Comments Add Comment

चिनीको स्वदेशी उत्पादन सकियो, भारतबाट ल्याउँदा महंगियो

१६ साउन, काठमाडौं । व्यापारीहरुको भुलभुलैयामा परेर सरकारले समयमै निर्णय लिन नसक्दा चाडबाडको मुखमा चिनी महंगिएको छ । काठमाडौंमा एक महिना अगाडि ८० रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले ९० रुपैयाँ पुगिसकेको छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार अहिले होलसेलमै चिनीको मूल्य ८० रुपैयाँभन्दा बढी पर्छ । स्वदेशी उत्पादन रित्तिएपछि भारतबाट सस्तोमा आयात गरिएको चिनी उपभोक्ताले महंगो मूल्यमा किनिरहेका छन् ।

खाद्य व्यवस्था र साल्ट ट्रेडिङले पठाएको विवरणअनुसार झण्डै एक हजार मेट्रिक टन चिनी मात्रै मौज्दात रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । जबकी मुलुकभरको चिनीको दैनिक माग नै दुई हजार मेट्रिक टन हो । खाद्य व्यवस्थाले खुद्रामा आफैं चिनी बिक्री गर्छ भने साल्ट ट्रेडिङले थोकमा ।

ठुला खुद्रा बिक्रेताहरुले साल्ट ट्रेडिङबाट झण्डै एक महिनादेखि नै थोकमा चिनी किन्न नपाएको खुद्रा व्यापार संघका महासचिव अमुल काजी तुलाधरले बताए ।

‘भन्सार छुटमा आयात गर्ने र बजार मूल्यमा हस्तक्षेप गर्ने सरकारी कम्पनीमा चिनी नभएपछि आयातकर्ताले मनपरी मूल्य कायम गरेका छन्, सरकारी अनुगमन पनि छैन,’ तुलाधरले भने । बजारमा सरकारी हस्तक्षेप नभएपछि चाडपर्व नजिकिने समयमा मूल्य आकासिएको उनको भनाइ छ ।

कति छ बजारमा चिनी ?

सरकारी कम्पनीजस्तै नेपाली चिनी उत्पादकसँग पनि चिनीको मौज्दात सकिएको छ । नेपाली उद्योगको गोदाममा गत सातासम्म ७ हजार मेट्रिक टन चिनी मौज्दात रहेकोमा त्यो पनि अहिले सकिएको उद्योगीले बताएका छन् ।

‘जम्माजम्मी ७ हजार मेटिक टन चिनी मौज्दात रहेको विवरण गत साता संघमा आएको थियो, तर अहिले त्यो पनि बजारमा पुगिसक्यो, अब हामीसँग चिनी छैन,’ नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले भने ।

चिनीको सम्भावित अभावलाई मध्यनजर गर्दै संघले चिनी आयात गर्न सरकारलाई लिखित निवेदन दिएरै आग्रह गरेको पनि अग्रवालले बताए ।

अर्थ–वाणिज्य पोलापोल

केही दिनअगाडि अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठायो ।

उद्योगले अर्थको सहमति जस्ताको त्यस्तै मन्त्रिपरिषद्लाई पठाएकोमा बुधबार मन्त्रिपरिषद्ले थप १० हजार मेट्रिक टन कोटा बढाएर कुल ३० हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति दुई कम्पनीलाई दिएको छ ।

जबकी उद्योग मन्त्रालयले डेढ महिनाअगाडि ५० हजार मेट्रिक टन चिनी आयातका लागि सहमति दिन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

‘सम्भावित अभावलाई मध्यनजर गर्दै हामीले मौज्दातमा चिनी बाँकी रहँदै जेठमा सहमति मागेका थियौँ, तर अर्थले लामो समय झुलायो,’ उद्योग मन्त्रालय स्रोतले भन्यो ।

‘बजारमा चिनी सकिएको र ल्याउन पनि समय लाग्ने अवस्थामा अर्थले बल्ल स्वीकृति दियो । अब हामी पनि अप्ठ्यारोमा पर्‍यौँ,’ ती अधिकारीले भने ।
अर्थका अधिकारीहरु भने वाणिज्यको सहमतिलाई मन्त्रालयले नरोकेको दाबी गर्छन् ।

‘हामीले वाणिज्यबाट माग भएअनुसार सामान्य छलफल गरेर मन्त्रीज्यूको निर्णयपछि सहमति दिइसकेका छौं, सरकारले चिनी ल्याउन सहमति दिईसकेको पनि बुझेको छु,’ मन्त्रालयका राजश्व महाशाखा प्रमुख रामेश्वर दंगालले भने । यसअघि पनि चिनी आयातका लागि वाणिज्यलाई अर्थले स्वीकृति दिइसकेको आफूले जानकारी पाएको पनि दंगालले बताए ।

सस्तोमा ल्याउदै महंगोमा बेच्दै

विश्वमा नै धेरै चिनी उत्पादन गर्ने मुलुकमध्येमा पर्छ भारत । चिनीको अन्तर्राष्ट्रिय बजारमा हस्तक्षेप गर्न भारतले निर्यातमा प्रतिकिलो साढे सात भारु अनुदान दिन्छ । केही समयअघि यस्तो अनुदान ११ भारु थियो । भारत सरकारले चिनीको फ्याक्ट्री मूल्य ३१ रुपैया तोकेको छ ।

भारतबाट नेपाली व्यापारीले प्रतिकिलो २५ भारुमा चिनी खरिद गरिरहेको स्रोत बताउँछ । प्रतिकिलो २५ भारु अर्थात ४० रुपैयाँ नेपालीमा आयात गरिएको चिनी अहिले नेपाली उपभोक्ताले ९० रुपैयाँ किलोसम्म तिरेर खाइरहेका छन् । आयातीत चिनीमा सरकारले ४० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भ्याट लगाउँछ । त्यो भनेको भन्सार महशुल बापत १६ रुपैयाँ र भ्याटवापत ५ रुपैयाँ २ पैसा प्रतिकिलो ४० रुपैयाँँमा जोडिन्छ ।

यसरी हेर्दा भारतबाट आयात भएको चिनीको लागत मूल्य प्रतिकिलो भन्सार विन्दुमा ६१ रुपैयाँ २ पैसा हुन्छ । आयात प्रक्रिया र ढुवानी शुल्क अन्य खर्चको तुलनामा कम हुने भएकाले प्रतिकिलो चिनीको मूल्य ९० रुपैयाँ कसै गरी हुनै सक्दैन । तर यसबारे सरकारी कुनै पनि निकायले अध्ययन नगरेको खुद्रा व्यवसायीहरु बताउँछन् ।

‘होलसेलबाट मनपरी भाउले हामी नै ठगिएका छौँ, तर वाणिज्य विभागले हामीजस्ता साना व्यपारीलाई नै कालोबजारीको आरोपमा थुन्छ,’ नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले भने ।

भन्सारको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा सरकारी भन्सार छुट सुविधाबाहेकमा दुई करोड ६४ लाख ८४ हजार किलो चिनी नेपालगन्ज नाका भएर नेपाल भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment