Comments Add Comment

बुटवल उपमहानगरले घर भत्काइदिएकामा कांग्रेस नेता खाँडको आपत्ति

२१ साउन, बुटवल । अदालतमा पेशी तोकिएको दिन बिहानै बुटवल उपमहानगरपालिकाले विवादित घरमा डोजर चलाएर भत्काएकामा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आपत्ति जनाएका छन् ।

उपमहागरको निर्देशनमा साविक वडा नं ११ (हाल वडा नंं. ९) कालिकापथमा रहेको खिमबहादुर हमालको घर बुधबार बिहानै सुरक्षा घेरामा भत्काइएको थियो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका रुपन्देहीका सांसद खाँडले विज्ञप्ति जारी गर्दै मुद्दाको किनारा नलागेको घर पेशी तोकिएकै दिन डोजर चलाएर भत्काउनु निन्दनीय भएको बताए ।

मुद्दाको किनारा नलाग्दै बल प्रयोग गरी व्यक्तिको घर भत्काइएको कार्यले अदालतको अपमान र व्यक्तिको नैसर्गिक अधिकारप्रति कुठाराघात भएको खाँडले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

वि.सं. २०४६ सालमा बुटवल नगर पञ्चायतबाट नक्सा पास गराई हमालले घर निर्माण गरेका र आर्थिक वर्ष २०७६÷७७ सम्म उक्त घरजग्गाको भूमि कर र सम्पत्ति कर बुटवल उपमहानगरपालिकामा निरन्तर बुझाउँदै आएको जानकारी हुंदाहुंदै उपमहानगरपालिकाले न्यायालयको निर्णय पर्खिने धैर्यता समेत नगर्नु कानून विपरीत भएको खाँडले उल्लेख गरेका छन् ।

उपमहानगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा बुधबार बिहान ६ बजे नै हमालको घर भत्काइदिएको हो । घरमा मान्छे सुतिरहेका बेला बाहिर निस्कन समेत नभनी एक्कासी अमानवीय र आपराधिक हिसाबले घर भत्काएर उपमहानगरपालिकाले ज्यादती गरेको हमालले गुनासो गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बुटवल नगर अध्यक्ष बाबुराम पन्थी र नेकपाकै कार्यकर्ता रहेका ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले हिजो साँझ ७ बजे आफूलाई भेटेर अदालतमा गएर मुद्दा फिर्ता लिन र वडा कार्यालयमा क्षतिपूर्तिका लागि निवेदन दिन आग्रह गरेको हमालले बताएका छन् । त्यसको भोलिपल्ट एकाबिहानै मान्छे सुतेका बेलामा घरमा डोजर चलाउनुले असुरक्षाको महसुस भएको हमाल बताउँछन् ।

कालिकापथ सडकलाई ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरेपनि अटेर गरेपछि डोजर चलाउनुपरेको बुटवल उप–महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

यो पनि पढ्नुहोस मुद्दाको सुनुवाइ हुनु अगावै बुटवल उपमहानगरले भत्काइदियो घर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment