Comments Add Comment

कैलालीका भजनी र जोशीपुरका वस्तीमा बाढी पस्यो, १०० घर परिवार प्रभावित

फाइल तस्वीर

१४ साउन, काठमाडौं । कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् ।

डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टले जानकारी दिए ।

भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नं. ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको छ । ढुसी गाउँको चेकड्याम भत्काएर बाढी वस्तीमा पसेको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले जानकारी दिए ।

वडा नम्बर २ र वडा नम्बर ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदीको बाढी वस्तीमा पस्ने गरेको मेयर चौधरीले बताए ।

मोहनपुर, ढुसी र काँडा गाउँमा ५०–६० घरमा पानी पसेको जानकारी आफूलाई आएको डिएसपी विष्टले बताए ।

यसैगरी कैलालीकै जोशीपुर गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का वस्ती पनि डुबानमा परेका छन् । गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले खमरिया टोल, झबही, खैरेनी, हसनापुरको पूर्वी टोल, बाँणी, मैनपोखरी, बढैया, रतनपुर, मनकापुर, भित्रैया, घैला गाउँ, बौनिया गाउँलगायतका स्थान डुबानमा परेको जानकारी दिए ।

काँढा नदी, पथरैया नदी र घैला नालाको बाढी यी वस्तीहरुमा पस्ने गरेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

कैलालीमा गएरातिदेखि नै ठूलो पानी परिरहेकाले नदीहरुको बहाव बढेको छ ।

यो पनि पढ्नुहोस महाकाली किनारका बासिन्दाको चिन्ता : भारतले ढोका खोल्दिन्छ, हामी डुवानमा पर्छौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment