Comments Add Comment

साइकल मर्मत गर्न सिक्दै युवापुस्ता

काठमाडौं । जतिबेलासम्म बजारमा सवारीको त्यतिसाह्रो ‘क्रेज’ बढेको थिएन, त्यतिबेलासम्म साइकल चढ्नेहरूको वर्गीय स्तरबारे कसैलाई वास्ता हुने थिएन । राजा र दरबारसँग प्रत्यक्ष पहुँच राख्ने राजनीतिक दलका नेताहरू समेत ढुक्कसँग साइकलमा सवारी गर्थे । तर बिस्तारै ठूला साधनको क्रेज बढेसँगै साइकललाई तल्लोस्तरको सवारीको रूपमा व्याख्या गर्न थालियो ।

यसले हाम्रो स्वास्थ्य र वातावरणको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई कसैले वास्ता गर्न सकेनन् । केवल रवाफ देखाउनकै लागि पनि साइकलयात्रीलाई हेप्ने प्रवृत्तिको विकास हुँदै गयो ।

कोरोना भाइरस कोभिड–१९ का कारण चार महिनासम्म लकडाउन हुँदा धेरैले साइकललाई आफ्नो सवारीको रूपमा प्रयोग गरे । तर लकडाउन अन्त्य भएसँगै फेरि पुरानै अवस्था दोहोरियो ।

यहीबीचमा ठमेलमा रहेको नेपाल माउन्टेन बाइक टुर्सले भने साइकल यात्रीलाई प्रोत्साहन गर्न नयाँ कार्यक्रमको सुरुवात गरेको छ । स्टोरी साइकलको सहयोगमा सुरु गरेको कार्यक्रम अन्तर्गत् साइकलयात्रीलाई साइकलमा देखिने आधारभूत समस्या आफैँ समाधान गर्न सिकाउने गरिन्छ ।

हरेक शुक्रबार काठमाडौंको ठमेलमा रहेको काठमाडौं गेस्ट हाउससँगैको नीलो गेटभित्र साइकलयात्रीहरू अपराह्न उपस्थित हुन्छन् । ठीक ४ बजेपछि माउन्टेन बाइक टुरबाट निस्किएर रञ्जन राजभण्डारी र देवेन्द्र बस्न्यातले साइकलयात्रीहरूलाई अघिल्लो हप्ता आफूले सिकाएको प्रक्रियालाई स्मरण गराउँछन्, त्यसपछि नयाँ कोर्सको सुरुवात गरिन्छ ।

गत शुक्रबार साइकल बनाउन सिकाउने तालिमको पहिलो सिजनको तेस्रो हप्तासम्ममा साइकलयात्रीले व्यवस्थित ढंगले साइकल चलाउन, त्यसका पाटपुर्जाबारे जानकारी लिन र साइकल चलाउँदा आएको समस्या केबाट भएको हो ? भन्ने आधारभूत विषय सिकिसकेका थिए ।

शुक्रबार आउने टोलीलाई टायर पन्चर टाल्नको लागि कसरी टायर खोल्ने र त्यसलाई कसरी सेट गर्ने ? भन्ने विषयलाई सिकाइँदै थियो । सुरुमा राजभण्डारी वा बस्न्यातले एक पटक सबै प्रक्रिया पूरा गरेर देखाउँछन् । त्यसपछि साइकल लिएर बनाउन आएकाहरूलाई आ–आफैं प्रयोग गरेर देखाउन सिकाउँछन् ।

दुईमध्ये राजभण्डारीले साइकल बनाउने विषयमा कोरियामा सिकेर आएको ज्ञानलाई आफूले अरूलाई पनि एमचेक, एबिसी चेक गर्ने एवं ब्रेक प्याड कत्तिको खराब हुने गरेको छ भन्नेबारे पहिचान गर्नेजस्ता विषय आफूले सिकाउने गरेको बताउँछन् ।

त्यस्तै, बस्न्यातले साइकलयात्रीलाई प्रोत्साहन गर्ने र उनीहरूलाई यात्राको क्रममा हुनसक्ने झण्झटलाई कम गर्नको लागि यस्तो तालिम दिने गरेको बताएका छन् ।

कोरोना भाइरसका कारण उनीहरूले बढीमा १० जनाभन्दा धेरैलाई यसबारे तालिम दिने गरिएको छैन । निःशुल्क दिइने तालिममा साइकल यात्राको आधारभूत विषयदेखि साइकल यात्रीले भोग्ने सम्भावित समस्या समाधानको उपायसम्म सिकाउने गरिन्छ ।

अहिलेसम्म लामो दुरीको लागि साइकल प्रयोग गर्नेको संख्या अत्यन्त कम छ । जुनसुकै ठाउँमा पनि मर्मत गर्ने केन्द्रहरूको अभाव लगायतका कारणले लामो दुरीमा साइकल यात्रा अहिलेसम्म नेपालमा व्यवहारमा देख्न सकिँदैन । त्यसैले आफूलाई आवश्यक पर्ने सामान बोकेर जाने र आवश्यक पर्दा आफैंले मर्मत सम्हार गर्न सक्ने गरी सिप विकास गराउन लागिएको राजभण्डारीले जानकारी दिए ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment