Comments Add Comment

ललितपुर र भक्तपुरमा पनि विद्युतीय तार भूमिगत गर्न टेन्डर

१३ साउन, काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले ललितपुर र भक्तपुरमा पनि विद्युतीय तारलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले ललितपुर र भक्तपुरको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन ठेकेदार छनोटका लागि आइतबार अन्तराष्ट्रिय टेण्डर आहृान गरेको छ ।

निर्माण कार्य गर्न इच्छुक कम्पनीहरुले आगामी ७ असोजसम्ममा प्राविधिक र वित्तीय प्रस्ताव पेश गर्न सक्ने प्राधिकरणले जनाएको छ । संघीय राजधानीको  सहरी सुन्दरता बढाउन, वितरण लाईनको क्षमता बढाउन, विश्वसनीय तथा गुणस्तरीय विद्युत् आपूर्ति कायम गर्न तारलाई भूमिगत गर्न लागिएको हो ।

प्राधिकरणले ललितपुरको पुल्चोक तथा लगनखेल र भक्तपुरको थिमी तथा भुक्तपुर वितरण केन्द्रअन्तर्गतका सहरी क्षेत्रका विद्युतीय तार भूमिगत गर्ने छ । एसियाली विकास बैक -एडीबी)को सहुलितपूर्ण ऋण र नेपाल सरकार तथा प्राधिकरणको संयुक्त लगानीमा विद्युतीय तार भूमिगत गर्न लागिएको हो ।

प्राधिकरणले पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा तारको भूमिगत गरिरहेको छ । दोस्रो चरणमा काठमाडौंको सम्पूर्ण क्षेत्रको तारलाई भूमिगत गर्न ठेक्का सम्झौता भइसकेको छ ।

तेस्रो चरणमा ललितपुर र भक्तपुरअन्तर्गतका वितरण केन्द्रका क्षेत्रमा पर्ने विद्युतीय तारलाई भूमिगत गर्न लागिएको हो ।

काठमाडौं उपत्यका बाहिरका मुख्य सहरहरु विराटनगर, भरतपुर र पोखरामो तारलाई पनि भूमिगत गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले ती सहरहरु पनि तारलाई भूमिगत बिछ्याउन सर्वेक्षण सुरु भइसकेको जानकारी दिए ।

काठमाडौं उपत्यकामा विद्युत् वितरणका लागि प्रयोग भइरहेको ४ हजार र  ११ हजार भोल्टेजको तारलाई भूमिगत बनाइने छ । यससँगै संचारमा प्रयोग हुने अप्टिकल फाइबरलाई भूमिगत बिछ्याइने छ । तार भूमिगत गर्दा हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा सुरक्षित, भरपर्दो हुने प्राधिकरणको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment