कोरोना भाइरसको परीक्षण गराउन भने तर राजेशले अस्वीकार गरिरहे । आफू कतै पनि नगएकाले कोरोना भाइरसको संक्रमण हुने सम्भावना नरहेको ढिपी गरिरहे ।

हुन पनि उनी दिल्लीमा रहेको आफ्नो घरबाट कहिल्यै बाहिर गएका थिएनन् । उनले कोरोना भाइरसका संक्रमित वा शंकास्पद संक्रमितसँग पनि भेटघाट गरेका थिएनन् ।

तर लक्षण देखिन थालेको आठ दिनपछि उनको अवस्था झन् बिग्रियो । त्यसपछि उनलाई तत्काल अस्पताल पुर्‍याइयो, जहाँ उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो । ‘म बाँचें तर मलाई अस्पताल ल्याउन केही ढिला भएको भए मेरो ज्यान नै जान सक्ने डाक्टरहरूले बताएका छन्’, उनले भने ।

राजेश आफूलाई कहाँबाट संक्रमण भएको हो भनेर बताउन सक्ने अवस्थामा छैनन् । किनकि उनलाई कोरोना भाइरसको संक्रमण कसरी भयो भन्ने विषयमा पनि केही थाहा छैन ।

भारतमा यस्ता धेरै संक्रमितहरू छन्, जसलाई कहाँबाट कोरोना भाइरस सर्‍यो भन्ने यकिन छैन । विशेषज्ञहरू यो भारतमा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको प्रमाण भएको बताउँछन् ।

तर सरकारले भने समुदायमा कोरोना संक्रमण फैलिन सुरु गरेको अस्वीकार गर्दै आएको छ । सरकारले समुदायस्तरमा कोरोना भाइरस फैलिएको भन्न कुनै व्याख्या नरहेको र सबै मुलुकले स्थानीय अवस्थाअनुसार यसलाई परिभाषित गर्ने गरेको बताउँदै आएको छ ।

केरल र पश्चिम बंगाल सरकारले भने कोरोना संक्रमण समुदायस्तरमा फैलिएको स्वीकारेको छ ।

यद्यपि समुदायस्तरमा हुने संक्रमणबारे विश्वव्यापी धारणा भने सामान्य छ । यदि ठूलो संख्याका संक्रमितको संक्रमण स्रोत पत्ता लगाउन सकिँदैन भने त्यस्तो अवस्थालाई समुदायस्तरमा संक्रमण भएको मान्न सकिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को गाइडलाइन्स पनि त्यस्तै छ ।

त्यसअनुसारको संक्रमण अहिले भारतमा भइरहेको दिल्लीको सर गंगाराम हस्पिटलका डाक्टर अरविन्द कुमार बताउँछन् । उनका अनुसार पछिल्लो समय आफूलाई कहाँबाट संक्रमण भएको हो भन्ने बताउन नसक्ने मानिसको संख्या अस्पतालमा उल्लेख्य रूपमा बढेको छ । साथै, भारतमा बढ्दो क्रममा रहेको संक्रमणले पनि भारतमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको कुरालाई पुष्टि गर्ने उनको भनाइ छ ।

अहिले भारतमा कोरोना भाइरसका १३ लाख ८५ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् । उनीहरूमध्ये ३२ हजारभन्दा धेरैको मृत्यु भएको छ । ‘यी तथ्याङ्कले त ढाँट्दैनन्’, अरविन्द भन्छन् । उनका अनुसार निरन्तर कोरोना भाइरसको संक्रमण बढिरहेको छ भने यस्तो अवस्थामा के भइरहेको छ भन्ने थाहा पाउन कठिन हुन्न ।

यद्यपि, सरकार भने यसमा सहमत छैन । भारतीय मेडिकल एसोसिएसन (आईएमए)का एक वरिष्ठ डाक्टरले हालैमात्र भारतमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको बताएका थिए । तर आईएमएले एक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन ग¥यो । विज्ञप्तिमा उक्त भनाइ डाक्टरको व्यक्तिगत विचार रहेको बताइएको थियो । यस किसिमको व्यवहारले धेरै मानिस चकित बने ।

संक्रामक रोग विशेषज्ञ डाक्टर शाहिद जमिल सरकारले डाक्टर र विशेषज्ञहरूको पनि कुरा सुन्नुपर्ने बताउँछन् । साथै, प्रमाणहरूलाई पनि आधार मान्नुपर्ने उनको भनाइ छ ।

अहिले भारतका धेरै प्रान्तमा कोरोना संक्रमण फैलिँदो क्रममा छ । आन्ध्र र बिहारलगायतका प्रदेश र घना बस्ती रहेको सहरी जिल्लाहरूमा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । यी क्षेत्रका धेरै मानिसहरू कोरोना भाइरस नियन्त्रणको लागि तयार पनि थिएनन् । उनीहरू अर्को राज्यमा लगाइएको क्वारेन्टिन र परीक्षणले आफ्नो राज्यमा कोरोना भाइरसको संक्रमण आइपुग्दैन भन्नेमा विश्वस्त थिए । त्यसैले उनीहरूले कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक कदम चालेनन् । जसका कारण स्थानीयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन पुग्यो ।

सरकारको रणनीतिमा पनि केही कमजोरी थियो । किनकि दुई राज्यको सीमा पूर्ण रूपमा बन्द गर्नु असम्भव जस्तै थियो । धेरै राज्यमा प्रवेश गर्ने सबै मानिसको परीक्षण र ट्रेसिङ गर्ने सामग्रीको पनि अभाव थियो ।

डाक्टर जमिल मानिसहरूमा कोरोना भाइरस ठूला सहरहरू र केही हटस्पटभित्रै सीमित रहन्छ भन्ने सोचको विकास भएको बताउँछन् । उनीहरूलाई ग्रामीण क्षेत्रमा कोरोना भाइरस आउँदैन भन्ने लागेको थियो तर सोचेजस्तो भएन र कोरोना संक्रमण नियन्त्रणबाहिर गयो ।

अहिले कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिएको छ । तर कसरी फैलिरहेको छ भन्ने कुरा पत्ता लगाउन सकिएको छैन ।

सरकार आफैँले गरेको सर्वेक्षणअनुसार ४० प्रतिशत श्वासप्रश्वासको बिरामीलाई आफू कसरी बिरामी भएँ भन्ने थाहा नभएको बताउने गरेको उनी सुनाउँछन् । ‘अहिले समुदायस्तरमा कोरोना भाइरस फैलिरहेको छ भन्ने स्वीकार्न हामीसँग पर्याप्त प्रमाण छन्’, उनले भने । विशेषज्ञका अनुसार यस किसिमको संक्रमण रातारात फैलिएको भने होइन । पछिल्लो केही सातायता भारतमा यस किसिमको संक्रमण फैलिरहेको छ तर सरकारले भने निरन्तर यसलाई अस्वीकार गर्दै आएको छ ।

डाक्टर अरविन्दका अनुसार महामारीको सुरुवातमा नै भारतका केही स्थानमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो । तर अहिले यो मुलुकभर फैलिसकेको छ । साथै, समुदायस्तरमा फैलिएको संक्रमणलाई जो कोहीले पनि देख्न सक्छ ।

सरकार किन स्वीकार्दैन त ?

विशेषज्ञका अनुसार यस विषयमा केवल अनुमान मात्र गर्न सकिन्छ । सरकारले नै यस विषयमा धेरै कुराहरू सार्वजनिक गरेको छैन ।

समुदायस्तरमा फैलिएको संक्रमण कस्तोलाई मान्ने भन्ने विषयमा पनि केही बताएको छैन । यस्तो अवस्थामा सरकारले समुदायस्तरमा संक्रमण फैलिएको अस्वीकार गर्नुको एक कारण यसलाई आफ्नो नीतिको असफलताको रूपमा लिनु पनि हुन सक्छ ।

समुदायस्तरमा संक्रमण फैलिनुमा सरकारलाई दोषी ठह¥याउन नहुने जमिल बताउँछन् । उनका अनुसार सरकारले सही विवरण सार्वजनिक गर्नुपर्ने र विज्ञानले प्रमाणित गरेका कुराहरू स्वीकार गर्नुपर्छ । भारतजस्तो जनघनत्व बढी रहेको मुलुकमा समुदायस्तरमा संक्रमण फैलिने सम्भावना पनि बढी हुने जमीलको भनाइ छ ।

विशेषज्ञहरूका अनुसार अस्वीकार गर्नाले सरकारलाई थप दबाब सिर्जना हुनुका साथै अनावश्यक विवाद पनि सुरु हुन्छ ।

सरकारी सेवामा काम गर्ने संक्रामक रोग विशेषज्ञ डाक्टर ललितकान्त अहिले निकालिएको बहस आधारहीन रहेको बताउँछन् । उनका अनुसार अहिले सरकारले यो समुदायस्तरमा फैलिएको संक्रमण हो कि होइन भन्नको लागि आफ्नो नीतिमा सुधार गरिरहेको छ ।

‘भारत निकै ठूलो मुलुक हो । एक राज्यमा कोरोना भाइरस नियन्त्रण भयो भने अर्को राज्यमा बढ्न थाल्छ । त्यसैले हामीसँग वास्तविकतालाई बुझाउनसक्ने किसिमको परिभाषा नै छैन’ उनले भने, ‘अवस्था झन् खराब बन्दै गइरहेको छ र यो कठिन सत्य हो ।’

यद्यपि समदायस्तरमा फैलिएको संक्रमण हो भन्नका लागि केही नीतिमा महत्वपूर्ण परिवर्तन आवश्यक छ । डब्ल्यूएचओका अनुसार उल्लेख्य मात्रामा समुदायस्तरमा संक्रमण फैलिएपछि संक्रमित पहिचान, कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिन आवश्यक पर्दैन ।

यद्यपि, यो अवस्थामा भौगोलिक संक्रमणलाई डेटाको आधारमा नियन्त्रण गर्नुपर्ने र सोहीअनुसार स्वास्थ्य सेवा पनि प्रदान गर्नुपर्ने बताउँदै आएको छ । अहिलेको अवस्थामा सरकारले आफ्नो नीति परिवर्तन गर्न नचाहेको पनि हुन सक्ने डाक्टर ललितकान्त बताउँछन् ।

सरकारले पछिल्लो समय परीक्षण, ट्रेसिङजस्ता काम पनि तीव्र गतिमा अघि बढाइरहेको कारणले पनि सरकारले समुदायस्तरमा कोरोना संक्रमण नफैलिएको दाबी गरेको हुन सक्छ ।

अर्को चुनौती भारतको फरकफरक स्थानमा कोरोना भाइरसको संक्रमण पनि फरकफरक छ । यस्तोमा सबैलाई समेट्ने नीति तयार पार्न कठिन छ । ‘तर यत्तिले मात्र उनीहरूले गरेको अस्वीकार न्यायोचित हो भन्ने मान्न सकिँदैन । उनीहरूले समुदायकस्तरमा फैलिएको संक्रमण कसलाई भन्ने हो भनेर दीर्घकालीन अवधारणा प्रस्तुत गर्नुपर्छ’, डाक्टर ललितकान्तले भने । कान्तले अहिलेको अवस्थामा सरकार पारदर्शी हुनुपर्ने र जनताले के भइरहेको छ भन्ने कुरा थाहा पाउनुपर्ने बताए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment