
२५ साउन, काठमाडौं । श्रीलंका पिपुल्स पार्टीका नेता महिन्दा राजपाक्षले आइतबार चौथोपटक प्रधानमन्त्रीकोरुपमा शपथ ग्रहण गरेका छन् । आइतबार उत्तरी कोलम्बोको उपनगर केलानियमा रहेको ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा विहार’ मा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।
आइतबार महिन्दा राजपाक्षलाई उनकै भाइ तथा राष्ट्रपति गोताभय राजपाक्षले प्रधानमन्त्रीको शपथ खुवाएका हुन् । शपथपछि दुवै भाइले राजमहा विहारमा प्रार्थना गरेका थिए ।
पछिल्लो दुई दशकयता राजपाक्ष परिवारको श्रीलंकाको राजनीतिकमा बलियो पकड रहँदै आएको छ । राजनीतिक विश्लेषकहरुका अनुसार अब श्रीलंकाको सत्तामा उनीहरुको पकड अझै बलियो हुनेछ ।
उनीहरुको पार्टीले नेतृत्व गरेको गठबन्धनले श्रीलंकाको आम निर्वाचनमा दुई तिहाइ बहुमत हासिल गरेको छ । श्रीलंकामा ६८ लाख मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए । महिन्दा राजपाक्ष सन् २००५ देखि २०१५ को बीचमा एक दशकसम्म राष्ट्रपति बनेका थिए ।
सन् २०१९ मा भएको राष्ट्रपतीय निर्वाचनमा गोताभय राजपाक्षले जित हात पारेका थिए । यससँगै महिन्दा राजपाक्षको चोथोपटक प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखिएको थियो ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4