Comments Add Comment

पर्सामा १९ साउनदेखि निषेधाज्ञा, सेना पनि परिचालन हुने

१८ साउन, वीरगञ्ज । पर्सामा १९ साउनदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिकामा मात्रै निषेधाज्ञा लगाइएकोमा पछिल्लो परिस्थितिको विश्लेषण गर्दै जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिवार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पर्सामा साउनमा मात्रै ११ जना संक्रमितको मृत्यु भएको छ । पर्याप्त आइसोलेसन सेन्टर नहुँदा अधिकांश संक्रमितलाई घरमै राखिएको छ । लक्षण सहितका संक्रमितलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने नीति अख्तियार गरिएको छ । होटलमा पेड आइसोलेसनको व्यवस्था पनि मिलाईएको छ ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

के–के गर्न पाइँदैन

अब साउन १९ गते बिहान ५ बजेदेखि पर्सा जिल्ला भरी निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइने छैन ।

शान्ति, सुरक्षा, सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, ड्राईपोर्ट, बैंक (भन्सार, आईसीपी, ड्राइपोर्टमा रहेकामात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग र व्यवसाय बन्द गरिने छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने साधन, अत्यावश्यक मालसामान ढुवानीका साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । छिमेकी देश भारतसँग सिमाना जोडिएका नाकाहरु तथा खुल्ला सिमानाको जुनसुकै स्थानबाट मानिसहरुको आवागमन रोक्ने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको छ ।

कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त  स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनासमेत परिचालन गर्ने प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको पालना नगर्ने काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

‘कोभिड १९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । यो आम जनताको जीवन रक्षाको लागि हो,’ उनले भने, ‘नागरिकले निषेधाज्ञा पूर्ण पालना गरेको खण्डमा मात्रै कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न सकिन्छ । ’

वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी भएको ६ दिन वितिसकेको छ । नगरबासीले अत्यावश्यक बस्तुको आपूर्ति हुन नसक्दा मर्कामा परेको गुनासो गरिरहेका छन् । अत्यावश्यक वस्तु आपूर्तिका सम्बन्धमा केहिदिन भित्रै निर्णय गर्ने सहायक प्रजिअ बस्नेतले बताए ।

‘निषेधाज्ञाका कारण अत्यावश्यक बस्तुको आपूर्ति बन्द छ । त्यसले आम सर्वसाधारण मर्कामा परेको गुनासो हामीकहाँ पनि आएको छ,’ उनले भने, ‘जनै पूर्णिमा अघि बजार खोल्दा भिडभाड बढी हुने र संक्रमण फैलने जोखिम हुन्छ । त्यसपछि आवश्यक प्रबन्ध मिलाउनुपर्छ भन्ने सोचेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment