Comments Add Comment

आधुनिकतामा हराउँदै चाडपर्व

आज जनै पूर्णिमा, क्वाटी खाने दिन, रक्षा बन्धन र संस्कृति दिवस पनि । श्रावण महिनालाई चाडवाडको महिना मान्न सकिन्छ ।  साउने सक्रान्तीबाट सुरु हुने महिना शिवको उपासनाको महिना पनि हो ।

पछिल्लो समय भने हामी आधुनिकताको बाहानामा चाडपर्वलाई उपेक्षा गर्न थालेका छौं । चाडपर्व मनाउनुलाई आडम्बर वा ढोंग भन्ने मानसिकता पनि व्यापक बन्दै गएको छ । तर, बेलामौकामा आउने चाडपर्वले हामीलाई बेग्लै खुसी, उर्जा र उमंग दिन्छ ।

अहिले हामी चाडपर्व त मनाएको जस्तो गर्छौं, केवल अरुलाई देखाउनका लागि । अर्थात चाडपर्व मनाए जस्तो गरेर फोटो खिच्ने, सामाजिक संजालमा पोस्ट गर्ने प्रवृत्ति मौलाएको छ । मानौं चाडपर्व भनेकै फोटो खिचेर अरुलाई देखाउनका लागि भनेजस्तै भएको छ । यसबाट एउटा कुरा भने फाइदा मिलेको देखिन्छ । देश–विदेशमा भएकाहरुलाई फलानो चाड कहिले भनेर चासो हुन थालेको छ र सामाजिक संजालमा फोटो देखेरै चाडपर्वबारे हेक्का राख्न थालिएको छ । यद्यपि चाडपर्वको आफ्नै विशिष्ष्ठ महत्व हुन्छ । हरेक चाडपर्वले कुनै न कुनै रुपमा मानव समाजलाई एकढिक्का बनाउने, आपसी सद्भाव र प्रेम जगाउने काम गर्छ । झट्ट हेर्दा चाडपर्व ढोंग वा आडम्बर लागेपनि यसको आफ्नै मर्म र विशेषता हुन्छ । चाडपर्वको अर्थपूर्ण र वैज्ञानिक महत्व हुन्छ ।

यसो भनिरहँदा के लाग्न सक्छ भने, म निकै धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । म एकदमै आस्तिक होइन, न नास्तिक नै । यद्यपि यहाँ मैले आफ्नो भोगाई र बुझाई लेख्न खोजेकी हुँ ।

अक्सर हामी काम, करियर, परिवारको चक्करमा दैनिक यस्तो दौडधूपमा हुन्छौं कि आफैलाई भुलिरहेका हुन्छौं । पैसा, करियर, प्रतिष्ठा, सम्पतिको पछाडि दौडिएर हामीले आफ्नै जीवनको मूल्य भुलिरहेका हुन्छौं । सामाजिक मान्यता र मूल्यलाई लत्याइरहेका हुन्छौं । जबकी चाडपर्वले हामीलाई यस्तो धपेडीपूर्ण जीवनबाट आलग गराएर केही समय भएपनि विश्राम दिलाउँछ । जीवनको मूल्य बोध गराउँछ । समाज र संस्कृतिसँग एकाकार गराउँछ ।

खासमा त चाडपर्वले हामीलाई मानसिक र भावनात्मक रुपमा बलियो बनाउन मद्दत गर्छ । मनलाई सधै उत्साहित बनाइराख्छ । शरीरलाई उर्जा प्रदान गरिरहन्छ । आज जनै पूर्णिमा भन्नसाथ हाम्रो मन, मस्तिष्कमा  क्वाटि खानु पर्छ भनेर उत्साहित हुदै गेडागुडी भिजाएर उमार्न सुरु ग¥यौं । जुन समय तपाईंको मनमा आउने उर्जालाई नै आनन्द मान्न सक्नु हुनेछ । मान्नुस नमान्नु भोलि पुरोहित  भएको ठाउँमा गएर डोरो बाध्नु छ जनै लगाउनु छ भनेर अघिल्लै दिनबाट उत्साहित हुनु हुनेछ । दाजुभाईलाई राखी लगाएर माग्ने गिफ्टको वारेमा कति दिन अगाडी देखि नै उत्साहित हुन पाईन्छ ।

कहिले काहीँ  मनाउने यस्ता सामान्य चाडपर्वको हामीले महत्व बुझ्ने मात्र हो भने पनि हाम्रो एक दिन मात्र किन नहोस् त्यसैलाई नै महत्वपूर्ण बनाउन सक्छौं ।

मलाई  बाल्यकालमा फर्कन मन लाग्यो । नाग पन्चमी, रक्षा बन्धन जस्ता चाडपर्वका दिनमा घरमा पुरोहित आउने भनेर मेरो हजुरबुबा हजुरआमाहरु विहानै उठेर नुहाईधुवाई पुरोहितलाई दिने सिदाको तयारीसाथ पुरोहितको प्रतिक्षा गर्नुहुन्थ्यो  ।  त्यसो त पुरोहितको प्रतिक्षा हाम्रो घरमा मात्र हैन हाम्रो गाउँमा नै हुन्थ्यो । पुरोहित आएर टिका लागाएर उहाँबाट पाउने आशिर्वादले उज्यालो हुन्थ्यो हाम्रो अनुहार । अझ पुरोहितले बाँधिदिएको त्यो डोरिले त सम्पूर्ण समस्याबाट रक्षा गर्छ भन्ने विश्वास थियो हामीलाई किनभने रक्षा बन्धन हो जविधीपूर्वक मन्त्रोच्चाहरण गरेर बाधिदिने गर्थे ।

झट्ट हेर्दा रुढीबादी जस्तो लाग्न सक्ला । तर, यसले हामीलाई भावनात्मक रुपमा बलियो बनाउँछ । सुरक्षित अनुभूत गराउँछ । यसले हाम्रो आत्ममनोबल उकास्न पक्कैपनि सहयोग गरेको हुनुपर्छ । यस्तो संस्कार–संस्कृतिले हामीलाई सकारात्मक उर्जा दिन्छ, समाजलाई एकढिक्का बनाउँछ । तर, अहिले चाडपर्वको विधीविधान भुल्दै गइएको छ । डोरा लगाउने कुरा पनि विधीपूवर्क भएजस्तो लाग्दैन । सबैकुरा कृतिम र देखावटी हुँदै गएको हो कि जस्तो लाग्छ । हामी आधुनिकताका नाममा कता जादैछौ हामीले अलिकति पनि हेक्का राखेका हुदैनौ । जसले गर्दा आधुनिकताका नाममा हाम्रो मौलीक सस्कति मासिदै गईरहेको छ  ।

हाम्रो समाजको सन्दर्भमा चाडपर्वको महत्व

पश्चिमेली संस्कृति अपनाउने क्रममा हामीले कति  आफ्नो सस्कृतीको बहिस्कार गर्दै गईरहेका छौ । हाम्रो समाजले मनाउदै आएका सस्कृती सबै नराम्रा छन् भन्ने हुदैन । सबै सस्कृतीका आ आफ्नै महत्वहरु रहेका छन् ।हरेक चाडपर्वको आफ्नै विशिष्ठ महत्व हुन्छ । मौसमी चक्र अनुसार आउने चाडपर्वले हामीलाई जीवनभर उत्साहित बनाउन मद्दत गर्छ । सामाजिक मूल्यबोध गराउँछ ।

मैले चाडपर्व मनाइरहँदा महसुष गरेको कुरा के भने, जब कुनै चाडपर्व मनाउने कुरा हुन्छ हामीमा बेग्लै उत्साह र उमंग पैदा हुन्छ । चाडपर्वकै लागि हामी अनेक तयारी गर्न थाल्छौं, जाँगरका साथ । चाडपवकै कुराले हामीलाई प्रफुल्लित बनाइराख्छ । भनौं, जीवनभर हामीले गुमाउँदै गरेको खुसी फर्काउनका लागि चाडपर्वको खास भूमिका रहन्छ । त्यसैगरी चाडपर्वले हामीलाई कुनै न कुनै नैतिक शिक्षा दिलाउँछ, सामाजिक एकताको भावना जगाइदिन्छ, मानविय मूल्यको बोध गराउँछ । हरेक चाडपर्वको विधी विधान आफैमा वैज्ञानिक समेत हुनेगर्छ, यदि त्यसलाई सुक्ष्म रुपमा मनन गर्ने हो भने ।

त्यसो त हाम्रो मौलिकता, आफ्नोपन पनि यही चाडपर्वभित्र समेटिएका हुन्छन् । हामी नेपाली हौं भन्नका लागि हाम्रा चाडपर्वले पनि एउटा विशिष्ठ चिनारी दिलाएको हुन्छ । हाम्रो संस्कार, संस्कृतिले नै हामीलाई आफ्नो पहिचान दिलाउँछ । कला संस्कृति चाडपर्वको सम्मान गरौ । आज संस्कृति दिवसको सबैमा शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment