Comments Add Comment

कैलालीमा बाढीले २ जनाको मृत्यु, एकजना बेपत्ता

भोकै छन् पीडित

१६ साउन कैलाली । अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा दुईजनाको मृत्यु भएको छ । एकजना अझै बेपत्ता छन् । काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढी बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका-८ का ३ जना बेपत्ता भएका थिए ।

भजनी नगरपालिका-८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएकोमा चौधरी र शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

चौधरीको बिहीबार र शाहीको शुक्रबार बिहान शव फेला परेको उनले बताए । बाढीको भेलमा बेपत्ता भएका ३२ वर्षीय चक्र विकको अवस्था भने अझै अज्ञात रहेको उनले जानकारी दिए ।

‘दुईजनाको शव भेटियो एकजनाको खोजी हुँदै छ,’ उनले भने, ‘अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयवासी बेपत्ता भएका युवकको खोजीमा छन् ।’

ठूलो क्षति

लगातार परेको झरीले जानकी गाउँपालिकाका वडा नम्बर ३, ७, ८, ९ का सयौँ घर डुबानमा पर्‍यो । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर-१, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परे । कैलालीको भजनी नगरपालिका- ८ को पुरै बस्ती बाढीले विस्थापित भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको जनाएको छ ।

कैलालीमा ६ हजारभन्दा बढी घर डुबानमा परेका थिए सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भने अहिले अवस्था सामान्य बन्दै गइरहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार ६ हजार ३२० घर डुबानमा परेको छ ।

जोशीपुरमा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, टीकपुरमा नगरपालिकामा ८२५ र जानकी गाउँपालिकामा १ हजार घर डुबानमा परेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए ।

अहिले टीकापुर जोशीपुर र जानकी गाउँपालिकाको अवस्था सामान्य भए पनि भजनी गाउँपालिकामा भने अझै अधिकांश नागरिक घर फर्किन सकेका छैनन् । बाढीले विस्थापित भएका उनीहरु अहिले हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

‘अहिले पनि उद्धार कार्य जारी छ,’ उनले भने, ‘डुबानका कारण विस्थापित भएकाहरू सडक तथा विद्यालयमा बसेका छन् ।’

पानीको बहाव घट्दो क्रममा रहेकाले केही व्यक्तिहरू भने घर फर्किसकेको उनले बताए ।

भोकै छन् बाढी पीडित

कैलालीको भजनी नगरपालिका- ८ को पुरै बस्ती बाढीले विस्थापित भएको छ । सयौँ परिवार अहिले पनि हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

तर त्यहाँ बसेकाहरू अधिकांशले ३ दिनदेखि खान नपाएको गुनासो गरेका छन् । चाउचाउ र चिउराले भोक मेटिरहे पनि अहिले त्यसको पनि अभाव सुरु भएको स्थानीय आस्मा चौधरीले बताइन् । उनले पिउने पानीको पनि समस्या सिर्जना भएको बताइन् । ‘घरमा पानी जमेको र अन्नपात सबै लग्यो,’ उनले भनिन्, ‘हामीलाई त खाना र पानीकै पनि समस्या हुन थाल्यो ।’

घरबाट विस्थापित भएकाहरूलाई खाद्य सङ्कट सुरु हुन थालेको छ । उनीहरूलाई खानासँगै पिउने पानीको पनि समस्या सुरु भएको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले बताए ।

‘सयौँ परिवार अहिले पनि सडकमा छन् । घर फर्किन नसक्नेहरू भनेकै छन्,’ उनले भने, ‘अहिले हामीले चाउचाउ चिउराको व्यवस्था गरेका छौँ । त्यसले मात्रै भोक मार्न सक्ने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment