Comments Add Comment

तथ्याकंले भन्छ – कोरोनाको जोखिम टरेको होइन, झन् बढेको छ

भक्तपुरको साँगाबाट काठमाडौं प्रवेश गर्न लागेका व्यक्तिको स्वाब लिइँदै । तस्वीर : विकास श्रेष्ठ/ अनलाइनखबर

१४ साउन, काठमाडौं ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले ४० जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । तीमध्ये ८ जना आईसीयूमा छन्, एकजना भेण्टिलेटरमा । बाँकी संक्रमित पनि सामान्य अवस्थाका छैनन् ।

अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी भन्छन्, ‘सामान्य संक्रमित कोही छैनन् । अधिकांश दीर्घरोगी संक्रमित भएकाले पनि अस्पतालमा चिकित्सकहरु २४ घण्टा नै स्टाण्डबाई छन् ।’

उनका अनुसार अहिले पनि टेकु अस्पतालमा उपत्यका बाहिरबाट आएका दैनिक २ देखि ३ सय जनाको स्वाब संकलन हुन्छ। जसमध्ये औसतमा १० जना पोजेटिभ भेटिन्छन् ।

‘पछिल्लो समय अस्पतालमा लक्षण भएका संक्रमित थपिने क्रम बढ्दै छ’ राजभण्डारी भन्छन्, ‘त्यसैले प्रेसर बढेको अनुभूति भएको छ ।’

त्रिवि शिक्षण अस्पतालको अवस्था पनि टेकुकै जस्तो छ । कोरोना संक्रमितको उपचारका लागि लेभल थ्रीको यस अस्पतालमा अहिलेसम्म सिकिस्त बिरामीलाई मात्रै भर्ना गर्ने भनिएको छ।

‘हामीकहाँ अहिले ३ जना सिकिस्त बिरामी  छन्, तीमध्ये एक जना संक्रमित आईसीयूमा छन्’ त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले भने ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले ५९ जना संक्रमितले उपचार गराइरहेका छन् । तीमध्ये ३ जना आईसीयूमा छन् । आइसोलेसनमा रहेका अधिकांश संक्रमितमा कोभिड- १९  को लक्षण देखिएको छ।

‘पहिलेको भन्दा फरक किसिमका केसहरु आएका छन्’ अस्पतालका निर्देशक विष्णुप्रसाद शर्मा भन्छन्, ‘ यहाँ भर्ना भएका केसहरु हेर्दा समुदायमा जोखिम बढेको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।’

यी ३ अस्पतालमा जस्तै उपत्यकाका अन्य अस्पतालमा भर्ना भएका संक्रमितमा पनि लक्षण भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार गत वैशाख १० गतेदेखि उक्लिएको संक्रमणको रफ्तार असार २० देखि केही दिन ओरालो लाग्यो । अर्थात दैनिक भेटिने संक्रमितको सङ्ख्या पहिलाको अनुपातमा घट्दै गयो । यसको प्रमुख कारण परीक्षणको सङ्ख्या आधा भन्दा बढी मात्रामा घट्नु थियो ।

जेठको दोस्रो साता स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म दैनिक १० हजार परीक्षण गर्ने बताएका थिए । सोही लक्ष्य भेट्टाउनका लागि जेठको अन्तिम सातादेखि असारको दोस्रो सातासम्म परीक्षणको सङ्ख्या बढाइएको थियो । त्यतिबेला नै संक्रमणको ग्राफ अत्यधिक उकालो लागेको थियो ।

यद्यपि त्यतिबेला भारतबाट फर्किएर क्वारेन्टिनमा बस्नेको संख्या पनि एक लाख भन्दा माथि थियो । क्वारेन्टिनमै रहेकाहरुको परीक्षण गर्दा पनि प्रयोगशालाहरुमा धेरै स्वाब जम्मा भएको थियो ।

असार २० यता दैनिक ८ हजारको औसतमा गरेको परीक्षणको सङ्ख्या घटेर ४  हजारको हाराहारीमा आइपुग्यो । त्यसयता एक्टिभ केस घटिरहेको मन्त्रालयको तथ्यांक छ।

केही समययता संक्रमणको रफ्तार तथ्यांकमा कमजोर देखिए पनि खतरा बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । अर्थात पहिलेको र अहिलेको कुल परीक्षण र संक्रमित सङ्ख्याको अनुपातको हिसाब गर्दा संक्रमण झन् बढेको देखिन्छ ।

जस्तो कि, बुधबार ६ हजार ३७ जनाको परीक्षण गर्दा २१० जनामा संक्रमण देखियो भने हिजो मंगलबार ५ हजार ३२ जनाको परीक्षण गर्दा  ३११ जनामा संक्रमण पुष्टि भयो।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार लकडाउन कायमै रहेका बेला असार ३१ देखि साउन ६ गतेसम्म ३४ हजार ४९७ नमुनाको पीसीआर परीक्षण गरिएकामा १ हजार ४९ जनामा कोरोना पोजिटिभ देखिएको थियो । लकडाउन हटेपछि साउन ७ देखि १४ गतेसम्म २० हजार ७२ नमुना परीक्षण गर्दा १ हजार २८९ जनामा संक्रमण देखिएको छ ।

संक्रमितको तथ्यांकजस्तै पछिल्लो समय मृत्युको रफ्तार पनि बढेको छ। गएका १४ दिनमा मात्रै कोरोना संक्रमित १२ जनाले ज्यान गुमाइसकेका छन्। जबकि पहिलो मृत्यु भएको सवा तीन महिनामा मृत्यु हुनेको सङख्या ४० पुगेकै थिएन ।

पहिले क्वारेन्टिनमा बस्नेहरु (असार १५ गतेको आसपास) धेरै भएकाले संक्रमणको दैनिक सङ्ख्या अहिलेको अनुपातमा धेरै भएको जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षित बताउँछन् । उनका अनुसार अहिले कम्युनिटीबाट संकलन गरेको स्वाबमा यति धेरै पोजेटिभ देखिनु भनेको खतरा झनै बढ्नु हो ।

‘पहिले क्वारेन्टिनमा अधिकांश भारतबाट आएका मानिस थिए र त्योबेला धेरै नमुना परीक्षण गरिन्थ्यो र एकैदिनमा धेरै संक्रमित भेटिन्थे’ डा दीक्षित भन्छन्, ‘अहिले कम्युनिटीका सीमित मानिसबाट स्वाब संकलन गर्दा यति धेरै संक्रमण देखिनु भनेको सामान्य अवस्था होइन ।’

स्वास्थ्य मन्त्रालयलयले यसअघि क्वारेन्टिनको मात्रै परीक्षण गरेर यो दुर्दशा निम्तिएको डा. दीक्षित बताउँछन् । यसअघि नै मन्त्रालयलयले क्वारेन्टिनबाहेक समुदायमा पनि परीक्षण गरेको भए यो अवस्था नआउने उनको दावी छ । भारतबाट आएर क्वारेन्टिनमा बसेकाबाहेक अरुमा संक्रमण छैन भनेर सोच्नु नै सरकारको गम्भीर गल्ती भएको दीक्षित बताउँछन् ।

‘सुरुमा मन्त्रालयका अधिकारीहरु क्वारेन्टिनको तथ्यांक हेरेर मख्ख परे’ डा. दीक्षित भन्छन्, ‘अहिले क्वारेन्टिनको भन्दा दोब्बर कम्युनिटीका मानिसमा संक्रमण देखिएको छ, परीक्षणको दायरा व्यापक नबनाउनुको विकल्प नै छैन ।’

स्वास्थ्य मन्त्रालयको तथ्याकंअनुसार असारको अन्तिम सातादेखि देखिएका धेरै संक्रमितहरू क्वारेन्टिन बाहिरका हुन् ।  मन्त्रालयले जारी गरेको टेस्टिङ प्रोटोकल अन्तर्गत भेटिएका यी संक्रमितमध्ये थोरै मात्र विदेशबाट फर्किएकाहरु हुन् । कतिपय संक्रमित अन्य रोगको उपचार गराउन जाँदा भेटिएका छन् । यी मध्ये धेरैको संक्रमण स्रोत भेटिएको छैन ।

पछिल्लो समय झन् खतरा बढेको पुष्टि गर्न यिनै उदाहरण धेरै हुने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

‘परीक्षणको दायरा घटाउँदा पनि दिनहुँ केस बढ्नु पक्कै पनि राम्रो लक्षण होइन, थोरै परीक्षण गरेर धेरै संक्रमित भेटिएनन भन्नु बेतुकको कुरा हो’ संक्रामक रोग विशेषज्ञ डा. अधिकारी भन्छन्,’ खतरा टरेको होइन, झन् बढेको हो ।’

परीक्षणको दायरा नबढाउने र कन्ट्याक ट्रेसिङ चुस्त नबनाउने हो भने संक्रमण अनुमान गरेभन्दा व्यापक फैलिने डा. दीक्षित बताउँछन् । ‘योबेला राज्य निदायो भने समुदायमा संक्रमण फैलिन बेर लाग्दैन’ डा. दीक्षित भन्छन्, ‘धेरै कुरा नियन्त्रण बाहिर गइसके पनि अझै असम्भव भन्ने केही छैन ।’

समुदायमा संक्रमण फैलिएको थाहा पाउन अहिलेको परीक्षण पर्याप्त नहुने डा. अधिकारी बताउँछन् । स्वास्थ्य मन्त्रालयले मास टेस्टिङ गर्ने भनेर १० हजार मानिसको नमुना परीक्षण गर्दैमा उपत्यकाको संक्रमणको वास्तविक अवस्था थाहा नहुने उनको तर्क छ ।

‘४० लाख मानिस बसोबास रहेको शहरको १०/२० हजार जनामा परीक्षण गरेर के हुन्छ ? ‘  उनी सोध्छन्, ‘सरकारले अहिले नै खर्च धान्न नसकेर खर्च उठाएको हो भने भयावह अवस्था आउँदा झन् के होला ?’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अहिलेको उपयुक्त विकल्प मास टेस्टिङ रहेको बताउँछन् । मास टेस्टिङ गर्दा संक्रमणको वास्तविक अवस्था थाहा हुने बताउँदै उनी भन्छन्, ‘ हामी कोरोना नियन्त्रणमा गम्भीरतापूर्वक लागेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment