Comments Add Comment

भरतपुरमा निकास विनाको विकास : नहर मासेर सडक, सडकमा पानी

जलमग्न भरतपुर महानगरपालिकाको वडा नम्बर ११

२४ साउन, चितवन  । चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी सडकको विकास भएको छ । सडक विस्तार, पिच, नाली, मोज्याक टायल लगाउने काम निकै भएको देखिन्छ ।

तर, यहाँ भएको विकास बर्खाको पानीले निकास नपाउने गरी भएको छ । त्यसैले मुख्य शहरी क्षेत्र र वस्तीहरु नै डुबानमा परेका छन् । पानीको निकास नभएपछि यहाँका सरकारी कार्यालय, निजी घर, सडक, खाली जमिन पानीले भरिने गरेको छ । खुला रहेका सार्वजनिक तथा निजी जमिन यतिबेला पानीले भरिएका छन् । सबैभन्दा बढी भरतपुर महानगरपालिका वडा नं. ७, ८, ९, १०, ११ र १२ क्षेत्र डुबानमा छन् ।

महानगरपालिकाका डिभिजन इन्जिनियर रत्न लामिछानेका अनुसार महानगरको वडा नं. ११ देखि २८ नम्वर वडासम्म डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा ठूलो पोखरी बनेको हप्तौं भइसक्यो । चौरसँगै रहेको वडा नं. १० को कार्यालय पनि सँगै रहेकाले सेवाग्राहीलाई समस्या हुँदै आएको छ ।

भरतपुर अस्पताल र आँखा अस्पतालमा जाँदा जुत्ता खोलेर जानुपर्ने अवस्था छ । सडकमै पानी बगेपछि सरकारी कार्यालय आउने सेवाग्राही र स्थानीयलाई समस्या परेको छ । भरतपुर अस्पतालदेखि विद्युत् कार्यालय, अस्पतालदेखि राजस्व कार्यालय, प्रहरी कार्यालयदेखि मालपोत कार्यालयसम्मका सडक र सडकछेउ जलमग्न हुने गरेका छन् । जसले सेवाग्राहीलाई समस्या पारेको छ ।

टेलिकम कार्यालय र विद्युत वितरण केन्द्रको कार्यालय अगाडि पिच सडकमाथि पानी बगेको महिनादिन हुन लाग्यो । यहीँनेर चितवनको स्थानीय पत्रिका चितवन पोस्टको कार्यालय छ । पत्रिकाका प्रवन्ध निर्देशक गोविन्द आर्यालले सडकमा महिनौंदेखि पानी बग्दा निकै सास्ती झेल्नु परेको बताए । ‘वारपार गर्न नै सकिँदैन, सडकमा गुड्ने सवारी साधनले पानी उछिट्टाएर पुरै भिजाइदिन्छन्, विभिन्न कामले आउने मानिसहरु आउन पनि सक्नुहुन्न, निकै समस्या भएको छ,’ अर्यालले भने, ‘पानीको निकास दिनुपर्यो भनेर वडाध्यक्षसहितका सम्वन्धित सबैलाई भनियो, अहिलेसम्म हल भएको छैन ।’

नहर अतिक्रमण

हाकिमचोकबाट क्यान्सर अस्पताल जाने सडक हरेक वर्ष डुबानमा पर्दै आएको छ । यही छेउमा यसअघि नहर थियो, नहर पुरेर सडक बनाएपछि अहिले पानी सडकमा नै बग्न थालेको छ ।

महानगरको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँको शहरी क्षेत्र डुबानमा पर्ने गरेको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखा पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान हुने गरेको हो । कतिपय ठाउँमा नहर पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा पार्टी प्यालेस, निजी तथा सार्वजनिक भवनसमेत बनाइएको छ ।

डुबानको अर्को मुख्य कारण जग्गा प्लटिङ पनि भएको महानगरपालिकाका डिभिजन इन्जिनियर रत्न लामिछाने बताउँछन् । उनले भने, ‘जथाभावी रुपमा गरिएको प्लटिङ, भएको स्वाभाविक खोला र नालीहरु अतिक्रमण, सडक बनाउँदा नालीलाई प्राथमिकतामा नदिइनु, घर बनाउँदा पानी बग्ने नालीको भाग नछाडि जथाभावी रुपमा बनाउँदा समस्या बढ्दै गएको छ ।’

जनप्रतिनिधिले नै पुरे नहर

भरतपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले भरतपुर कारागार पछाडिको नहर आफैंले पुरेर सडक खोले । अहिले कारागार र जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौर यही कारणले डुबानमा परेको स्थानीय बताउँछन् । नहर नपुरेको भए यहाँका अधिकांश सरकारी कार्यालयको पानी नहरबाट जान्थ्यो । नहर पुरेर सडक मात्रै बनाइएन, सांसद विकास कोषको बजेट नहर पुरेको सडकमा हाल्ने र पिच गर्ने कामसमेत भएको छ ।

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख खेमबहादुर पाठकले नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सिएल–१ क्यानलमार्फत आउने नहर पूरै मासिएको बताए । सिएल क्यानलमा भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै प्रेमबस्तीसम्म जाने नहरलाई मानिन्छ । कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुबानमा परेको उनको भनाइ छ ।

नहर मासेर बनाइएको नाली विनाको सडक

सडक छ, नाली छैन

भरतपुर महानगरका अधिकांश सडक कालोपत्रे गर्ने क्रममा छन् । ठूला सडक कालोपत्रे भएका पनि छन् । तर, ती सडकमा नालीविनाका छन् । नाली भएका सडक अति नै कम छन् । जसले गर्दा कालोपत्रे गरिएको पिचको माथि नै पानी बग्ने र त्यसले पिचलाई छिट्टै बिगार्ने काम गरेको छ ।

फुटपाथमा मोज्याक टायलको ब्यापार गतिलो हुने हुँदा सडकमा फुटपाथ बनाउन चनाखो बन्ने इन्जिनियरहरु नाली बनाउन भने उदासिन देखिने गरेको भरतपुर ७ कृष्णपुरका गुरु घिमिरेले बताए । उनले नाली नहुँदा सडक जलमग्न हुने गरेको बताए ।

नारायणगढ र भरतपुरका थुप्रै भित्री सडकहरुमा पानी बग्ने र डुबान हुने समस्या छ । हालै विस्तार भएको हाकिमचोकदेखि धारेचोकसम्मको १६ मिटरको बाटोमा समेत फुटपाथ छ, तर नाला छैन । कतिपय ठाउँमा नाला छ, देखाउनका लागि मात्रै ।

इन्जिनियर साकार लामा महानगरसँग दीर्घकालीन सडकको योजना नभएको र जथाभावी सडक बनाएर कालोपत्रे मात्रै गर्न हतारिने हुँदा यस्ता समस्या आएको बताउँछन् । ‘सडक बन्छ नाली बन्दैन, बनाए पनि साइजको हुँदैन, राम्रो नाली बनाएमा पिचको आयु पनि डेढ–दुई गुणाले बढ्छ,’ इन्जिनियर लामा भन्छन्, ‘अर्कोतिर सडकको डिजाइन नै गलत हुन्छ, स्लोप र ग्रेडिङ मिलाएको हुँदैन, पानी जम्छ र त्यहीँ खाल्डो पर्छ ।’

लामाकै भनाइमा सहमत छन्, भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर रत्न लामिछाने पनि । महानगरपालिकाले नाला बनाउने कामलाई कम प्राथमिकतामा राखेको उनी स्वीकार्छन् । गएको आर्थिक वर्षमा ६ वटा सडक छेउमा मात्रै नाला बनाइएको उनले बताए । गत वर्ष ६५ किलोमिटर सडक महानगरको कालोपत्रे गरेकोमा अधिकांशमा नाला छैन । इन्जिनियर लामिछानेले चालु आर्थिक वर्षमा दुई करोड रकम सडक नाला बनाउनमा नै खर्च गर्ने भनेर विनियोजन गरिएको बताए ।

कतिपय ठाउँमा कमजोर नालासमेत रहेको स्वीकार गर्दै उनले यो साझा समस्या भएको बताए ।

वडाध्यक्षहरु के भन्छन् ?

भरतपुर महानगरपालिका वडा नं. १५ मा बनाइएको नाली विनाको बाटो र बाटो छेउमा परेको ताल

माथिको तस्वीर भरतपुर महानगरपालिका वडा नं. १५ को हो । झट्ट हेर्दा वडामा आकर्षक ताल नै बनाएको हो की जस्तो पनि देखिन्छ । तर यो ताल होइन । महानगरपालिकाले सडक त बनायो, कालोपत्रे पनि गर्यो, तर सडक बन्दा पानीको स्वाभाविक बहाव रोकियो । सडकले पानी छेकेपछि यहाँको खेतीयोग्य जमिनमा ताल परेको छ । कुनै बालीनाली लगाउन सक्ने अवस्था छैन । साना–साना दुईवटा पाइपबाट पानी कटाए पनि त्यो पर्याप्त देखिँदैन ।

वडा नं. १५ का वडाध्यक्ष शम्भु भण्डारी विना योजना विकासका काम थाल्दा र स्थानीयको असहयोगका कारण डुबान भएको बताउँछन् । बर्खामा कहाँ–कहाँ पानी जम्छ, जमेको पानीको निकास के हुने भन्ने योजना बनाउन नै नसकिएको उनको भनाइ छ ।

सबैभन्दा बढी डुबान हुने क्षेत्र हो, भरतपुर–११ । घोल पुरेर प्लटिङ गर्दा र अव्यवस्थित बसोबास गर्दा बर्सेनि आफ्नो वडा डुबान पर्ने वडा अध्यक्ष बाबुराम अधिकारीले बताए । ‘जनताहरुले घर बनाउँदा पानीको निकास नछोडि पानी बग्ने ठाउँ पुरेर बाटोदेखि घरसम्मै ढलान गर्छन् अनि डुबान भयो भन्दै कराउन आउँछन् वडाध्यक्ष अधिकारीले भने, ‘समस्या त हामी आफैंले निम्ताएको हो नि ।’

जलमग्न भरतपुर-११

उनले सडक बनाउँदा केही फिट उठाएर बनाउने र जमिन तल हुँदा डुबानको समस्या हरेक वर्ष बढ्ने गरेको बताए । अब सडकभन्दा पहिला नाली बनाउने कामलाई प्राथमिकतामा राख्नुपर्ने बेला आइसकेको वडाध्यक्ष अधिकारीले बताए ।

धानखेती हुने अधिकांश घोल रहेको वडा नं. ११ तीव्र शहरीकरणको चपेटामा छ । जनसंख्याका हिसाबले सबैभन्दा धेरै नागरिक र मतदाता भएको वडा नं. ११  मा घर बन्ने क्रम तीव्र छ । तर, पानीको निकास भने छैन । भएको एउटा पुंगी खोला पनि अतिक्रमणमा परेको छ । खोलाको दुवैतिरबाट संरचना खडा गरेर खोला साँघुरो बनाउने कामले समस्या झनै बढ्ने देखिएको वडाध्यक्ष अधिकारीले बताए । पुंगी खोलाको स्वाभाविक वहाव कायम गर्नेगरी डीपीआर तयार गरिएको उनले बताए ।

वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले अव्यवस्थित भौतिक संरचनाहरु तथा विकास निर्माणका काम मनपरी ढंगले तयार गर्दा समस्या बढ्दै गएको बताए ।

वडा नं. १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्गवा, धेरै ठाउँमा बाटो पिच बन्दा पानी बग्ने  ढल नभएको कारणले डुबानमा पर्ने गरेको बताउंँछन ।  पानीको निकासको लागि सबै ठाउंँमा नालाको व्यवस्था हुने गरी संरचना बनाउने उनले बताए ।

वडा नं. १६ का वडाध्यक्ष अमृतराज हमालले यो वर्ष झण्डै ५ ठाउँमा सडक नै भत्काएर पानी निकासको व्यवस्था गरेको बताए । उनले भने, ‘सडक त बनाइयो तर पानी बग्ने निकास छैन, न नाला छ, जनताको घर नै डुब्न लागेपछि भत्काएर भए पनि पानी फाल्ने काम गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment