Comments Add Comment

बर्खामा पनि धमाधम नदी उत्खनन, जनप्रतिनिधि र स्थानीय प्रशासन मौन

२५ साउन, गोरखा । गोरखामा वर्षायाममा पनि नदीजन्य पदार्थको उत्खनन रोकिएको छैन । गोरखा नगरपालिका–१० ठुटेबजार कन्याढाप झोलुङ्गे फाँटमा दरौदी नदीमा अहिले पनि धमाधम उत्खनन भइरहेको छ ।

‘ढुङ्गा, गिटी तथा वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ अनुसार जेठ मसान्तदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न पाइदैन । तर नियम कानून लत्याउदै स्थानीय सरकार र स्थानीय प्रशासनलाई गुमराहमा राखेर नदीजन्य पदार्थ झिक्ने काम भइरहेको छ । दिनमा भन्दा रातको समयमा उत्खनन बढी भएको स्थानीय वासिन्दा बताउँछन् । ‘अब मान्छे सुत्यो भन्ने भएपछि राति ११ बजेतिर खोलामा ट्याक्टर र टिपरको लाइन हुन्छ,’ स्थानीय सुरजमान कुमालले भने, ‘बिहान ३ बजेसम्म जेसीबी लगाएर चोरी निकासी भइरहन्छ ।’

उनका अनुसार रातभर उत्खनन गरेर थुपारिएको गिटी वालुवा बिहान मात्र ओसार पसार हुन्छ । ‘चोरी निकासी गरेको थाहा नहोस् भनेर गाडीको हेडलाइट बन्द गर्छन् अनि रातभर ओसार्छन्, आवाजले सुत्नै सकिदैन,’ उनले भने ।

अवैध उत्खनन भइरहेको ठाउँ १२ किलोस्थित प्रहरी चौकीबाट प्रष्ट देखिन्छ । रातको समयमा चोरी निकासी गर्न सलबलाउने ट्याक्टर टिपर र जेसीबीको आवाज पनि प्रष्टै चौकीसम्म पुग्छ । ‘प्रहरीलाई खबर गरेपनि खासै आउँदैनन्, आए पनि केही गर्न सक्दैनन्, यसमा प्रहरी प्रशासनकै मिलेमतो छ जस्तो देखिन्छ,’ कुमालले भने ।

चोरी निकासीमा पल्केकाहरुले दरौदी नदीमा लगाइएको तटबन्धको ढुङ्गासमेत चोरेर लगेको वडा नम्वर ११ का स्थानीय उमेश बानियाले बताए । तारजाली काटेर ढुङ्गा चोरेर लगेको उनले जानकारी दिए । उनका अनुसार वडा नम्बर १० देखि १२ सम्मको दरौदी नदी किनारमा अवैध उत्खनन हुने गरेको छ ।

अवैध उत्खननकै कारण झोलुङ्गेफाँट कुलोमा पानी नचढेको वडा नम्वर ११ का दिलबहादुर भण्डारीले बताए । ‘ठेक्का लागेको बेला त मनलाग्दी नदी उत्खनन गरे तर अहिले पनि धमाधम गरिरहेका छन्,’ उनले भने, ‘जथाभावी उत्खनन गरिदिँदा कुलो भन्दा नदी गहिरो भएर कुलोमा पानी चढ्नै छाड्यो ।’

सिञ्चाइ अभावका कारण ठुटेबजारदेखि नन्दकिशोरीसम्मको करिब १७ सय रोपनी खेतमा धान फलाउन समस्या भएको उनले गुनासो गरे । ‘बर्षेनी डेढ दुई लाख खर्चेर कुलो मर्मत गर्दै खेतमा सिञ्चाइ गर्ने गरेका थियौ, यो बर्ष कुलोभन्दा ६ मिटर तल खोला गयो, पानी चढाउनै सकिएन,’ उनले भने ।

असार १ गते पछाडि कुनै पनि नदीमा उत्खननका लागि अनुमति प्रदान नगरेको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकाल बताउछन् । तर वडा नम्बर १० स्थित दरौदी नदिमा धमाधम भइरहेको अवैध उत्खननबारे उनले अनविज्ञता प्रकट गरे ।

समिति छ तर अनुगमन छैन

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननको अनुगमनका लागि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्ला अनुगमन समिति छ । जसको सदस्यहरुमा सम्बन्धित स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, डिभिजन वन कार्यालयका प्रमुखलगायतका छन् ।

त्यस्तै अनुगमनकै लागि नगर उपप्रमुखको संयोजकत्वमा गोरखा नगरपालिकामा नगर स्तरीय अनुगमन तथा फरफारक समिति पनि छ । तर यसले हाल अनुगमन गरेको छैन ।

अनुगमन नभएको धेरै समय भइसकेको जिल्ला समन्वय समिति प्रमुख अशोक गुरुङले बताए । ‘समितिको बैठक पनि नबसेको धेरै भयो, अनुगमन पनि भएको छैन, अब गर्नुपर्ला,’ उनले भने ।

अवैध उत्खनन पूर्ण रुपमा नियन्त्रण गर्न कडाइका साथ लाग्ने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई बताउँछन् । ‘यो समयमा खोला उत्खनन गर्न पाइदै पाइदैन, उत्खनन भइरहेको छ भन्ने गुनासो मसँग पनि आएको छ, अव जिसस प्रमुखसँग समन्वय गरेर अनुगमनलाई निरन्तरता दिन्छौं, अवैध उत्खनन गर्नेलाई कानुनी कारवाही पनि गर्छाै,’ उनले भने ।

उत्खननको निगरानीका लागि प्रहरीलाई निर्देशन दिइसकेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment