Comments Add Comment

‘प्रसाद’को बंशलाई अगाडि बढाउन आवश्यक छैनः दिनेश राउत

चलचित्र ‘प्रसाद’को कथावस्तुलाई दर्शकले निकै रुचाए । समिक्षकले समेत तारिफ गरेको चलचित्रले थुप्रै अवार्ड पनि जित्यो । यो चलचित्रका निर्देशक दिनेश राउतले पनि सबैतिरबाट प्रशंसा बटुले । तर, अब यसका निर्माता सुभाष थापाले ‘प्रसाद २’ बनाउने तयारी गरेका छन् । तर, यसपटक भने निर्देशकमा राउत नै दोहोरिएनन् । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् ।

दिनेश चलचित्रमा नजोडिएपछि बजारमा विभिन्न खालका चर्चा पनि चलिरहेका छन् । के तपाई ‘प्रसाद २’ बन्न लागेकोमा खुशी हुनुहुन्न भन्ने अनलाइनखबरको प्रश्नमा राउत भन्छन्–‘मेरो असन्तुष्टी होइन । तर, प्रसादको जुन बंश छ, त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने मलाई लाग्दैन । यो एउटा विचार बोकेको चलचित्र हो । यसैको नामलाई व्यापारिक हिसाबबाट सोचेर प्रिक्वेल बनाउन सही नलागेपछि म नजोडिएको हुँ । म ‘प्रसाद २’ बनाउनुपर्छ भन्ने तर्कमा सहमत हुन सकिनँ ।’

राउतले, चलचित्र निर्माणको सम्पूर्ण अधिकार निर्मातासँग भएको बताए । उनले भने–‘अब लेखक सुशिल पौडेलले यसको कथामा अझै राम्रो अर्को बिषय देखेर लेख्नुभएको हुनसक्छ । निर्माताले पनि नामको चर्चालाई व्यापारसँग जोड्न खोजेको हुनसक्छ । यो उहाँहरुको अधिकारको कुरा भयो । तर, मेरो व्यक्तिगत विचारमा ‘प्रसाद’ भन्ने चलचित्रको बंश अगाडि बढाउन जरुरी छैन भन्ने हो ।’

राउतले सबैले आ–आफ्नो विवेकले काम गर्ने बताउँदै भने–‘मेरो विवेकले चलचित्रको दोश्रो पाटो बनाउन आवश्यक छैन भन्ने सोच्यो र म यसमा नजोडिएको हुँ ।’

चलचित्र ‘प्रसाद’ भन्दा ‘प्रसाद २’ उत्कृष्ट बने आफू खुशी हुने उनले बताए । तर, यो नाममा दाग लाग्ने काम भयो भने पक्कै पनि आफूलाई दुःख लाग्ने दिनेशको तर्क छ ।

यस्तै, निर्देशक राउतले चलचित्र ‘‘मेरो एउटा साथी छ २’’को निर्देशनबाट अहिलेलाई आफू पछि हटेको बताए । उनले भने–‘‘मेरो एउटा साथी छ २’’को निर्देशनका लागि मैले लिएको पेश्की रकम पनि फिर्ता गरिसकेको छु । पछि, फेरि यो चलचित्र बनाउने सहमती भयो भने हामी काम गर्छौ । अहिलेलाई म यसको निर्देशनबाट पछि हटेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment