
१९ साउन, काठमाडौं । वाणिज्य विभागले कालीमाटी तथा कुलेश्वर क्षेत्रमा रहेका दुई वटा खाद्य गोदाम सिल गरेको छ ।
कालीमाटीको एएसएस मार्केटिङ र अर्को एक खाद्य भण्डारमा चिनी शंकास्पद भण्डारण पाईएपछि सिल गरिएको विभागले जनाएको छ ।
एएसएस मार्केटिङमा भेटिएको १६ क्विन्टल चिनीको खरिद गरेको विवरण र बिक्रीको बिबरण नमिलेको देखाइएको र गोदाममा हेर्दा चिनीको मात्रा नमिलेकाले प्रहरीको रोहवरमा गोदाम सिलबन्दी गरिएको विभागका निर्देशक एवम् अनुगमन शाखा प्रमुख सागर मिश्रले बताए ।
त्यस्तै विभागले अर्को एक गोदाममा चिनी भेटिएको तर गोदाम धनी सम्पर्कमा नआएपछि उक्त गोदामलाई पनि सिल गरेर धनीलाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको विभागको भनाइ छ ।
विभागले मूल्यसूची नराखी तरकारी बिक्री गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारको दुई वटा तरकारी पसललाई पाँच पाँच हजार जरिवाना गराएको छ ।
मूल्य सूची नराखी मनोमानी मूल्यमा तरकारी बिक्री गरेको पाइएपछि कारबाही गरिएको विभागको दावी छ । यस्तै बजारमा व्यासायीक आचरण पालना नगरेका अर्को दुई वटा पसललाई विभागले सचेत गराएको छ ।
बजारमा चिनीको अभाव तथा तरकारीमा अस्वभाविक रुपमा मूल्य बढाइएको गुनासोपछि अनुगमन तीव्र पारिएको विभागका प्रवक्ता एवं निर्देशक रवीन्द्र आचार्यले बताए ।
प्रतिक्रिया 4