Comments Add Comment

विराटनगरमा कोशी अस्पतालका नर्स र नापी कार्यालयका कर्मचारीमा कोरोना

१८ साउन, विराटनगर । विराटनगरपमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका, दुई स्टाफ नर्स, दुई नापी कार्यालयका कर्मचारीसहित ४ महिला र ८ पुरुष छन् ।

आइतबार कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा दुई जना कर्मचारीमा संक्रमण पुष्टि नापी कार्यालय विराटनगरका निमित्त प्रमुख गणपति साहले जानकारी दिए ।

उनका अनुसार नापीबाट पाँच जनाको स्वाब संकलन गरिएको थियो । संक्रमितमध्ये एक जना नापी कार्यालयका सुरक्षा गार्ड हुन् । एक जना राजस्व फाँटका खरिदार हुन् ।

अब नापी कार्यालयका सबै कर्मचारीको जाँच गर्न महानगरपालिकालाई भनेको र भोलिदेखि कार्यालय बन्द हुने साहले जानकारी दिए ।

कोशी अस्पतालका दुई नर्समा कोरोना

आइतबार विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका १२ जनामध्ये तीनजना कोशी अस्पताल विराटनगरका कर्मचारी रहेको पाइएको छ ।

मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार संक्रमण पुष्टि भएकामध्ये दुई जना नर्स र एकजना सफाइ कर्मचारी हुन् ।

बिहीबार बहिरंग सेवाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालले आफ्ना दुईसय कर्मचारीको पीसीआर जाँच गरेको थियो । पिसीआर जाँच गर्दा शुक्रबार ४ जना र आइतबार तीनजनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

मेसु दासका अनुसार कोशी अस्पतालमा कार्यरत ८ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबारयता कोशी अस्पतालको ओपिडी सेवा बन्द छ ।

महानगरको सूचनाले हैरान

विराटनगर महानगरपालिकाले सोमबार जिल्ला कारागार मोरङमा दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको बताएको थियो ।

कोशी अस्पताल विराटनगरले पठाएको रिपोर्टमा पनि ३० र ३२ वर्षका पुरुषको ठेगाना विराटनगर कारागार लेखिएको छ । तर कारागार प्रशासनले भने दुई जना संक्रमित कारागारका कर्मचारी र कैदी बन्दी नै नभएको बताएको छ ।

‘कारागारको भनेर जानकारी आएपछि हामीले खोजी ग¥यौं’ जिल्ला कारागार मोरङका निमित्त प्रमुख रामप्रसाद पोखरेलले भने ‘महानगरले भनेको नाम गरेका कर्मचारी र कैदी बन्दी नै छैनन् ।’

कारागारका भनिएका दुई जना प्रहरी कर्मचारी रहेको खुले पनि उनीहरुको कन्ट्याक ट्रेसिङ भइरहेको महानगरले जनाएको छ । आइतबार १२ जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

आइतबार नै मोरङमा १६ र सुनसरीमा ११ सहित प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment