Comments Add Comment
अन्तरवार्ता :

‘सूर्यबहादुर थापाको विरासत जोगाउन कांग्रेसमा लागें’

हामी परिर्वतनलाई आत्मसाथ गर्ने व्यक्ति हौं : सुनीलबहादुर थापा

१३ साउन, काठमाडौं । राप्रपा परित्याग गरेर नेपाली कांग्रेसका प्रवेश गरेका सुनीलबहादुर थापाले दुईवटा तर्क अघि सारेका छन् : पहिलो- उनका पिता पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापा धनकुटा कांग्रेसका संस्थापक सभापति थिए । दोस्रो – उनी आफ्ना पिता सूर्यबहादुरको विरासत थाम्नकै लागि राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

३० जनाभन्दा बढी नेता-कार्यकर्ता लिएर मंगलबार औपचारिकरुपमै नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री थापाले कम्युनिस्टहरुको विकल्पमा प्रजातान्त्रिक धारलाई बलियो बनाउनुपर्ने आवश्यकता महसुुस गरेर राप्रपा परित्याग गरेको बताए ।

अनलाइनखबरसँगको अन्तरवार्तामा थापाले भने, ‘अहिले नेपालको पोलिटिकल पावर एकातिर (कम्युनिस्टतिर) ढल्किएको छ । राजनीतिक सन्तुलनका लागि पनि डेमोक्रेटिक इन्स्टिच्युसन बलियो बनाउनुपर्ने अवस्था आएको छ । र, त्यसको साधन नेपाली कांग्रेस मात्र हो ।’

प्रस्तुत छ थापासँग अनलाइनखबरले गरेको कुराकानी :

तपाईंले नेपाली कांग्रेसमा प्रवेश गर्ने निर्णय लिएपछि राप्रपाका मानिसहरुले सूर्यबहादुर थापाको विरासत छोराले बिर्सियो भनेका छन् । बाबुको विरासत बिर्सिएकै हो त ?

यो मेरा लागि कठोर निर्णय हो । तर म उहाँको विरासत कायम गर्न नेपाली कांग्रेस जान लागेको हुँ । किनकि सूर्यबहादुर थापा मात्र होइन, संस्थापकहरु सदस्यहरु जो अहिले जीवित हुनुहुन्न, उहाँहरुको पनि विरासत राप्रपाको अन्तिम महाधिवेशनबाट समाप्त पार्ने काम भएको महसुस हामीले गरेका छौं ।

किनभने, त्यो अधिवेशनमा सूर्यबहादुर थापा, पदमसुन्दर लावती, जोगमेहर श्रेष्ठ, पार्टीका लागि शहीद भएका कृष्णचरण श्रेष्ठहरु कसैलाई सम्झिने काम भएन, उहाँहरुको फोटो कहीँ कतै अटेन । तर, कसैकसैको लाइफ साइजकै फोटो राखियो । प्रस्तावित अध्यक्षको मात्र फोटो राख्ने, अरुको नराखेको देख्दा अचम्म लाग्यो ।

तर, त्यो त सुरुआत मात्र रहेछ । त्यसपछि बिस्तारै सूर्यबहादुर थापाको मार्गदर्शन र जुन उद्देश्यले पार्टी खोलिएको थियो, त्यसलाई बिस्तारै ओझेलमा पार्ने काम भयो । अन्तिम घडीमा अस्ति जब पार्टी एकताको आधार स्तम्भ आयो । त्यसमा त उहाँको नामोनिसान मेट्ने काम भयो । त्यसपछि नै हामी अब भिन्दै बाटो जानेपर्छ भन्ने निष्कर्षमा पुगेका हौं ।

सूर्यबहादुर थापा परिर्वतनलाई स्वीकार गरेर गणतन्त्रको पक्षमा उभिनुभएको थियो, पार्टी एकतापछि राप्रपाले राजतन्त्रको पक्ष लियो भन्न खोज्नुभएको हो ?

सूर्यबहादुर थापाले पञ्चायतमा पनि जनताको परिर्वतनको चाहनाअनुसार जानुपर्छ भन्ने मान्यता राख्नुभएको थियो । २०२९ सालमा प्रधानमन्त्री राष्ट्रिय पञ्चायतबाट चुनिनुपर्छ, बालिग मताधिकार हुनुपर्छ लगायतका १३ सुत्रीय कार्यक्रम राख्दा उहाँ जेल नै जानुभयो । ०४६ मा पञ्चबाट नै फड्को मार्नुपर्छ भन्नुभयो र, पछिल्लो समय अंशबण्डाको कुरा गर्नुभएको थियो । जनता, राजनीतिक दल र राजाले आ-आफ्नो भाग लिएर बस्नुपर्छ भन्नु भएको थियो । यो भनेको, हामी परिर्वतनलाई आत्मसाथ गर्ने व्यक्ति वा शक्ति हौं ।

जहाँसम्म राजतन्त्रको प्रशंग छ, यो न हामीले फलेका हौं, न त ल्याउने हाम्रो सामथ्र्य छ । राप्रपाले त झूठ बोलेर जनतादेखि राजासम्म सबैलाई भ्रममा राखेको छ । विगतलाई हेर्नुभयो भने पञ्चयतमा त एक पक्षले राजालाई विवादमा ल्याए । २०३६ को जनमत संग्रहपछि राजा सर्वोच्च हुने कि सक्रिय हुने भनेर बहस भएको थियो । यस्तो संस्था अहिले सबैको चित्त बुझाएर स्थापना गर्न सकिन्छ जस्तो लाग्दैन । तर, उहाँलाई झुक्याउने काम मात्र भयो ।

जनतालाई पनि झुक्याउने काम भएको छ । हामीले त गणतन्त्रको पक्षमा उभिएर भोट मागेका हौं, चुनिएर आएका हौं । तर, राजासहितको प्रजातन्त्रको म्याण्डेट लिएर आएका साथीहरुले पनि गणतन्त्रिक संविधान स्वीकार गर्नुभयो । स्वागत गर्नुभयो, त्यसअनुसार शासन सत्तामा जानुभयो । अनि अहिले त्यही संविधानको खिलाप रणनीति लिनु भनेेको जनतालाई झुक्याउनु हो, विचलन आउनु हो । र, यस्तो पार्टीले सूर्यबहादुर थापाको विरासत बोक्न सक्दैन ।

अर्को कुरा, अहिले नेपालको पोलिटिकल पावर एकातिर (कम्युनिस्टतिर) ढल्किएको छ । राजनीतिक सन्तुलनका लागि पनि डेमोक्रेटिक इन्स्टिच्युसन बलियो बनाउनुपर्ने अवस्था आएको छ र, त्यसको साधन नेपाली कांग्रेस मात्र हो ।

तर, कांग्रेस र कम्युनिस्टको विकल्पमा राप्रपालाई तेस्रो शक्ति बनाउन मिल्दैनथ्यो र ?

विकल्प बनाउने प्रयास गरेको हो, तर हाम्रै साथीले चुकाउनुभयो । कहाँ चुक्नुभयो पार्टी एकताको आधार पत्र बनाउँदा घुमिफिरी रुम्जाटार नै पुग्नुभयो । हिजो राप्रपा नेपाल वा राप्रपासँग छुटि्टँदा मूल्यमान्यता र डेमोक्रेटिक क्रेडेन्सियल बोकेका थियौं र त्यसलाई जोगाउन हामी अलग बसेका थियौं ।

त्यसबेला राजनीतिक पत्रले गणतन्त्रलाई मान्यता दिएको थियो, त्यसले गर्दा परिर्वतनलाई आत्मसाथ गर्ने हामी जस्ता मानिसहरु पनि अटाउन सक्ने भएका थियौं । तर पछिल्लो समय पार्टी त्यस विपरीत चल्यो । (कमल थापातर्फ इंगित गर्दै) त्यही झण्डा, त्यही नीति र त्यही नेतृत्वलाई स्वीकार गरिसकेपछि मलाई लाग्यो कि अब यो पार्टीले डेमोक्रेटिक क्रेडेन्सियललाई छाड्यो । वरिष्ठ नेताहरुको सार्वजनिक धारणाहरु हेर्दा यो पार्टी चरम दक्षिणपन्थी धारमा गयो भन्ने देखियो । राप्रपाले पोलिटिकल पावर ब्यालेन्स गर्न नसक्ने भयो ।

त्यसैले मेन पोलिटिकल स्ट्रिममा गएर आफूले सकेको योगदान गर्‍यो भने कम्युनिजमलाई चेक एण्ड ब्यालेन्स गर्न सहयोग हुन्छ । र, सूर्यबहादुर थापाको विरासतलाई पनि गाँसैर लैजान सकिन्छ भन्ने लाग्यो । किनकि हामीले यो विर्सनु हुँदैन कि २००८ सालमा सूर्यबहादुर थापा कांग्रेसमा मोरङको कोषाध्यक्ष हुनुहुन्थ्यो । पछि पहाड गएर धनकुटाको सभापति पनि हुनुभयो । अब उहाँको विरासत थाम्ने र निरन्तरता दिँदै अगाडि लैजान कांग्रेस रोजेको हुँ ।

सूर्यबहादुर थापा र पशुपति शमशेर राणाले पार्टी एकता गर्दा संविधानको मुलभूत मान्यतालाई स्वीकार गरिएको थियो । धर्मको विषय बाहेकमा विमति थिएन । राप्रपाले पुनः राजतन्त्रमा फर्किने निर्णय गर्दा तपाईंलाई नेताहरुले कन्भिन्स गर्नुभएन ?

तीनैजना अध्यक्षले मलाई छुट्टाछुट्टै भेट्नु भएको थियो । तर उहाँहरूको तर्क, विश्लेषण र धारणासँग म सहमत हुन सकिनँ ।

राजतन्त्रको मुद्दामा तपाईं कन्भिन्स नहुुनुको कारण के हो ? राजतन्त्र काम छैन, सम्भव छैन भनेर हो ?

राजतन्त्र हामीले फालेको पनि होइन । मेरो विचारमा राप्रपाले राजतन्त्र ल्याउन पनि सक्दैन । बहुदलीय व्यवस्थामा राप्रपा १८ प्रतिशत मतसहित तेस्रो शक्ति थियो । गणतन्त्रपछि सूर्यबहादुर थापाले नेतृत्व गरेको राप्रपाले तीन प्रतिशतभन्दा बढी मत ल्याएर राष्ट्रिय पार्टी बन्यो । तर पछिल्लो पटक राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक र राप्रपा एकीकृत राष्ट्रवादीले ल्याएको मत २.४ प्रतिशत मात्र छ ।

यो मतले नै देखाउँछ कि राप्रपाले कुन नीति लिनुपर्छ । त्यसैले बुबाले भन्नुभएजस्तै म परिवर्तनलाई आत्मसात् गरेर जानुपर्छ भन्ने पक्षमा छु । कतिपयले पदका लागि पो कि भन्छन् । पार्छी एकतापछि उहाँहरुलेमलाई सचिवालयमा पनि राख्ने भन्नु भएको थियो । त्यहाँ म आफैंले बस्न चाहिँन । किनकि सिद्धान्तमै असहमत भएर सचिवालयमा बसेँ भने हरेक निर्णयमा नोट अफ डिसेन्ट लेख्नुपर्छ, त्यो उचित लागेन ।

अहिले पनि सूर्यबहादुर थापालाई पुराना पञ्च भनेरै चिनिन्छ । तर, तपाईं राष्ट्रसंघमा कार्यरत रहँदा धेरै डेमोक्रेटिक मुलुकमा बसेर काम गर्ने अवसर पनि पाउनुभयो । त्यसले पनि आफूलाई अझ डेमोक्रेटिक बनायो भन्ने लाग्छ ?

त्यो सत्य हो । उहाँहरुले पञ्चायतको फ्युडल सोसाइटीबाट राजनीति सुरु गर्नु भएको थियो । तर त्यो परिमार्जन हुँदै आयो । हिजोको दिनमा फ्युडल सोसाइटीकै मान्छेहरु चुनाव लड्थे, उनीहरुलाई मान्थे पनि । उनीहरुले ब्रेड एण्ड बटरको काम गरे । समय क्रमसँगै जनताको इच्छा र चाहना पनि परिर्वतन हुँदै गयो ।

अर्को, म राजनीतिमा पूर्णरुपमा लागेको २०७० सालबाट हो, जतिबेला नेपालमा गणतन्त्र आइसकेको थियो । मैले पञ्चायतको राजनीतिक अनुभव रहेन, बहुदलको थोरबहुत रहृयो । तर, मेरो बलियो प्रतिवद्धता त २०७० सालबाट भएको हो । त्यसपछि धनकुटामा चुनाव लड्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान दिन्छु भनेर जनतासँग भोट मागेको थिएँ । त्यो मेरो पोलिटिकल इथिक्स र कमिटमेन्ट हो, त्यसलाई मैले कुनै पनि मूल्यमा बेच्न सक्दिनँ ।

बाबुले भन्नुहुन्थ्यो, ‘मान्छेले जुन दिन आफ्नो पोलिटिकल कमिटमेन्टमा सम्झौता गर्छ, त्यसले केही समयका लागि रमाउने ठाउँ त पाउँला तर अन्नत लोप भएर जान्छ । त्यसैले आफ्नो सिद्धान्त र प्रतिबद्धताका लागि संघर्ष गर्नुपर्छ ।’ यो नै मेरो ठूलो प्रेरणा हो । यसका साथै मैले राष्ट्रसंघमा रहेर विभिन्न देशमा गरेको काम र त्यसको अनुभवले पनि प्रेरित गर्‍यो ।

नेपाली कांग्रेसमा प्रवेश गर्ने वातावरण कसरी बन्यो ? कांग्रेसमा गुटैगुट छन्, तपाईंलाई कुन गुटको भनेर चिन्ने ?

मेरो बुबाले सुरुदेखि नै डेमोक्रयाटिक इन्स्टिच्युसनलाई समर्थन गर्नुपर्छ भन्नुहुन्थ्यो । कांग्रेसलाई निःस्वार्थ भावनाले समर्थन गर्दै आउनु भएको थियो । कांग्रेसले पनि सूर्यबहादुर थापा नेतृत्वको राप्रपालाई लोकतान्त्रिक र मित्र शक्ति भनेर प्रस्ताव नै पारित गरेको थियो । त्यसैले कांग्रेसका सबै पक्षले मप्रति सहानुभूति छ ।

गएको संसदीय चुनावपछि एउटा पार्टीमा भेट हुँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तपाईं जस्तो डेमोक्रयाटिक नेता कांग्रेसमा आउनुपर्छ भन्नु भएको थियो । त्यो कुराले मलाई छोयो । तर भेटघाट, थप छलफल भएको थिएन ।

तर पछिल्लो समय राप्रपामा बोल्न नपाउने, फरक मत राख्न नपाउने जस्ता विचलन आउन थाल्यो । फरक मत राखेकै कारण साथीहरूमाथि कारबाही भएको तपाईंहरुलाई थाहै छ । त्यतिमात्रै होइन, पार्टीले हिजो सूर्यबहादुर थापाले बोकेको झण्डा, नाम, नीति र सिद्धान्तलाई सबै बिर्सियो । मुल सिद्धान्त नै विर्सने हो भने चुनाव जित्न त जोसँग गठबन्धन गरे पनि भयो नि त ।

सूर्यबहादुर थापाको सिद्धान्त र आर्दश मान्ने साथीहरूले सबैले यहाँ बस्नु ठीक छैन भनेपछि विकल्पबारे सोचेका हौं । धनकुटा जिल्लामा कांग्रेसका साथीहरूले पनि सूर्यबहादुर थापा धनकुटा कांग्रेसको अध्यक्ष भएकै व्यक्ति हुन्, सिद्धान्त पनि मिल्छ, एकै ठाउँमा बसेर किन काम नगर्ने ? भन्न थाल्नुभयो । कांग्रेसका सभापतिदेखि सबै पदाधिकारीले पनि पार्टीमा आउनुस् भन्नुभयो ।

रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ भन्ने छ नि ?

उहाँहरू पनि खुशी नै हुनुहुन्छ । मलाई कांग्रेसमा जानुपर्छ भन्ने पहिलो व्यक्ति नै उहाँ हुनुहुन्छ ।

कांग्रेसमा विभिन्न गुट छन्, त्यसले काम गर्न अप्ठ्यारो पार्दैन ?

म कुनै गुटमा होइन, म कांग्रेसमा प्रवेश गर्ने हो । कांग्रेसको मूल नीति मानेर अगाडि बढ्ने हो । र, सकेसम्म सबै साथीभाइको बीचमा बसेर काम गर्छु । त्यसरी काम गर्न मलाई पनि र उहाँहरूलाई पनि सजिलै हुन्छ होला जस्तो लाग्छ ।

तपाईंलाई कतिपयले धनकुटाको आफ्नो निर्वाचन क्षेत्र हेरेर कांग्रेस प्रवेश गरेको भन्ने गरेका छन् ?

चुनावलाई लक्षित गरेको भए त अघिल्लो चुनावमै म धनकुटामा कांग्रेसको टिकट लिएर लड्थेँ होला नि । कांग्रेसले टिकट दिन्थ्यो पनि । चुनाव पाँच वर्षमा एक पटक आउँछ, तर पाँचै वर्ष टिकिरहनका लागि त सिद्धान्त नै मुख्य कुरा हो नि ।

कांग्रेस महाधिवेशनको संघारमा छ, कांग्रेस प्रवेशका लागि यो समयचाहिँ सही हो त ?

यो उपर्युक्त समय नै हो । किनकि राजनीति गर्ने व्यक्ति चुनाव र महाधिवेशनबाट भाग्नु हुँदैन । ७७ वटै जिल्लाका साथीभाइ एकै ठाउँमा भेट्न पाउने अवसर पनि हो । महाधिवेशनमा पनि खरो उत्रन सफल हुन्छु भन्ने विश्वास छ ।

नवप्रवेशीलाई जुनसुकै पार्टीमा सहज रुपमा स्वीकारेको देखिदैन । तपाईं व्यक्तिगतरुपमा डेमोक्रयाट भए पनि राप्रपा पूर्वपञ्चहरूको पार्टी हो । यसले गर्दा कांग्रेसमा घुलमिल हुन धेरै मेहनत गर्नुपर्ने अवस्था पो आउँछ कि ?

भयानक मेहनत गर्नुपर्छ भन्नेमा त कुनै सन्देह छैन ।

जहाँसम्म पञ्च नपञ्च भन्ने कुरा छ, सूर्यबहादुर थापाले राप्रपा पार्टी स्थापना गर्नेबेला उहाँहरुले पञ्चायत नै देख्नुभएन । फेरि बहुदल आएपछि पूर्वपञ्चहरु कुनचाहिँ पार्टीमा छैनन् र ? सबै पार्टीमा छन् । फरक यति हो, कुनै पार्टीमा केन्द्रीय तहका पूर्व पञ्च छन् कुनैमा जिल्ला वा स्थानीय तहका ।

तर, तपाईंले भनेकोजस्तो मलाई केही कठिन हुन्छ । यो चुनौती स्वीकार गर्नुपर्‍यो नि । भोलि महाधिवेशन सकिएपछि ल म आएँ है भन्नुभन्दा अहिलेको माहौलमा घुलमिल भएर आफूलाई स्थापित गर्न यो उपयुक्त समय ठानेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment