Comments Add Comment

प्रचण्डको पुस्तक ‘गणतन्त्रको पहिलो दशक’ बजारमा

१५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा व्यक्त विचारहरूको संगालो पुस्तकको रुपमा प्रकाशित भएको छ ।

संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचार सम्पादनपछि संग्रहित ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको हो । पुस्तकमा २०६५ सालदेखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डद्वारा व्यक्त विचार विभिन्न ४२ शीर्षकमा समेटिएका छन् ।

पहिलो संविधानसभाको चुनावमा तत्कालिन नेकपा माओवादी सबैभन्दा ठूलो दल भएपछि प्रचण्ड प्रधानमन्त्री बने । तर, सरकार ९ महिनाभन्दा बढी टिकेन । यद्यपि, दोस्रो जनआन्दोलनको समयदेखि प्रचण्ड निरन्तर सत्तानिकट छन् । प्रतिपक्षमा रहँदा निकै आक्रामक भाषण गर्ने प्रचण्डको संसदीय बहस चर्चाको विषय बन्न सक्ने आँकलन गरिएको छ ।

‘२४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ’, प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकमा ३८५ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य ५ सय रुपैयाँ राखिएको छ भने कभरमा प्रचण्डकै नाम राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment