Comments Add Comment

युरोपको अर्थतन्त्रमा अहिलेसम्मकै ठूलो गिरावट

१६ साउन, काठमाडौं । सन् २०२० को दोस्रो त्रैमासमा युरोपको अर्थतन्त्रमा अहिलेसम्मकै ठूलो गिरावट देखिएको छ । यो अवधिमा युरोपको अर्थतन्त्रमा अघिल्लो त्रैमासको तुलनामा ११ दशमलव ९ प्रतिशतको गिरावट देखिएको हो । अघिल्लो त्रैमासको तुलनामा देखिएको यो गिरावट युरोपको अर्थतन्त्रमा देखिएको अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा सन् २०२० को दोस्रो त्रैमासमा युरोपको समग्र उत्पादन पनि १४ दशमलव ४ प्रतिशतले घटेको छ ।

यद्यपि युरोपको अर्थतन्त्रको विषयमा गरिएको व्यावसायिक गतिविद्दिधको सर्वेक्षणले भने युरोपको अर्थतन्त्र सुधारको क्रममा रहेको देखिएको छ । यद्यपि कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिने चिन्ताले भने यसलाई असर पार्न सक्ने आशंका व्यक्त गरिएको छ । साताको सुरुमा जर्मनीले आफ्नो मुलुकमा फैलिँदो क्रममा रहेको कोरोना भाइरसको दोस्रो लहरको विषयमा चिन्ता व्यक्त गरेको थियो ।

फ्रान्समा पनि कोरोना भाइरसका नयाँ संक्रमितको संख्या मुलुकमा लकडाउन खुकुलो पार्दाको अवस्थामा पुगिसकेको छ । बेलायतले सपेनबाट आउने मानिसहरुलाई अनिवार्यरुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम ल्याएको छ । यसले पछिल्लो समय सुधारको क्रममा रहेको बेलायतको पर्यटन क्षेत्रमा पुनः असर पर्न सक्ने देखिएको छ ।

२०२० को दास्रो त्रैमासमा युरोपको सबैभन्दा अर्थतन्त्र रहेको जर्मनीमा १० दशमलव १ प्रतिशतको आर्थिक गिरावट देखिएको छ । त्यस्तै, फ्रान्समा १३ दशमलव ८, इटालीमा १२ दशमलव ४ र स्पेनमा १८ दशमलव ५ प्रतिशतको गिरावट देखिएको छ ।

युरोपियन कमिसनले सन् २०२० मा युरोपको अर्थतन्त्र आठ दशमलव ३ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण अब निरन्तररुपमा लकडाउन खुकुलो हुने र कोरोना संक्रमणको दोस्रो लहर नफैलिने अनुमानमा आधारित छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment