Comments Add Comment

कोभिड नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ

१५ साउन, वीरगञ्ज । पर्सामा बिहीबार २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाएको भनिएका कर्मचारीहरु काममा नआएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

महामारीको अवस्थामा काममा विभिन्न बहानाबाजी गरेर काममा नखट्ने कर्मचारीलाई समातेर ल्याउन प्रशासनले आदेश दिएपछि उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

‘वीरगञ्ज महानगरपालिकाले कोभिडमा खटाएका कर्मचारीहरु काममा गएनछन्, प्रशासनको आदेशले २५ जनालाई नियन्त्रणमा लिएका छौं ।’ उनले भनिन् ‘ अझै ५ जनालाई खोजी गरिरहेका छौं ।’

प्रशासनले कोभिड महामारीमा खटाउन कर्मचारी माग गरेपछि महानगरपालिकाले ३० जना कर्मचारीको विवरण अस्पतालमा पठाएको थियो । जसमध्ये ४ जना जनस्वास्थ्य निरीक्षक, ११ जना सिनियर अहेब (छैटौं), ६ जना हेल्थ असिस्टेन्ट, ५ जना अहेब र ४ जना अनमी पठाएको थियो ।
तर अस्पतालबाट उनीहरुलाई सम्पर्क गर्दा कसैले पनि सकारात्मक जवाफ नदिएको तितो अनुभव नारायाणी अस्पतालका डा‍. उदय नारायाण सिंहसँग छ ।

‘केहिले हामीले काज सरुवाको पत्र बुझेकै छैनौं, किनकी पहिलाको भत्ता दिएका छैनौं, त्यसैले आउन सक्दिनौं भने । केहिले व्यक्तिगत र परिवारिक स्वास्थ्य समस्या देखाए ।’ उनले भने ‘ कोहि पनि आउन तयार रहेनछन् । त्यसपछि मेसु सर र प्रशासनलाई जानकारी गराएको हुँ ।’

नारायणी अस्पतालमा स्वाब संकलन, थप आइसोलेसन व्यवस्थापन, अस्थयी कोभिड अस्पतालमा आवश्यक जनशक्तिको अभाव छ । त्यसका लागि स्थानीय प्रशासनले महानगरपालिकासँग कर्मचारी मागेको थियो । महानगरको स्वास्थ्य महाशाखाका कर्मचारीले सहयोग गरे थप आइसोलेसन सेन्टर स्थापना गरेर सञ्चालनमा ल्याउन सकिने प्रशासनको निष्कर्ष छ ।

विपद्का बेला काम नगर्ने कर्मचारीलाई नियन्त्रणमा लिन माथिल्लो निकायबाटै आदेश भएकोले सोही अनुसार निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत बताउँछन् ।

‘महानगरपालिकाले नै ३२ बेडको आइसोलेसन सिद्धार्थ माविमा तयार गरेर राखेको छ,’ उनले भने, ‘अस्पताल र स्वास्थ्य कार्यालयसँग प्रयाप्त जनशक्ति छैन, जसोतसो भरथेग गरिरहेका छन् । महानगरपालिकासँग कर्मचारी मागेको भएपनि काम गर्न काेही पनि तयार नभएको गुनासो आयो । त्यसपछि समातेर ल्याउन भनेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment