
२३ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । कोरोना शंकास्पद वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको डा. निरज सिंहले जानकारी दिए ।
वीरगञ्ज–३ का वडा अध्यक्ष वैजु स्वर्णकारका अनुसार ४/५ दिन ज्वरो आएपनि ज्वरो ठीक भइसकेको थियो । तर साउन २२ गते राति उनलाई अचानक स्वास लिन गाह्रो भयो । एडभान्स अस्पतालको इमर्जेन्सीमा भर्ना गरियो ।
चिकित्सकले उपचार शुरु गरे । अक्सिजन दिइयो । तर उनको शरीरमा अक्सिजन मेन्टेन हुन सकेन । चिकित्सकले आईसीयुमा राखेर उपचार गर्नुपर्ने बताए । अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि एडभान्समा इमर्जेन्सीबाहेक अन्य सेवा बन्द गरिएको छ ।
कोरोना माहामारी शुरु भएपछि वीरगञ्जमा बिरामी बोक्नका लागि एम्बुलेन्स पाइदैन । बिरामी पुर्याउन आएको एउटा अटो रिक्सालाई अनुरोध गरेर बिरामीलाई नेशनल मेडिकल कलेज पुर्याइयो । तर नेशनल मेडिकल कलेजले भर्ना गर्न मानेन ।
नेशनलले यस्तो विरामीका लागि कुनै व्यवस्था छैन भनेर अटोबाटै बिरामीलाई फर्काएको वडा अध्यक्ष स्वर्णकार बताउँछन् ।
‘चिकित्सकले आईसीयू सुविधा भएको अस्पतालमा लैजान भनेपछि नेशनल मेडिकल कलेज लिएर गएका थियौं, तर त्यहाँ भर्ना लिनु त परको कुरा कुनै व्यवस्था छैन भनेर अटोमै बिरामीलाई फर्काइदियो’ वडा अध्यक्ष स्वर्णकार भन्छन् ‘डा. निरज सिंहलाई समस्याबारे जानकारी गराएपछि कोभिड अस्पतालमै लिएर आउन भन्नुभयो । ड्युटीमा रहेका चिकित्सक स्वास्थ्यकर्मीले अक्सिजन दिएर बचाउनका लागि निकै मेहनत गर्नुभयो । तर बाँच्नुभएन ।’
नेशनल अस्पतालका कोभिड संयोजक डा. असरफ हुसेनले बिरामी भर्ना नलिएको बारे आफूलाई जानकारी नभएको बताए ।
कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको गण्डक कोभिड अस्पतालले जनाएको छ । साँझसम्म रिपोर्ट आउने जानकारी प्रयोगशालाले दिएको छ ।
प्रतिक्रिया 4