Comments Add Comment

एक वर्षमा नेपालबाट ६७१ विदेशी पर्यटक निष्कासित

१४ साउन, काठमाडौं । नेपालले एक वर्षको अवधिमा विभिन्न कसुरमा मुछिएका ६७१ जना विदेशी नागरिकलाई निष्कासित गरेको छ । यसमध्येको ठूलो संख्या भिसा अवधि सकिएपछि नवीकरण नगराई बसेका विदेशी नागरिकहरूको छ । अध्यागमन विभागका अनुसार सन् २०१९ मा ‘ओभर स्टे’को कसुरमा ५७८ र अन्य कसुरमा ९३ जना विदेशीलाई नेपालले सम्बन्धित मुलुकमा फिर्ता गरेको हो ।

अध्यागमन विभागका अनुसार एक वर्षको अवधिमा इरानका १९ जना नागरिक जाली राहदानी/भिसा रहेको अभियोगमा नेपालबाट निष्कासनमा परेका छन् । यो अभियोगमा नाइजेरियाका ३ जना परेको अध्यागमनको तथ्याङ्कमा उल्लेख छ । जाली भिसा लिएर आएका ३ जना बंगलादेशका, २ जना श्रींलकाका र एक/एक जना काजकिस्तान र उज्वेकिस्तानका नागरिकसमेत निष्कासनमा परेका छन् ।

विभागका अनुसार विदेशीहरू यौन दुराचार, बैङ्िकङ कसुर, विना पासपोर्ट/भिसा नेपाल प्रवेश, लागुऔषध, चौरीपैठारी, अवैध हुण्डी/विदेशी मुद्रा अपचलन, ठगी, कल बाइपासजस्ता अभियोगमा मुछिने गरेका छन् । त्यसबाहेक ओभरस्टेको संख्या भने ठूलो छ । विभागका अनुसार सुन चोरी पैठारीको अभियोगमा पक्राउ परेका चार जना चिनियाँ नागरिकलाई समेत सन् २०१९ मा नेपालबाट निकालिएको छ ।

हुण्डी र विदेशी मुद्रा अपचलन गरेको आरोपमा एक चिनियाँ नागरिक निष्कासनमा परेका छन् । रुसका ४ जना नागरिक लागुऔषध प्रयोग गरेको आरोपमा निष्कासनमा परेको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालबाट २८ वटा मुलुकका नागरिक विभिन्न कसुरमा निष्कासनमा परेका छन् । यसरी निष्कासनमा पर्नेमा इरान र अफ्रिकी मुलुकका नागरिकको संख्या धेरै छ ।

ओभरस्टे बस्नेमा अधिकांश चिनियाँ

आफ्नो भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी बस्नेमा चिनियाँ नागरिकको संख्या ठूलो छ । यो कसुरमा एक वर्षमा ४१५ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । ओभर स्टे बस्नेमा अमेरिकी नागरिक दोस्रो स्थानमा छन् । एक वर्षमा २३ जना अमेरिकनलाई नेपालले फिर्ता पठाएको छ । उत्तर कोरियाका १७ जना नागरिक ओभर स्टेको कसुरमा निष्कासनमा परेका छन् ।

बेलायतका १५ जनालाई नेपालले फिर्ता पठाइदिएको छ । पाकिस्तान र फिलिपिन्सका ८/८, मलेसिया र यमनका ५/५, उज्वेकिस्तान, रसिया, अष्ट्रेलिया, जापान, भियतनामका ४/४ जना पर्यटकलाई समेत ओभर स्टेको कसुरमा नेपालले निष्कासन गरिदिएको छ ।

सन् २०१९ मा नेपालले कुल ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटकलाई स्वागत गरेको थियो । यो संख्या नेपालको पर्यटकीय इतिहासमै सबैभन्दा ठूलो संख्या थियो । उक्त आँकडालाई छलाङ मार्दै सन् २०२० मा वाषिर्क २० लाख पर्यटक भित्राउने लक्ष्य नेपालको थियो । उक्त लक्ष्य भने कोरोना भाइरसको संक्रमणसँगै अन्त्य भएको छ ।

लकडाउन भएपछिको अवधि १४ असारयता मात्र ७३ जना विदेशीलाई नेपालले स्वागत गरेको छ । नेपालमा रहेका ६ हजार भन्दा बढी विदेशीलाई उद्धार गरी उनीहरूको मुलुकमा पठाइएको छ । अब भने १ भदौबाट सरकारले पुनः व्यावसायिक उडान खुला गर्ने निर्णय गरेको छ ।

७८५२ विदेशीले गरे भिसा नवीकरण

नेपालमा लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएपछि नेपालमै रोकिएका, विभिन्न कुटनीतिक नियोग, आयोजना तथा कार्यक्रममा कार्यरत कर्मचारी र गैरआवासीय नेपालीले १ असारमा कार्यालय खुला भएपछि भिसा नवीकरण गराएका छन् । यसरी १ असार २०७७ पछि भिसा नवीकरण गराउने विदेशी नागरिकको संख्या सात हजार ८५२ रहेको छ । जसमध्ये चार हजार ५५२ जनाको पर्यटक भिसा जारी तथा नवीकरण भएको छ ।

यस अवधिमा नाता भिसा ११७६ जनाले लिएका छन् । ७४६ जनाले कामदार भिसा लिएका छन् । ६५३ जना विदेशीले व्यावसायिक भिसा लिएको अध्यागमनको तथ्याङ्क रहेको छ । गैरआवासीय नेपाली भिसा २२२ जनाले लिएका छन् । वैवाहिक भिसा २४८ र अध्ययन भिसा लिनेको संख्या २२७ रहेको छ । आश्रति भिसा १८ जनाले लिए । आवासीय भिसा लिने ८ र अन्तरिम भिसा दिने मात्र २ जना रहेको विभागको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment