Comments Add Comment

वीरगञ्जको पीसीआर ल्याबमा जोडियो अटोमेटिक मेसिन

निर्मलीकरणका लागि सोमबार प्रयोगशाला बन्द

१९ साउन, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतामा रहेको कोरोना परीक्षण गर्ने  प्रयोगशालामा अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन जडान गरिएको छ । ९६ बेलको यो मेसिन जडानपछि प्रयोगशालामा थाेरै समयमा धेरै स्वाब नमुना परीक्षण गर्न सकिने प्रयोगशालाका कर्मचारी बताउँछन् ।

मेसिन जडान गरेपछि तीन दिनयता उक्त प्रयोगशालाले क्रमशः ४ सय ६६, ४ सय ९० र ४ सय ९२ वटा स्वाब नमुना परीक्षण गरेको छ ।  त्यसअघि प्रयोगशालाका कर्मचारीले २० घण्टा खटेर काम गर्दा पनि २ सयदेखि २ सय ५० स्वाबको मात्र परीक्षण हुन्थ्यो ।

९६ बेलको अटोमेटेड आरएनए एक्स्ट्रयाक्सन मेसिन आएपछि छिटो रिपोर्ट दिन सकिएको नारायणी अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिए । ‘ सबैभन्दा बढी समय आरएनए एक्सट्रयाक्सनमा लाग्ने हो, त्यसका लागि मन्त्रालयबाट ९६ बेलको आरएनए एक्सट्रयाक्सन मेसिन ल्याउन सफल भएका छौं,’ उनले भने, ‘२० घण्टासम्म खट्ने ल्याबका जनशक्तिलाई केही सहज महसुस भएको छ र हामीले पनि रिपोर्ट धेरै र छिटो दिन सकेका छौं ।’

अहिले नारायणी अस्पतालले आईसीयूमा भर्ना हुनुपर्ने बिरामी,  मृतक र भीआईपी व्यक्तिको एकैदिनमा रिपोर्ट दिने गरेको छ ।

मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ । प्रयोगशाला प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. नीरा पाठकका अनुसार संकलित स्वाब नमुनालाई परीक्षणका लागि ४ वटा प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । भाइरसको सबैभन्दा सुक्ष्म भनेकोआरएनए हुन्छ । सबैभन्दा पहिले र्‍यालबाट भाइरसको आरएनएलाई छुट्याउनुपर्छ । अटोमेटेड आरएनए एक्स्ट्रयाक्सन मेसिनले अब त्यो काम गर्छ ।

ल्याब प्रमुख पाठकका अनुसार आरएनए एक्सट्रयाक्सनमा समय बचत भएपनि अन्य प्रक्रियामा भने उति नै समय लागिरहेको छ ।

‘पहिले आरएनए एक्सट्रयाक्सन गर्न ५ घण्टा लाग्थ्यो, अहिले एक घण्टामा ९६ वटा आरएनए एक्सट्रयाक्सन भइरहेको छ,’ उनले भनिन्, ‘आरएनए एक्सट्रयाक्सन डबल गर्न सफल भएका छौं तर तेस्रो र चौथो प्रक्रिया मास्टर मिक्सिङ र पीसीआर इन्टरप्रिटेसनको पार्टमा समय लागि नै हाल्छ ।’

ल्याब निर्मलीकरण गरिने

प्रयोगशालामा बेलुका आएको १ सय ५० वटा स्याम्पल मात्रै आरएनए एक्सट्रयाक्सन गर्न बाँकी छ । मास्टर मिक्स र पीसीआरका लागि ३ सय स्याम्पल तयारी अवस्थामा छ ।

सोमबार ल्याबलाई निर्मलीकरण गर्ने तयारी गरिएको छ । त्यसका लागि ल्याबको काम सबै बन्द गर्नुपर्ने हुन्छ । फुमिगेसन र डिसइन्फेक्सन गर्नुपर्ने भएकोले सोमबार ल्याब बन्द गर्न लागिएको ल्याब प्रमुख डा पाठकले बताइन् ।

‘हिजोको केही काम पेन्डिङ छ, त्यसलाई सक्काएपछि ल्याब बन्द गर्छौ,’ उनले भनिन्, ‘ फुमिगेसन र डिसइन्फेक्सन गर्नैपर्ने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment