Comments Add Comment

यस्ता छन् मदन पुरस्कार सूचीका ७ पुस्तक

२१ साउन, काठमाडौं । बुधबार मदन पुरस्कार गुठीले २०७६ को मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक गरेको छ । गुठीले वर्षभरि प्रकाशित भएका १ सय ५१ पुस्तकबाट अन्तिम सात पुस्तकलाई सार्वजनिक गरेको हो । यीमध्ये एउटा कृतिले यो वर्षको मदन पुरस्कार प्राप्त गर्ने छ ।

२०१३ सालमा मदनशमशेर जबराको नाममा स्थापना भएको यो पुरस्कारलाई नेपाली साहित्यको विशिष्ट पुरस्कार मानिन्छ । अहिले चार लाख रुपैयाँ राशीको यो पुरस्कार वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट एउटालाई दिइन्छ ।

यो वर्ष सूचीकृत सात पुस्तकको कस्ता छन् ?

१. जोकरको बन्दुक

पाँच दशकदेखि कविता लेखनमा सक्रिय विमल निभाको तेस्रो कवितासंग्रह ‘जोकरको बन्दुक’मा लोकतन्त्र प्राप्तीपछि लेखिएका कविता बढी छन् । कविता र व्यंग्य लेखका लागि चिनिएका विमल निभा मूलतः माक्र्सवादी कवि हुन् । उनको तीन कवितासंग्रह र तीन व्यंग्यसंग्रह प्रकाशित छ ।

राजनीतिक विसंगतिका कविताको बाहुल्य रहेको ‘जोकरको बन्दुक’ सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

२. धर्सैधर्साको चक्रब्यूह

पोखराका तीर्थ श्रेष्ठ कवि र गीतकारका रुपमा परिचित छन् । चार दशकदेखि कविता र गीत लेखनमा सक्रिय श्रेष्ठका कविता प्रकृति र सिर्जनासँग बढी जोडिएका हुन्छन् । ‘धर्सैधर्साको चक्रब्यूह’ मा श्रेष्ठले जीवनकालमा लेखेका चुनिएका कविता संग्रहित छन् । संग्रह नेपालय पब्लिकेसनले प्रकाशन गरेको हो ।

३. परित्यक्ता

कथाकार भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’ नारी अस्तित्वमाथि केन्द्रित उपन्यास हो । कथा, निबन्ध र उपन्यासमा समानान्तर रुपमा कलम चलाउने ढुंगाना चार दशकदेखि लेखनमा सक्रिय छिन् । उपन्यास नेपालय पब्लिकेसनले प्रकाशन गरेको हो ।

४. महारसनिघण्टु (खण्ड १–३)

ऐतिहासिक धर्म र संस्कृतिको जगमा लेखिएको आयुर्वेदसम्बन्धी पुस्तक अनुसन्धानमा आधारित छ । चिकित्सापद्धतिलाई प्राचीनतम अध्ययनद्वारा प्राप्त ज्ञानका आधारमा संसारमै आयुर्वेदीय स्वास्थ्यसेवालाई गतिशील बनाउन सकिन्छ भन्ने विचारमा यो ग्रन्थ लेखिएको छ । योगी धर्ममहारसद्वारा लिखित ग्रन्थ आयुर्वेदिक ज्ञानसंग्रह हो । यसलाई विद्यार्थी प्रकाशनले बजारमा ल्याएको हो ।

५. महारानी

लेखक एवं पूर्वसांसद चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’मा पर्वत जिल्लाको ऐतिहासिक घटनाक्रमलाई आख्यानमा उतारिएको छ । बानियाँले उपन्यासलाई राजा घनश्यामको उत्तराधिकारीलाई लिएर पर्वत दरबारमा भएको विवादसँग जोडेका छन् । उपन्यसा शिखा बुक्सले प्रकाशन गरेको हो । साहित्यसँगै बानियाँको जन्ममृत्यु संस्कृतिसम्बन्धी पुस्तक पनि प्रकाशित छ ।

६. मोहपथ

युवा आख्यानकार ललित विष्टको कथासंग्रह मोहपथमा जनयुद्ध र त्यसपछिको नेपाली समाजबारे लेखिएका कथाको बाहुल्य छ । लेखन क्षेत्रमा सक्रिय भएको केही वर्षमै विशिष्ट पाठकमाझ राम्रो प्रभाव जमाएका विष्टका कथामा युवाको आँखाबाट नेपाली मूल्य मान्यताको मूल्यांकन गरिएको छ । यो कृति फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

७. यात्रामा

लेखिका शारदा शर्मा कथा, कविता र उपन्याससहति साहित्यको सबै विधामा कलम चलाउने स्रष्टा हुन् । यसअघि एक दर्जन साहित्यिक कृति प्रकाशन गरिसकेकी शर्माको कवितासंग्रह ‘यात्रामा’मा पछिल्लो दशक लेखिएका कवितासँगै केही पुराना कवितासमेत संग्रहित छन् ।
चार दशकदेखि लेखन र राजनीतिमा सक्रिय शर्माको ‘यात्रामा’ कवितासंग्रह सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment