Comments Add Comment

पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

१९ साउन, वीरगञ्ज । पर्सामा पत्रकार, नेपाली सेना, नेपाल प्रहरी र सर्वसाधारणसहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६९ जना पर्साका, ३ जना बाराका र एक जना भारतका नागरिक छन् ।

योसँगै पर्सामा जम्मा संक्रमितको संख्या ६ सय ८ पुगेको छ । स्वास्थ्य कार्यालय पर्साले १८ साउनमा तयार पारेको रिपोर्ट अनुसार नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा ६१ जना, वीरगञ्ज हेल्थ केयरमा ११ जनालाई राखिएको छ । त्रिजुद्ध माविमा १५, वीरगञ्ज कारागारमा १२, सिद्धार्थ स्कुलमा २१, वगही प्राथमिक स्वास्थ्य केन्द्र पर्सागढीमा ४, होटल विजय ज्योतीमा ३, सखुवा प्रसौनीमा २ र पटेर्वासुगौलीमा ४ जनालाई राखिएको छ ।

६१ जनालाई राखिएको ठाउँ सेमीआइसोलेसन सेन्टर मात्रै हुन् । संक्रमितको संख्या बढ्दै गएपछि लक्षण सहितका संक्रमितलाई मात्रै अस्पताल राख्ने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । अन्य संक्रमितलाई सेमीआइसोलेसन र होमआइसोलेसनमै राखिने भनिएको छ । १ सय ९३ जना अझै आइसोलेसन सेन्टर बाहिर छन् ।

वीरगञ्जमा १ सय ४२, सखुवाप्रसौनीमा २, बहुदरमाई, छिपहरमाई, जगरनाथपुर र पोखरियामा १÷१ जना संक्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसन भनिए पनि मापदण्ड अनुसार भए/नभएको अनुगमन गर्ने संयन्त्र बनाएर परिचालन गरिएको छैन ।

आइतबार ४ सय ९० जनाको थ्रोट स्वाब नमुना परीक्षण गर्दा ६१ जना पुरूष र १२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले बताए । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ७७ वर्षकी वृद्धासमेत छन् ।

आइतबार राति संक्रमण पुष्टि भएका ७३ जनाहरु पत्रकार, सुरक्षाकर्मी, मास ट्रेसिङ, एक घर एक परीक्षण, कन्ट्याक्ट ट्रेसिङमा परेका, क्वारेन्टिनमा बसेकाहरु रहेको डा उपाध्यायले बताए । श्रीपुर स्कुलमा मास ट्रेसिङमा स्वाब दिएका २६ जना, रेल्वे स्कुलमा एक घर एक परीक्षणका क्रममा नमुना दिएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तैगरी मारुती फर्माका १ जना भारतीयसहित ३ जना, नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पत्रकार १ जनामा कोरोना संक्रमण देखिएको छ । साउन ८ गतेदेखि १७ गतेसम्म गरिएको स्वाब संकलनको नतिजा निकालिएको हो । अझै ५ सयभन्दा बढी स्वाब नमुना परीक्षण गर्न बाँकी रहेको नारायणी अस्पताल पीसीआर ल्याबले जनाएको छ ।

संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा जिल्लाभर विस्तार गरिएको हो ।

यो पनि पढ्नुहोस काठमाडौंले वीरगञ्जबाट के सिक्नुपर्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment