Comments Add Comment

नाकामा झण्डै ११ हजारको परीक्षण गर्दा ४० जना संक्रमित

२० साउन, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने तीन मुख्य नाकामा संकलन गरिएको झण्डै ११ हजार स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नाकामा ६ हजार ६४, फर्पिङ नाकामा १ हजार ३०७ र भक्तपुरको साँगामा ३ हजार ४८२ जना गरी १० हजार ८५३ जनाको स्वाब संकलन गरिएको थियो ।

यो सबै परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

अहिले नाकामा स्वाब संकलन गर्न छोडिएको छ ।

नाकाबाट लुकछिपी छिरेर संक्रमण पुष्टि भएका मानिसको सङ्ख्या यो भन्दा बढी रहेको इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाको निर्देशक डा.  वासुदेव पाण्डे बताउँछन् । उनका अनुसार उपत्यकामा पछिल्लो समय देखिएका अधिकांश संक्रमित उपत्यका बाहिरका नै हुन् ।

‘काठमाडौंमा स्वाब दिएका अधिकांश बारा, पर्सा, रौतहट, कैलाली र भारतको सितामडीबाट आएको देखिएको छ’ डा. पाण्डेले भने, ‘त्यसैले सरकारले नयाँ रणनीति बनाउनको लागि छलफल गरिरहेको छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लो पटक उपत्यकामा देखिएको संक्रमणले जोखिम बढ्दै गरेको संकेत दिएको बताउँछन् ।  सोही कारण नयाँ रणनीति अपनाउने तयारी भइरहेको उनको भनाइ छ । उनले भने ‘अब सरकारले मात्र होइन जनता पनि सचेत हुनुपर्‍यो, हामीले सक्नेसम्म त गरिरहेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment