+
+
Shares

छड्के चेकजाँचमा गोरखाका सिडिओ र एसपी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १५:१२

२१ असोज, गोरखा । चाडवाडको मौका छोपेर यात्रुसँग बढी भाडा लिएको गुनासो बढेसँगै गोरखा प्रशासनले निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखसहितको टोलीले टिकट काउण्टर र बजार क्षेत्रमा छड्के चेकजाँच गरेको छ ।

‘बढी भाडा लिने र गाडी लुकाएर राख्दा यात्रुहरु अलपत्र परेको भन्ने गुनासो आएपछि हामी आफै आज फिल्डमा खटियौं,’ प्रजिअ रामु राज कडरियाले भने, ‘काठमाडौं जाने यात्रुहरू धेरै भएकाले समस्या भएको रहेछ । नारायणगढ, पोखरा चल्ने केही बसहरुमा ती यात्रुहरू राखेर काठमाडौं पठायौ ।’

ठाउँठाउँमा छड्के चेकजाँच समेत भइरहेको उनले बताए । चलानी काटेर नजाने र बढी भाडा लिनेलाई कारवाही समेत गरिएको उनले जानकारी दिए ।

मझुवा, बाह्र किलो र प्रत्येक प्रहरी यूनिटलाई छड्के चेकजाँच गर्न निर्देश समेत भइसकेको जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले बताए । ‘हामी आफैं पनि फिल्डमा खटिएका छौं, विशेषगरी मझुवा र बाह्र किलो प्रहरी चौकीलाई चेकजाँचमा कडाई गर्न भनेका छौ,’ उनले भने ।

अन्य ठाउँमा पनि बढी भाडा लिए नलिएको बारे छड्के चेकजाँच भइरहेको उनले जानकारी दिए । उनका अनुसार बढी भाडा लिने केही सवारी कारवाहीमा समेत परेका छन् । ‘यात्रुसँग बढी भाडा लिएको भेटिएमा लागतभन्दा बढी भाडा यात्रुलाई फिर्ता गरेर त्यो सवारीलाई कारवाही समेत गरेका छौं,’ उनले भने ।

बढी भाडा लिएमा प्रजिअको फोन नम्वर ९८५६०५७७७७, प्रहरी प्रमुखको फोन नम्वर ९८५६०५५५५५ वा प्रहरीको हटलाइन नम्वर १०० मा फोन गर्न एसपी बिकले आग्रह गरेका छन् । चाडवाडमा सार्वजनिक यातायातले साविकको भन्दा दोब्बर भाडा लिँदै आएका छन् ।

काठमाडौ जाने यात्रुसँग बसले प्रति व्यक्ति आठ सय र माइक्रोले एक हजार रुपैयाँ लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?