२० साउन, जाजरकोट । कुशे गाउँपालिका-५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ ।
सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा मृत्यु भएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए । उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।
त्यस्तै डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका- ९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका-५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकी छिन् ।
घाइते बिसीलाई बारेकोट गाउँपालिकाको दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ । घाइते बिसीको अवस्था गम्भीर भएको दल्लीस्थित नगर अस्पताल जनाएको छ ।
प्रतिक्रिया 4