Comments Add Comment

रौतहटमा संक्रमित वडाध्यक्षको कन्ट्याक ट्रेसिङ गर्दा ४ जनामा कोरोना

२० साउन, रौतहट । रौतहटमा कोरोना संक्रमित वडाध्यक्षको कन्ट्याक ट्रेसिङ गर्दा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । साउन ११ गते रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा संक्रमण पुष्टि भएको थियो । काठमाडौं जानका लागि परिक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको थियो ।

उनको कन्ट्याक ट्रेसिङको आधारमा १७ जनाको शनिबार स्वाब संकलन गरी हेटौंडा पठाइएकोमा मंगलबार ४ जनामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए । साहका अनुसार संक्रमित हुनेमा राजदेवी नगरपालिकाका २४ वर्षीय दुई जना र ४० वर्षीय दुई जना पुरुषहरु छन् ।

उनका अनुसार मंगलबार चन्द्रपुर नगरपालिकामा एक जना र गौर-५ का २४ वर्षीय एक युवकमा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्ये एक जनालाई  चन्द्रपुरमा रहेको आइसोलेसन र ५ जनालाई गरुडाको विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा राखिने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

संक्रमित पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु भइसकेको प्रजिअ घिमिरेले बताए ।

सोमबार मृत्यु भएका इशनाथ-५ जटहराका वडाध्यक्षको परिवारका १६ जना र जिल्ला कारागारमा रहेका १४ बन्दीको मंगलबार स्वाब संकलन गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख साहले बताए ।

रौतहटमा अहिलेसम्म आइसोलेसनबाट १ हजार ३ सय २१ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किसकेका छन् । जिल्लामा रहेको २ आइसोलेसन मध्ये विर्तामा ४ जना र चन्द्रपुरमा एकजना उपचारका क्रममा रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment