Comments Add Comment

लागूऔषध कारोबारी समात्न गएको प्रहरी टोलीमाथि आक्रमण, तीन प्रहरी घाइते

१६ साउन, विराटनगर ।  लागूऔषध कारोबारीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बिहीबार राति आक्रमण भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–१ खोरैया भन्ने स्थानमा बिहीबार राति करिब साढे १० बजे आक्रमण भएको हो ।

लागूऔषध कारोबारीको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन् । लागूऔषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा पुगेको प्रहरीमाथि उनीहरुले आक्रमण गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

स्थानीय बलराम ऋषिदेवको घरमा लागूऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्री गर्ने काम भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीमाथि घरेलु हतियारसहित उनीहरुले आक्रमण गरेकाे प्रहरीले जनाएको छ । ‘सादा पोशाकका प्रहरीमाथि आक्रमण गर्दै हतियार खोस्ने प्रयास भएपछि दुई राउण्ड हवाई फायर भएको छ,’ खड्काले भने ‘ तीन जना प्रहरी घाइते भएका छन् ।’

प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा सादा पोसाकको टोली परिचालित भएको थियो । सादा पोशाकको टोलीलाई सपोर्ट गर्न थप टोली तत्काल घट्नास्थल पुगेको थियो । घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

आक्रमणबाट घाइते प्रहरी मध्ये एक जनाको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दुई जना उपचारपछि फर्किएका छन् ।

घटनामा संलग्न भएको आरोपमा ३४ वर्षीय बलराम ऋषिदेव, २६ वर्षीय देवनारायण ऋषिदेव, २१ वर्षीय वीरेन ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव र ४५ वर्षिय चन्देश्वर ऋषिदेवलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment