Comments Add Comment

स्तनपान : समस्या र समाधान

आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो। गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। आमा र बच्चामा हुने विभिन्न फाइदाहरुलाई मध्यनजर गर्दौ सन् १९९० मा युनिसेफ, विश्व स्वास्थ्य संगठन तथा वर्ल्ड अलाएन्स फर ब्रेस्टफिडिङ एक्सनको सहयतामा इनोसेन्टी धोषणा गरिएको थियो। उक्त घोषणा पश्चात् सन् १९९२ देखि अंग्रेजी महिना अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो।

विश्व स्तनपान सप्ताह करिब १२० देशहरुमा मूल नाराका साथ मनाइन्छ। यो सप्ताहको मुख्य उदेश्य स्तापानलाइ प्रबर्द्धन गर्ने र स्तनपानका फाइदाहरुका बारेमा समुदायस्तरमा जनचेतना फैलाउनुका साथै स्तनपानलाइ सकरात्मक विधिमा निरन्तरता दिन प्रेरित गर्न र प्रभावकारी ढङ्गले आमाहरुको स्तनपान गर्ने बानी-व्यवहारमा परिवर्तन ल्याउनु हो। सधैं झै यस वर्ष पनि विश्व स्तनपान सप्ताह मुल नारा “स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार” का साथ विभिन्न देशहरुमा मनाइँदै छ। यस वर्षको नारा होलिस्टिक आधारमा समेटिएको कुरा नारा बाटै प्रष्ट हुन्छ। जस्तै शारीरिक, मानसिक र बौद्धिक छेत्रमा मात्र नभई स्वस्थ वातावरणका लागी समेत स्तनपानको महत्व फराकिलो छ।

स्तनपानलाइ विषेश गरी तीन वटा ‘ई’ मा विभाजन गरिएको छ। पहिलो ‘ई’ अथवा (अर्ली इनिसिएसन अफ ब्रेस्ट फिडिङ) । भन्नाले शिशु जन्मेको १ घण्टाभित्र आमाको दुध चुसाउने बुझिन्छ । दोस्रो ‘२’ अथवा (एक्सक्लुसिभ ब्रेस्ट फिडिङ)। भन्नाले पूर्ण स्तनपान वा बच्चालाई जन्मेको ६ महिनासम्म (आवश्यक परेमा औषधी वा भिटामिन बाहेक) पानी पनि नदिई आमाको दुध मात्र खुवाउनु हो ।र तेस्रो ‘ई’ अथवा (एक्सटेन्डेड ब्रेस फिडिङ)। भन्नाले बच्चा जन्मेको करिब २ वर्षसम्म आमाको दुधका साथै पोषिलो खानेकुरा सही मात्रा, सही तरिका र सही समयमा खुवाउने बुझिन्छ। उक्त उल्लेखित ३ वटा ‘ई’ सुत्रको अधिकतम् पालना गर्न सकेमा आमा लगाएत विशेष गरि बच्चाको भौतिक, बौद्धिक, शारीरिक र मानसिक स्वास्थमा उल्लेखनीय सुधार आउने विभिन्न अध्ययनहरुमा समावेश गरिएको देखिन्छ।

भनिन्छ नि एक ब्यक्ति स्वस्थ हुन उसलाइ विभिन्न समाजिक, आर्थिक, शैक्षिक, संगै पोष्टिक आहारको विषेश भुमिका रहेको हुन्छ। त्यसैले प्रत्येक आमाहरुलाइ स्तनपानका सहि तरिका र फाइदाहरु बुझाउन सके पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने बिरामी र मर्तुदर कम गर्नुका साथै भविष्यमा हुन सक्ने स्वस्थ समस्याको न्यूनीकरण गर्ने सरल, सजिलो र कस्ट इफेक्टिभ समाधान हुन्छ ।

सुजाता आचार्य

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर जन्मेको पहिलो घण्टामै स्तनपान नगराइने शिशुको संख्या ७ करोड ८० लाख छ। यो पाँचमध्ये तीन शिशुको संख्या हो। यीमध्ये धेरै शिशु निम्न र मध्यम आय भएका देशका छन्। ६ महिना सम्म आमाको दुध मात्र खाएका शिशुहरुको संख्या जम्मा ४१प्रतिशत देखिन्छ। नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन सकेमा प्रत्येक वर्ष ८,२३,००० बच्चाको जीवन जोगाउन सकिने प्रतिवेदनले देखाएको छ।

नेपालको तथ्यांकलाई हेर्ने हो भने नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार जन्मेको एक घण्टा भित्रै आमाको दूध पाउने बच्चाहरूको तथ्यांक २०११ मा जम्मा ४५ प्रतिशत थियो भने २०१६ मा १० प्रतिशतले बृद्धि भइ ५५ प्रतिशत पुगेको छ। उक्त सर्वेक्षण अनुसार जन्मेको १ घण्टामा स्तनपान गर्नेमा हिमाली क्षेत्रमा जन्मिएका शिशुहरु (६१ प्रतिशत०)र प्रदेश नम्बर ७ (७१ प्रतिशत) अग्रस्थानमा छन् भने सबैभन्दा कम तराई क्षेत्र (५२ प्रतिशत) र प्रदेश नम्बर २ (४५ प्रतिशत) रहेको छ। तथ्यांक २०११ बाट २०१६ मा आउदा १० प्रतिशतले बृद्धि भए तापनी पहिलो एक घण्टाभित्र स्तनपान नगराइने बाँकी शिशुको जीवन भने मृत्यु र रोगको उच्च जोखिममा हुने र उनीहरुले निरन्तर रुपमा स्तनपान गर्ने सम्भावना पनि कम हुने युनिसेफ र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको छ।

६ महिना भन्दा मुनिका बालबालिकाहरुमा स्तनपानको संख्या नियाल्दा २०११ मा ७० प्रतिशत थियो भने २०१६ मा घटेर ६६ प्रतिशत पुगेको देखिन्छ। साथै २ वर्ष मुनिका स्तनपान गर्न पाएका बालबालिकाहरु हेर्ने हो भने २०११ मा जम्मा ९८ प्रतिशत थियो भने २०१६ मा गरिएको त्यही सर्वेक्षण अनुसार करिव ९९ प्रतिशत बालबालिकाहरुले स्तनपान गरेको देखिन्छ। पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने कुपोषणमा समेत स्तनपानको ठुलो भुमिका रहेको विभिन्न प्रतिवेदमा उल्लेख गरिएको छ।

तथ्यांकको विश्लेषण हेर्दा एक घण्टा भित्रमा र दुइ वर्ष मुनिका बच्चाहरुमा स्तनपान को संख्या बढ्दो क्रममा देखिन्छ भने ६ महिना भन्दा मुनिका बालबालिकाहरुमा अर्थात् ुएक्सक्लुसिभ ब्रेस्ट फिडिङु को संख्यामा भने कमी देखिन्छ। त्यसैले सोहि कुरा ध्यानमा राख्दै दिगो विकास लक्ष्यमा उल्लेखित स्तनपान सम्बन्धि लक्ष्य प्राप्त गर्न र स्वास्थ्य समानताका साथै स्तानपान वृद्धिदर बढाउनका लागि नेपाल सरकार तथा सम्बन्धित निकाएबाट वर्तमान अवस्थामा अधिकतम् लगानी गर्न र कुशल स्तनपानको समर्थन गर्न आवश्यक देखिन्छ।

नियमितरुपमा ६ महिनासम्म स्तनपान गराउन सकेमा प्रत्येक वर्ष ८,२३,००० बच्चाको जीवन जोगाउन सकिने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको छ। त्यसैले प्रत्येक परिवारिक, समाजिक संगै राष्ट्रिय तहबाट बच्चाको दिगो विकासका लागि स्तनपानको महत्तो बुझ्न आवश्यक देखिन्छ। साथै स्तनपानका फाइदाहरु बुझाउँन पनि उत्तिनै महत्वपूर्ण छ। स्तनपान शिशुको लागि संरक्षण र संवर्धनको काम गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन । आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जो बच्चाहरूको शरीरमा फलाम तत्त्व दिन्छ फलाम तत्त्वको अभावमा शिशुको शरीरमा किटाणु प्रवेश गर्न पाउँदैनन् ।

आमाको दूध मात्रै पोषणको लागि नभएर जीवनको धारा हो । यसले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिना सम्म स्तनपानमा मात्र निर्भर राख्नुपर्छ । यो शिशुको जीवनको लागि जरूरी छ, किनकी आमाको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन । स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ, किनकी आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।

केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ । यसको विपरीत आमाको दूध शात(प्रतिशत सुरक्षित छ । अनुसन्धानबाट प्रमाणित भएको छ कि स्तनपान गर्ने बच्चाहरूमा छ महिना पछि अन्न खुवाउँदा पनि असुहाउँदो मोटो हुँदैनन् । आमाको दुधले झाडापखाला, श्वासप्रश्वास लगायतका विभिन्न रोगको संक्रमणबाट बचाउनका साथै स्तनपानबाट जीवनका पछिको चरणहरूमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ ।

स्तनपानले शिशुको शारीरिक र बौद्धिक विकास गर्नमा समेत मद्धत गर्छ । स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । आमाको दुधमा ६ महिनासम्मका बच्चालाई आवश्यक पर्ने सम्पूर्ण पोष्टिक तत्वहरु पाइन्छ । स्तनपान गराउने आमाहरुलाई स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना पनि धेरै कम हुन्छ ।

पछिल्लो समय विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९बाट बिभन्न उमेर समुहमा सङ्क्रमण देखिएको छ। तर विशेष गरि बच्चामा भने सङ्क्रमणको संख्या तुलनात्मक रुपमा अरु समुह भन्दा कम रहेको विश्व स्वास्थ संगठनको प्रतिवेदनले देखाएको छ। सङ्क्रमणको संख्या गर्भवती र सुत्केरी महिला समुहमा देखिए पश्चात् सङ्क्रमित आमाहरुबाट बच्चामा सङ्क्रमण हुन सक्ने वा नसक्नने कुराहरुमा विशेष प्राथमिकता दिई अनुसन्धान गर्दा कुनै ठोस प्रमाण नभेटिएका कारण २३, २०२० मा विश्व स्वास्थ संगठले प्रकाशित गरेको सूचनामा सम्पूर्ण कोरोना आशंका गरिएका र कोरोना संक्रमित आमाहरुमा स्तनपानलाई निरन्तरता दिन निर्देशन गरिएको छ। साथै कोरोना संक्रमित आमाहरुले स्तनपान गराउदा विशेष ३ कुरामा ध्यान दिनु पर्ने कुरा समेत उल्लेख गरिएको छ।

स्तनपान गराउने बेलामा नाक, मुख राम्ररी छोप्न माक्स लगाउनु पर्दछ ।

बच्चालाई छुनु अघि र छोए पछि साबुन पानीले हात धुने ।

आफु बसेको ठाँउ र त्यसको वरिपरिका साथै प्रयोग गरेको सरसामानहरुको सरसफाई गरि निसंक्रमण गर्नुपर्दछ ।

स्तनपान गराउँदा ध्यान पुयाउन पर्ने कुराहरु

स्तनपान बच्चाको लागि अनिवार्य आवश्यकता हो । तर स्तनपान गराउँदा बच्चालाई कसरी राख्ने भन्ने कुरामा विशेष ख्याल राख्नुपर्दछ । अन्यथा बच्चालाई आमाको दूध अमृत समान हुँदा हुँदै पनि नकारात्मक असर पर्दछ । स्तनपान गराउदा निम्न कुरामा ध्यान दिनु पर्दछ।

१. बच्चालाई स्तनपान गराउँदा चुस्न सजिलो बनाई दिनुपर्छ । आमा पनि सजिलो गरी बस्नुपर्छ जसले गर्दा दूध राम्ररी बग्न सकोस ।सकेसम्म आमाले निहुरिएर स्तनपान गराउनु हुँदैन । यसरी स्तनपान गराउदा बच्चाको कानमा दूध पस्ने सम्भावना हुन्छ । आमाले सुतेर पनि स्तनपान गराउनु हुन्न । सुतेर स्तनपान गराउदा आमाको स्तनले नाक थुनिएर सास फेर्न गाह्रो भइ बच्चाको मृत्यु समेत हुनसक्छ ।

२. बच्चा जन्मेको १ घण्टा भित्रमा आमाको दुध चुसाईहाल्नु पर्छ । स्तनपान गराउने आमा तनाव रहित रहनु पर्छ । र बच्चालाई पूर्णरुपमा दुध खुवाउन सक्छु भन्ने आत्मविश्वास पनि हुनुपर्छ ।

३. बच्चाको टाउको र शरीर सिधा राख्नको लागि बच्चाको मुख पूरै खुल्न दिनुपर्छ र बच्चाको तल्लो ओठले स्तनको मुन्टोलाई राम्ररी समात्न सक्नेगरी बच्चालाई नजिक राख्नुपर्छ । बच्चाको मुखले आमाको स्तन राम्ररी च्यापेको हुनुपर्छ र मुन्टो मुखको भित्री भागसम्म पुग्नुपर्छ । बच्चाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।

४. दुवै स्तन चुसाउनुपर्छ तर एउटा स्तनमा दुध सकिएपछि मात्र अर्को स्तनबाट खुवाउनुपर्छ । एक पटकमा एउटा स्तनको दूधले बच्चा अघाउँछ भने अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्छ ।

५. बच्चा भोकाएपछि ९राति, दिउँसो जुनसुकै बेला० स्तनपान गराउनुपर्छ । नवजात शिशुले खास गरेर पहिलो १ देखि ३ घण्टा बिराएर दूध खान खोज्छ ।

६. दूध खाइसकेपछि बच्चालाई माथि उठाएर पाखुरा वा छातीमा राखी ढाड मसारेर हावा फाल्नलाइ डकार गराउन मद्दत गर्नुपर्छ। बच्चाले दूधसँगै हावा पनि तान्ने भएकाले डकार्दा हावा बाहिर फालिन्छ, अनि खाएको दूध स्वच्छ भई बान्ता हुनबाट पनि रोकिन्छ ।

७. राति बच्चालाई सुताउंदा बच्चाको मुखमा निप्पल राखिराख्नु हुदैन । यसले संक्रमण गराउन सक्छ । बच्चाले दूध चुस्न नसके स्तन निर्चोनुपर्छ । नत्र त्यही दूध गान्निएर पाक्ने सम्भावना हुन्छ ।

८. स्तनपान गराउँदा समस्या पर्यो भने अन्य अनुभवी महिला अथवा तुरुन्त स्वास्थ्यकर्मीको सहयोग लिनुपर्दछ ।

९ .बच्चालाई आमाको दुध पुगे–नपुगेको भन्ने छुट्याउने आधारहरु

बच्चाले २४ घण्टामा कमसेकम ६ देखि ८ पटकसम्म पिसाब फेर्छ । यदि त्यो भन्दा कम र पिसावको रङ गाढा पहेलो र गन्हाउने छ भने बच्चालाई आमाको दुध जतिमात्रामा चाहिने हो त्यो पुगेको छैन् भन्ने बुझ्नुपर्छ । बच्चाको तौल ५०० ग्राम प्रत्येक महिनामा बढनु पर्छ । यदि एक महिनामा ५०० ग्रामको दरले तौल बढेको छैन् भने पनि आमाको दुध पुगेको छैन भन्ने थाहा हुन्छ । बच्चाले आमाको दुध खाइसके पछि राम्रोसंग निदाउँछ ।

यस वर्षको मुल नारा स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार लाई सब्य ढङ्गले समुदायस्तरमा जनचेतना फैलाउन र दिगो विकासका लक्ष्यतिर लम्कन नागरिक परिवार, समाज, गैर सरकारी संस्था देखि राष्ट्र सम्मले आ(आफ्नु भुमिका निर्वाह गरे मात्र स्वास्थ्य समानताका साथै स्तानपान वृद्धिदर सम्भव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment