Comments Add Comment

भारतबाट आएकाहरू सोझै घर जान थाले

२३ साउन, धनगढी । कैलालीको लम्की चुहा नगरपालिका–६ प्रतापपुरकी भावना विष्ट शुक्रबार परिवारसँग भारतको मुम्बइबाट नेपाल आइपुगिन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको भयावह हुन थालेपछि उनी काखे बालक च्यापेर नेपाल आएको बताइन् । ‘हामी बसेको ठाउँमा धेरै संक्रमित थिए । बाहिर निस्किन पनि डर थियो । त्यसले आयौ‌ं’ उनले भनिन् । गाडीमा एउटा सिटमा ५/६ जना राख्यो, त्यहीँ डर लाग्यो ।’ अब घर गएर होम क्वारेन्टिनमा बस्ने उनको योजना छ ।

कञ्चनपुर पुनर्बासकै राधिका रावल पनि परिवारसहित शुक्रबार दिल्लीबाट घर आइन् । ‘घरमै सुरक्षित ढङ्गले बस्छौं’ उनी भन्छिन्, ‘तत्काल अरुसँग भेटघाट गर्दैनौं ।’

भवना र राधिका जस्तै धेरै नागरिक शुक्रबार कैलालीको गौरिफन्टा नाकामा नेपाल प्रवेश गरेका छन् । उनीहरु सोझै घर जाने योजना रहेको बताउँछन् ।

विगतमा स्थानीय तहले आफना नागरिक लिन सीमा क्षेत्रमा सवारी साधन पठाउने व्यवस्था मिलाएको थियो र लगेर क्वारेन्टिनमा राख्ने गरिएको थियो । तर पछिल्लो समय स्थानीय तहले सीमा क्षेत्रमा आइपुगेका नागरिकहरूलाई क्वारेन्टिनसम्म आफैं लैजान छाडेको छ । यसले गर्दा भारतका विभिन्न स्थानबाट आएकाहरु सोझै घरमा पुग्ने गरेका छन् ।

‘कसैले क्वारेन्टिन छ भन्छन्, कसैले छैन भन्छन्’ हैदराबादबाट आएकी बर्दियाकी निर्मला चलाउने भनिन् ‘अब आफ्नै घरमा गएर बस्ने हो ।’

बर्दिया शान्तीबजारका हिक्मत चलाउने पनि स्थानीय तहमा क्वारेन्टिन नहुँदा घर जानुपर्ने बाध्यता रहेको बताउँछन् । ‘क्वारेन्टिन नै नभए हामी कहाँ बस्ने ? यहाँबाट सोझै घर जानुको विकल्प छैन’ उनले भने ।

शुक्रबार सीमा नाकामा भेटिएका अधिकांशले सोझै घर जाने बताएका छन् । तर, कोरोना भाइरसको परीक्षण बिनै घर जानु जोखिमपूर्ण हुने त्रिनगर सीमा सहायता कक्षका इन्चार्ज दिनेश ठकुल्ला बताउँछन् । ‘घर त भन्ने मात्रै हुन्, यहाँबाट गएपछि सोझै समुदायमा हेलमेल हुन्छन्’ उनले अनलाइनखबरसँग भने ‘अहिले भारतबाट आउनेहरू सोझै समुदायमा जानु भनेको जोखिमपूर्ण नै हुन्छ ।’

उनका अनुसार पछिल्लो केहीदिन यता भारतबाट आउनेहरूको संख्या बढेको छ । बिहीबार मात्रै ८ सय बढी नेपाली भारतबाट आएको उनले जानकारी दिए । शुक्रबार त्यो संख्या थप बढेको छ । शुक्रबार १ हजारको हाराहारीमा नेपाली नेपाल भित्रिएका छन् । ठकुल्लाका अनुसार साउनमा मात्रै ६ हजार बढी नेपाली नेपाल भित्रिएको बताए ।

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालीहरु घर फर्किने क्रम फेरि बढेको उनले बताए । भारतबाट आउनेहरू सोझै घर पुग्दा अवस्था असामान्य बन्नसक्ने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।

भारतबाट आउनेहरूलाई विगतमा जस्तो अनिवार्य क्वारेन्टिनमा राख्न आवश्यक रहेको भन्द्यै उनले भने, ‘स्वास्थ्य परीक्षण गर्नुपर्छ र संक्रमण पुष्टि नभएकाहरुलाई घर जान दिनुपर्छ । यस्तो गरिएन र सीमाबाटै सोझै घर पुग्न थाले भने समुदायमा कोरोना संक्रमण फैलिनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment